३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

कर्णालीमा कहालीलाग्दाे सडककाे कहर

कर्णाली विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक कालोपत्र भएको एक दशक नपुग्दै जीर्ण बनेको छ।

३२ वर्षअघि निर्माण सुरु भएको कर्णाली राजमार्ग अन्तर्गतको सुर्खेत–जुम्ला सडक खण्ड १८ वर्षअघि ट्रयाक खुलेको थियो। विश्व बैंकको सहयोगमा सडक विभागअन्तर्गतको रोड सेक्टर डेभलपमेन्ट प्रोजेक्टले दुई चरणमा ओटासिल प्रविधिको कालोपत्र (पिच) गरेको सडक उक्किएर जीर्ण बनेको हो।

दुई चरणमा गरी झण्डै तीन अर्ब खर्च गरेको सडक जीर्ण छ। सडक विभागले बर्सेनि करोडौंको ठेक्कामार्फत सडक मर्मत सुधारको नाममा टालटुल गर्दै आएको भए पनि भरपर्दो बनेको छैन। ‘बर्सेनि टेन्डर भएर काम गरेजस्तो गर्छन्,’ खाँडाचक्र नगरपालिकाका पूर्वउपप्रमुख विजया विष्टले भनिन्, ‘टालटुलमै करोडौं खर्च हुने गर्छ।’

कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडकले सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगुलाई प्रत्यक्ष रूपले जोडेको छ भने अछाम, बाजुराका बासिन्दाको आवागमनसमेत सहज बनाएको छ।

 कर्णाली राजमार्गका कतिपय ठाउँमा सडक पाँच मिटर मात्र चौडा हुँदा गाडी दोहोरो पास हुने समस्या छ। साँघुरो र अप्ठ्यारो भीर भएको ठाउँमा गाडी पास गर्न कठिनाइ भएको यस रुटका चालक पदम विश्वकर्माले बताए।

ट्रयाक खुलेपछि पहिलो चरणमा सुर्खेतबाट खिड्कीज्युलासम्म एक सय २६ किलोमिटर सिंगल लेनमा ओटासिल पिच गरिएको थियो। दोस्रो चरणमा खिड्कीज्युलादेखि जुम्लासम्म एक सय सात किमि ओटासिल पिच गरिएको थियो। पिच गरिएको ९० प्रतिशत सडकको कालोपत्र उक्किएको छ।

सस्तो प्रविधिको ओटासिल पिच हालिएको पाँच वर्षमै सबैजसो ठाउँमा उक्किएपछि सडक हिलाम्मे र धुलाम्मे अवस्थामा छ। करिब सात किमि सडक पहिले नै पिच गर्न छुटेको थियो। सुर्खेतबाट जुम्लासम्म पुल निर्माण भएको छैन र ठाउँठाउँमा पहिरोसमेत जाने गरेको छ।

सडक पुग्दा खुसी भएका कर्णालीवासी सरकारले राजमार्गको स्तरवृद्धिमा ध्यान नदिएको गुनासो गर्छन्। ‘सडकले सुविधा पाउँदा धेरै सजिलो भएको छ,’ जुम्ला तिला–२ का नवराज नेपालीले भने, ‘अचेल पहिलेकै जस्तो कच्ची र खाल्डाखुल्डी भइसके। कर्णालीमा पुग्ने एक मात्र राजमार्ग पुलसहित पक्की बन्न पाए हाम्रो भाग्य उदाउँथ्यो। हामीलाई अरू विकास चाहिएको छैन।’

उनले राजमार्गको जुम्ला खण्ड फराकिलो भएकाले ३० किमि पार गर्न एक घण्टा लाग्ने सुनाए।

कर्णाली राजमार्गको कालिकोटदेखि जुम्ला खण्डमा एक करोड बजेट विनियोजन भएको सडक डिभिजन कार्यालयले जनाएको छ।

