२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

ताप्लेजुङमा अलैंची पछि आलुको आम्दानी उच्च

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर ९ हाङदेवा बुङकुलुङका किसानले लगाएको आलु बाली। तस्बिर: खगेन्द्र

ताप्लेजुङ- हिमाली जिल्ला ताप्लेजुङमा अलैंची पछि उच्च आम्दानी दिनेमा अर्को नगदेवाली आलु थपिएको छ। बर्षेनी तीन अर्ब बराबरको आलु उत्पादन भइरहेको पाइएपछि अलैंची पछि आलुले आम्दानीको मोटो हिस्सा ओगटेको देखाएको छ।

जिल्ला कृषि विकास कार्यालयले अघिल्लो बर्षभन्दा यसबर्ष आलुको उत्पादन केहि बढ्ने अनुमान लगाउदै यसबर्ष किसानले आलु उत्पादनबाट तीन अर्ब बढी आम्दानी लिन सक्ने बताएको छ । जिल्ला कृषि विकास कार्यालयका योजना शाखा प्रमुख मित्रलाल पौडेलका अनुसार अघिल्लो बर्ष बर्षे र हिउँदे दुबै गरी यहाँ ४८ हजार ५ सय ५१ मेट्रिकटन आलु उत्पादन भएको छ। पौडेलका अनुसार ३७ हजार ८ सय १३ मेट्रिकटन बर्षे र १० हजार ७ सय ३८ मेट्रिकटन हिउँदे आलु उत्पादन भएको छ। आलुको औसत मूल्य ६० रुपैंया प्रतिकिलो कायम गरेर कार्यालयले किसानले उत्पादन गरेको आम्दानी  मापन गरेको हो । यस हिसावले किसानले हिउँदे र बर्षे गरी दुई सिजनमा ४ करोड ८५ लाख ५१ हजार किलो आलु उत्पादन गरेका छन् । यो हिसावले अघिल्लो बर्ष यहाँका किसानले २ अर्व ९१ करोड ३० लाख ६० हजार रुपैंया बराबरको आलु उत्पादन गरेका छन् । योजना शाखा प्रमुख पौडेलले यो बर्ष ५० हजार ५ सय मेट्रिकटन उत्पादन हुने अनुमान लगाउँदै अघिल्लो सालकै औसत मूल्यका आधारमा किसानले ३ अर्ब ३० करोड बराबरको आलु उत्पादन गर्न सक्ने बताए । ‘अलैंची र आलुमा फरक यो छ की, अलैंचीको सबै हिस्सा बिक्रीमा प्रयोग हुने भएकोले त्यसबाट सोझै नगद आम्दानी लिन सकिन्छ,आलुको धेरै परिमाण खायन(उपभोग) मै प्रयोग हुने भएकोले आम्दानी कम मात्र देखिन आउँछ’पौडेलले भने।

जिल्ला कृषि विकास कार्यालयका अनुसार ताप्लेजुङ आलु उत्पादनका लागि प्रसस्त सम्भावना बोकेको क्षेत्र हो । पौडेलका अनुसार यहाँ ३ हजार २५ हेक्टर क्षेत्रफलमा बर्षे तथा ९ सय १० हेक्टरमा हिउँदे गरी कुल ३ हजार ९ सय ३५ हेक्टर क्षेत्रफलमा आलु उत्पादन हुदै आएको छ । बर्षे आलुको उत्पादकत्व १२.५० मेट्रिकटन प्रतिहेक्टर र हिउँदे आलुको उत्पादकत्व ११.८० मेट्रिकटन प्रतिहेक्टर रहेको कृषि विकास कार्यालयले जनाएको छ । यहाँ सबैभन्दा बढी मात्रामा कुफ्री सुन्दरी, कार्डिनर र कुफ्री ज्योती जातका आलु लगाइने गरेको समेत कार्यालयले जनाएको छ । नयाँ उत्पादनको आलु अहिले फुङलिङ बजारमा प्रतिकिलो ८० देखि १ सय रुपैंया सम्मका बिक्री हुदै आएको समेत कार्यालयले जनाएको छ ।‘नयाँ फसल बजारमा आउँदा महंगै मूल्यबाट सुरुहुने गर्छ’कृषि विकास कार्यालयका योजना शाखा प्रमुख पौडेलले भने । उत्पादन र आम्दानी दुबैका हिसावले अलैंचीको‘राजधानी’मानिदै आएको ताप्लेजुङमा आलुको उत्पादनबाट प्राप्त आम्दानीलाइ अलैंची बराबरै तुलना गर्न थालिएको छ । अलैंचीबाट यहाँका किसानले बार्षिक साढे ६ अर्ब बढी आम्दानी लिन सक्ने बताइदै आएका बेला किसानलाइ आम्दानीको बलियो स्रोतको रुपमा आलुको उत्पादनलाइ समेत लिन सकिने गरी स्थान लिने संकेत दिएको छ।

 

 

 

प्रकाशित: ४ पुस २०७४ ०९:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App