१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

उखुको मूल्य नतोकिँदा ठगिंदै किसान

रौतहट- खेतमा उखु तयार भइसकेपछि बेच्नु पर्ने बाध्यतामा रहेका उखु किसान चारैतिरबाट ठगीमा परेका  छन्। सरकारले उखुको मूल्य नतोकेपछि अनेक मूल्यबाट उखु किसान ठगिँदै आएका छन्। अहिले उखु बेचिरहेका किसानले पाउने मूल्यमा समानता नहुँदा किसान ठगिएका हुन्।

गत आर्थिक वर्षमा उखु उत्पादक संघ, चिनी उत्पादक संघ र सरकारको समन्वयमा उखुको मूल्य प्रति क्वीन्टल पाँच सय तीस रुपैया बीस पैसा निर्धारण गरिएकोमा आम निर्वाचन सम्पन्न भएको र नयाँ सरकार गठन भइनसकेकोले गत वर्षकै मूल्यमा देश भरका चिनी उद्योगले उखु किन्ने सहमति भएको भए पनि बारा जिल्लाको मामकौरमा रहेको रिलायन्स सुगर मिल्सले प्रति क्वीन्टल पचास रुपैया घटीमा उखु किनिरहेको पाइएको छ।

रौतहटको गढीमाई नगरपालिका ४ सुन्दरपुरमा उखु किन्ने काँटा स्थापना गरेर उद्योगले प्रति क्वीन्टर चार सय असी रुपैयामा उखु किनिरहेका छन् । काँटामा उखु लैजाने किसानको उखु तौल गरेपछि तत्कालै हातैमा चार सय असी रुपैयाको दरले नगद दिइरहेको रिलायन्सले किसानलाई ठगी गरेको आरोप स्थानीयले लगाएका छन् ।

सुन्दरपुरमै एक दर्जनभन्दा बढी खाँडसारी संचालनमा रहेको छ । गत असोज महिनादेखि नै संचालनमा रहेका खाँडसारी उद्योगहरुले त प्रति क्वीन्टल चार सय साठी रुपैया मात्र तिरेर किसानको उखु खरिद गरिरहेका छन् । अहिलेसम्म घटीमा पचास हजार क्वीन्टल उखु खाँडसारी उद्योगले क्रसिङ गरिसकेका छन् । प्रति क्वीन्टल साढे तीन सय रुपैयादेखि उखु किन्न सुरु गरेको खाँडसारी उद्योगहरुले चिनी उद्योग संचालनमा आउने भएपछि मूल्यमा विस्तारै वृद्धि गर्न थालेका छन् ।

रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सले किसानको रकम भुक्तानी गर्न सधैँ आनाकानी गर्ने गरेकोले जताबाट नगद प्राप्त हुन्छ किसानहरु उखु बेच्न हतारिएका हुन् । गरुडास्थित चिनी उद्योग संचालनको तयारी भइरहेको र बाराको उद्योग संचालनमा आइसकेकोले नगद पाइरहँदा प्रति क्वीन्टल पचास रुपैया घाटा लागेको भए पनि किसानहरु उखु बेच्न आतुर रहेको समनपुरका किसान कामेश्वर सहनीले बताएका छन् । आफूले पाँच बिगाहा खेतमा उखु रोपेको र तत्काल नै नगद हातमा पर्न थालेपछि बाराको रिलायन्स चिनी उद्योगलाई केही सस्तोमा नै भए पनि उखु बेचिरहेको सहनीको भनाइ छ ।

गरुडाको चिनी उद्योगले गत दुई वर्षको करिब बाइस करोड रुपैया किसानलाई भुक्तानी दिन बाँकी रहेको छ । गरुडाको उद्योग संचालनमा आए पनि बेचेको उखुको मूल्य उद्योगले भुक्तानी गर्ला कि नगर्ला भन्ने आशंका कायम रहेको अवस्थामा जिल्लाका अधिकांश किसान नगद रुपैया दिने खाँडसारी तथा अन्य जिल्लाको चिनी उद्योगतिर आकर्षित हुन थालेको संग्रामपुरका किसान उद्धव मिश्रको भनाइ छ ।

जिल्लामा बीस लाख क्वीन्टल उखु उत्पादन हुने अनुमान गरिएको छ । गत वर्ष नगद नै हात पारेपछि जिल्लाका किसानले उखु खेतीमा वृद्धि गरेका छन् । जिल्लाबाहिरका उद्योगले नगद दिन थालेपछि किसानलाई पनि राम्रै फाइदा हुने देखिएको  छ । प्रति कट्ठा चार हजार रुपैयासम्म उखु उत्पादनमा किसानको खर्च पर्न आउँछ तर उखुबाली राम्रोसँग फस्टाउँदा दश हजार रुपैयासम्म आम्दानी हुने गरेको किसानहरुको भनाइ छ । तर समयमा उद्योगहरुले किसानलाई रकम नदिँदा किसान चारैतिरबाट मारमा पर्ने गरेका छन्।

गत दुई वर्षको करिब बाइस करोड रुपैया बाँकी रहेकोमा तत्काल भुक्तानीको माग गर्दै सहमति अनुसार उद्योग संचालनमा ल्याउन आफूहरुले दबाब दिएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक प्रसाद यादवले बताएका छन् । समयमा चिनी उद्योगहरु संचालनमा नआउँदा खेतमै उखु बिग्रिन थालेको र खुँटी उखुमा किसानलाई दश प्रतिशतसम्म मार अहिले नै परिसकेको संघका कोषाध्यक्ष मनोज कुमार सहनीको भनाइ छ ।

प्रकाशित: ४ पुस २०७४ १४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App