गत असोजको वर्षाले भत्किएको कालिकोटको सुनार खोला, पिली सेरावाडा, बाली, टाकुल्लालगायतका ठाउँमा सडक निर्माणको काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपक विष्टले बताए। अप्ठेरो ठाउँमा मर्मत सुधारको काम भइरहेको छ। ‘मान्मको सुनार खोलाको पहिरो सुधार भएको छ,’ १२ वर्षदेखि अलपत्र परेको तिलागुफा–७ टाकुल्ला खोलामा बेलिब्रिज सञ्चालन भएको छ, ‘बजेट कम भएकाले सडक चौडा गर्न सम्भव भएन।’

राजमार्गको स्तरवृद्धि नहुँदा बेलाबेलामा भयानक दुर्घटना हुने गरेको छ। तिलागुफा नगरपालिका–१ नाग्मका व्यवसायी मायालाल महताराले भने, ‘जीर्ण र धुलाम्मे सडकले सास्ती छ।’

सडक स्तरोन्नति भएमा कर्णाली क्षेत्रमा उत्पादित फलफूल र खाद्यान्न सुर्खेत, नेपालगञ्ज, बुटवल, काठमाडौंलगायतका सहरमा पुर्‍याउन सहज हुने महताराले सुनाए। ‘सडक गतिलो नहुँदा स्याउ बाटोमै दाग लागेर कुहिन्छ,’ उनले भने, ‘सडक राम्रो नहुँदा ढुवानी भाडा महँगो तिर्नुपर्छ।’

राजमार्ग निर्माणपछि कर्णालीमा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा सहजता आएको र बजार तथा गाउँगाउँमा आधुनिक भवन निर्माण भएका छन्। स्थानीय उत्पादन बजार पुर्‍याउन सहज भएपछि व्यावसायिक खेतीमा कृषक अग्रसर भएको सुनाए। सुर्खेतको बांगेसिमलबाट सुरु भएर जुम्ला सदरमुकाम खलंगा बजारसम्म कुल दुई सय ३३ किमि फैलिएको राजमार्ग पक्की पुल निर्माण भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

जीर्ण ‘सेफ्टी बार’

कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडकमा लगाइएको अधिकांश फलामे सेफ्टी बार भाँचिएका छन्। भीरको सडकमा लगाइएको सेफ्टी बार केही ठाउँमा पहिरोले भाँचिएको छ भने अन्य ठाउँको पनि खिया लागेर जीर्ण बनेको छ।

एक दशकअघि विश्व बैंकको सहयोगमा सडक विभागद्वारा निर्माण गरिएको सेफ्टी बार जीर्ण हुँदा सडक असुरक्षित बनेको छ। साँघुरो र अप्ठेरो सडकको सेफ्टी बारले सुरक्षित महसुस हुन्थ्यो तर बार पुरानो भई खिया लागेकाले सडकयात्रा असुरक्षित बनेको स्थानीय यात्रुको गुनासो छ।

कर्णाली राजमार्गको सुर्खेत जुम्ला सडक खण्डको अधिकांश भीर भएको ठाउँमा लगाइएको सेफ्टी बारले पहिले चालक र यात्रु सबैलाई सुरक्षित गराएको तर एक दशकमै बारमा खिया लागेपछि सडक असुरक्षित बनेका छन्।

कर्णाली राजमार्गमा फलामे सेफ्टी बार र सडक पर्खाल बनाएपछि दुर्घटनामा पनि कमी आएको जिल्ला प्रहरीको रेकर्ड छ। एक दशक अघिसम्म महिनैपिच्छे दुर्घटना हुने राजमार्गमा सेफ्टी बार र साइड पर्खाल बनेपछि दुर्घटना फाट्टफुट्ट मात्र भएको प्रहरीको भनाइ छ।

प्रकाशित: १३ कार्तिक २०८० ०२:१० सोमबार

कर्णालीमा कहालीलाग्दाे सडककाे कहर जीर्ण ‘सेफ्टी बार’