५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

भरतपुरमा तीन लाख पर्यटक भित्र्याउने

चितवनको भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४मा तीन लाख पर्यटक भित्र्याउने गरी तयारी थालेको छ। पुस १५ गते भव्य उद्घाटन गर्ने गरी  मूल आयोजक समिति र २९ वटा उपसमिति बनाएर कामलाई तीव्र पारिएको महानगरले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ। 

महानगरपालिका प्रमुख रेणु दाहालको संयोजकत्वमा दुई हजार २४ सदस्य मूल आयोजक समिति र उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा कार्यसम्पादन समिति गठन गरिएको छ।

भ्रमण वर्ष सफल बनाउनका लागि छ करोड रुपैयाँ खर्च लाग्ने महानगर प्रमुख रेणु दाहालले जानकारी दिइन्। भ्रमण वर्ष सञ्चालन गर्न संघिय र प्रदेश सरकारबाट समेत बजेट विनियोजन भएको उनले बताइन्। ‘हामीले तीन करोड ७० लाख रुपैयाँ विनियोजन गरेका छौँ। संघ र प्रदेश सरकारबाट एक, एक करोड आउने अपेक्षा छ,’ उनले भनिन्। एक वर्षमा कम्तीमा तीन लाख पर्यटक महानगरका पर्यटकीय क्षेत्रमा घुम्न आउने गरी तयारी भएको प्रमुख  दाहालले बताइन्। भरतपुर, सौराहा, नवलपुर क्षेत्रमा गरि एक दिनमा साढे १५ हजार पर्यटक अट्ने होटल रहेका छन्। भरतपुर महानगरपालिका भित्र ७ हजारको  पर्यटक अट्ने क्षमता रहेको महानगरपालिकाको दाबी छ।

देश आर्थिक रुपमा सबल नभए पनि भ्रमण वर्षको कारण आर्थिक गतिविधि चलायमान गराउन सफल हुने उनको विश्वास छ । महानगरपालिका भित्र मात्रै ३१ वटा पर्यटकीय केन्द्र रहेकाले यहाँ आउने पर्यटकले भरपुर मनोरञ्जन र नयाँ स्थानको अनुभव लिने उनले बताइन्। चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी देवघाट, क्रुजशिप, दियालो बङ्गला अम्रेला स्टेट, निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला लगायत महानगरको प्रमुख पर्यटकीय क्षेत्र हुन्।

आन्तरिक र बाह्य पर्यटकलाई भित्र्याउने गरी काम थालिएको छ। तर युक्रेन, रसिया, इजरायलमा भएको युद्ध र आर्थिक मन्दीका कारण चुनौती रहेको महानगरपालिकाले महसुस गरेको छ। ‘रसिया, युक्रेन युद्ध छन्। देशमा आर्थिक मन्दी छ। यसले भ्रमण वर्ष रोक्ने हो कि सञ्चालन गर्ने दोधारमा छु,’उनले भनिन् ‘तर असहज परिस्थितिका बिच पनि आटिएको छ। भ्रमण वर्ष सफल बनाउन सबै नागरिक लाग्न अनुरोध गर्दछु।’

अहिले भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ। यहाँ धुलो त्यतिकै छ। दुई महिना भित्र धुलो रहित बनाउने गरि काम अगाडि बढेको उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिए। उनले एकता र सद्भावका साथ सहयोग गर्न भरतपुर बासीलाई अपिल समेत गरेका छन्।

महानगरपालिकाले भ्रमण वर्षको तयारी स्वरूप वडा वडामा पर्यटन प्रवद्र्धन समिति गठन गरेको छ। त्यस्तै गैरआवसीय नेपाली संघको समन्वयमा ५२ देशमा प्रचार प्रसार समिति समेत गठन गरिएको भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डा.विश्व सुवेदीले जानकारी दिए।

भरतपुर महानगरपालिका भित्र हात्ती सफारी, जिप सफारी, नारायणी नदीमा मिनी पानी जहाजको, टे«किङ तथा विभिन्न सांस्कृतिक गतिविधि हेर्न सकिन्छ। महानगरपालिकासँगै यससंग जोडिएका स्थानीयसँग पनि समन्वय गरिएको उनले बताए। 

प्रकाशित: १५ कार्तिक २०८० १४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App