३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

भूकम्प प्रभावितलाई सहयोग गर्न परिसंघको आह्वान

शुक्रबार राति जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पका कारण भएको ठूलो जनधनको क्षतिप्रति नेपाल उद्योग परिसंघले दुःख व्यक्त गरेको छ। परिसंघको आइतबारको पदाधिकारी बैठकले भूकम्पमा ज्यान गुमाउनु भएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

यस दुखद् घडीमा प्रभावित नागरिकलाई राहत एवं पुनस्र्थापनाका लागि आवश्यक सहयोग गर्न सबै सदस्य संस्थाहरू, उद्यमी व्यवसायी एवं व्यावसायिक संघ संस्थालाई अपिल गरेको छ।

भूकम्प प्रभावित नागरिकलाई परिसंघले आफ्नोतर्फबाट सहयोग एवं राहत कार्यलाई निरन्तरता दिइरहेको छ। साथै, प्रभावित नागरिकको राहत, उपचार एवं पुनस्र्थापना कार्यलाई तीव्रता साथ अगाडि बढाउन नेपाल सरकारसँग अनुरोध गरेको छ।

चेम्बरद्वारा सहयोगको अनुरोध

नेपाल चेम्बर अफ कमर्सले जाजरकोटमा गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावितलाई आवश्यक खाद्यन्न, त्रिपाल, लत्ताकपडा लगायत सिरक, डसना र म्याट्रेस सहयोग गर्ने भएको छ। चेम्बरको विपद् व्यवस्थापन कोषअन्तर्गत भूकम्प प्रभावितलाई अत्यावश्यक सामग्री सहयोग गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले बताए।

चेम्बरले आवश्यक सम्पूर्ण सामग्री कर्णाली प्रदेश चेम्बर अफ कमर्स मार्फत सरकारको एकद्वार प्रणालीमा सहयोग गर्नेछ। चेम्बरद्वारा जारी विज्ञप्तिमा भूकम्पबाट अति प्रभावित जाजरकोट, रुकुम पश्चिम, लगायतका जिल्लाका पीडितलाई खाद्यान्न, त्रिपाल, लत्ताकपडा लगायत सिरक, डसना र म्याटे«स वितरण गर्ने उल्लेख छ।

सरकारी संयन्त्रसँग समन्वय गरेर नै सहयोग सामग्री वितरण गरिने अध्यक्ष मल्लको भनाइ छ। जाजरकोटमा गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पमा परेर मृत्यु भएकाप्रति चेम्बरले गहिरो समवेदना प्रकट गरेको छ।

चेम्बरले जाजरकोट लगायत आसपासका जिल्लामा भूकम्प पीडितको पुनस्र्थापनाका लागि आवश्यक सहयोग संकलन जुटाउन समेत प्रदेश, जिल्ला र नगर चेम्बरलाई आग्रह गरेको छ। त्यसैगरी नेपाल पर्वतारोहण संघले भूकम्प पीडितको लागि ३१ लाख ११ हजार एक सय ११ रूपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। एसोसिएसनले गत शनिबार जाजरकोट र रुकुम पश्चिममा आएको भूकम्पपीडितको लागि सो सहयोग गर्ने घोषणा गरेको हो।

प्रकाशित: २० कार्तिक २०८० ०१:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App