१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बुद्धले २ अर्ब लगानीमा दुई जहाज थप्ने

काठमाडौं – निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले २ अर्ब रुपैयाँ लगानी गरी थप दुईथान जहाज खरिद गर्ने घोषणा गरेको छ । यसका लागि बुद्धले पहिलो जहाजको सम्पूर्ण रकम सम्बद्ध कम्पनीलाई पठाइसकेको छ । 
बुद्धले ७२ सिट क्षमतायुक्त ‘एटिआर७२–५००’ सिरिजका दुईथान जहाज खरिद गर्न फ्रान्सेली जहाज निर्माता कम्पनी एटिआरसँग विगतमै समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । अब खरिद गर्न लागिएको सिरिजको जस्तो जहाज बुद्धले हाल चारथान सञ्चालन गरिरहेको छ।

‘खरिद गर्न लागिएका थप दुईवटा एटिआर७२–५०० जहाजमध्ये पहिलो जहाज आगामी माघ ५ गते सम्बद्ध कम्पनीले आपूर्ति गर्ने तालिका दिएको छ,’ बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले मंगलबार नागरिकसँग भने, ‘दुई जहाजका लागि करिब दुई अर्ब रुपैयाँ लगानी गर्दैछौं । पहिलो जहाजको रकम पठाइसकेका छौं ।’

दोस्रो जहाज भने पहिलो जहाज ल्याएको ६ महिनापछि २०७५ साउन तेस्रो साताभित्र ल्याउने योजना रहेको उनले बताए । ७२ सिट क्षमतायुक्त दुईथान जहाज थपिएपछि उडान संख्या बढ्ने भए पनि गन्तव्य भने नथपिने बस्नेतले जानकारी दिए।  

‘नयाँ बजार विस्तार गर्न वा अन्य वायुसेवा कम्पनीसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले जहाज थप्न लागेका होइनौं,’ बस्नेतले भने, ‘विमानस्थलमा विविध कारण हुने गरेको ‘डिले’ र हाम्रा अन्य जहाज मर्मतका कारण यात्रुलाई समस्या नहोस् भन्ने उद्देश्यले जहाज ल्याउन लागेका हौं ।’

‘थप्न लागिएका मध्ये पहिलो एटिआर७२–५०० आगामी माघ ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जानकारी पाएका छौं,’ बुद्धका बजार निर्देशक रुपेश जोशीले भने, ‘नयाँ जहाज थपिएपछि कम्पनीको उडान विश्वसनियता अझै बढ्ने छ भने यात्रुले सरल भाडा दरमा सहज तरिकाले उडान गर्न पाउनेछन्।’

जहाज काठमाडौं आएलगत्तै उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा गर्नुपर्ने सबै प्रक्रिया पूरा गरेर सकेसम्म चाँडै नियमित उडान गर्ने तालिका बनाइने जोशीले जानकारी दिए। 

बुद्धका अनुसार थप जहाज आएपछि वर्षको ३ सय ६५ दिन नै उडान हुनेछन् । कम्पनीसँग रहेका नौथान जहाजको मर्मत अवधि वर्षमा २ सय ७० दिन हुने गर्छ । यसको अर्थ एउटा जहाज एक वर्षमा ३० दिन मर्मतका लागि ‘ह्यांगर’ मा बस्ने गर्छ। 

बुद्धले यही मर्मत अवधिमा आफ्ना यात्रु तोकिएको समयमै गन्तव्य पुग्न सकून् भनेर नयाँ जहाज खरिद गर्न लागिएको जनाएको छ । नयाँ जहाज आएपछि १० थान जहाज हुनेछन् । त्यसपछि मर्मत तालिकाअनुसार पालैपालो जहाज मर्मतमा बस्छन् र नौथान जहाज पालैपालो निरन्तर उडान गरिरहने कम्पनीको भनाइ छ। 

‘ब्रान्ड न्यु’ (नयाँ) खरिद गर्दा २ अर्ब २५ करोड रुपैयाँहाराहारी पर्ने भएका कारण केही वर्ष उडेको जहाज करिब १ अर्ब रुपैयाँमा खरिद गर्न लागिएको कम्पनीको भनाइ छ । मुलुकको हवाई नीतिमा १५ वर्षभन्दा पुरानो जहाज ल्याएर उडान गर्न नपाइने उल्लेख छ।  

दुई दशकदेखि आन्तरिक उडानसँगै भुटानको पारो र भारतको बनारसका लागि ‘चार्टर्ड’ उडान गर्दै आएको बुद्धले आन्तरिक उडानतर्फ ६३ प्रतिशत बजार हिस्सा ओगटेको छ । कम्पनीमा हाल करिब ८ सय ५० कर्मचारी काम गर्छन् ।
बुद्धले उडान सुरु गरेर २०७२ असोजसम्ममा स्वदेशी तथा विदेशी गरी ७८ लाख यात्रुलाई गन्तव्य पु¥याएको थियो । कम्पनीले पर्यटन÷घरेलु उडानतर्फ सबैभन्दा बढी कर/राजस्व बुझाउन सफल पनि भएको थियो । हाल यसले वार्षिक १० लाखभन्दा बढी यात्रुलाई गन्तव्य पुर्‍याइरहेको छ। 

बुद्धसँग हाल फ्रान्सको एटिआर कम्पनीमा निर्मित ७२ सिट क्षमताका चारवटा ‘एटिआर७२–५००’, ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटिआर४२–३२०’ तथा १८ सिट क्षमताका दुईवटा ‘बिचक्राफ्ट–१९००डी’ सिरिजका जहाज छन् । यी नौ जहाजको मूल्य ६ अर्ब २५ करोड रुपैयाँबराबर रहेको छ । त्यसबाहेक कम्पनीसँग १ अर्ब २५ करोड रुपैयाँबराबर मूल्यका जगेडा पुर्जा पनि छन्।  

हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यका लागि दैनिक करिब चार दर्जन उडान गरिरहेको छ । त्यसैगरी काठमाडौंबाट ‘माउन्टेन फ्लाइट’ र पोखरा विमानस्थलबाट ‘अन्नपूर्ण माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ । त्यस्तै विराटनगरबाट तुम्लिङटार, पोखराबाट भरतपुर र भैरहवा उडान पनि गरिरहेको छ । दुर्गम भेगका गन्तव्यमा उडान गर्ने योजना कम्पनीको छैन।

नेपालबाट २ घन्टा ३० मिनेट दूरीमा पर्ने सम्पूर्ण गन्तव्यमा ‘टर्बोप्रप’ जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्न बुद्धले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति पाइसकेको छ।

बुद्धले हालै ‘इन्टरनेसनल सेफ्टी अडिट’ पूरा गरेको छ । ९ सय ५८ वटा मापदण्डअनुसार अडिट पूरा भएको कम्पनीले जनाएको छ । ‘उडान सुरक्षामा हामी कति गम्भीर छौं र कसरी काम गर्छौं भन्ने यसखालको अडिट पूरा हुनु भनेको नेपाली उड्डयन क्षेत्रकै लागि महत्वपूर्ण उपलब्धी हो,’ प्रबन्ध निर्देशक बस्नेतले भने। 

कम्पनीले त्रिभुवन विमानस्थलमा जहाज मर्मतका लागि दक्षिण एसियाकै उत्कृष्ट ‘क्लोज्ड डोर ह्यांगर’ पनि सञ्चालन गरिरहेको छ । उक्त ह्यांगरमा आफ्ना जहाजमात्र नभई बंगलादेशको नोभो एयरका एटिआर जहाज र त्यहीँकै हेल्लो एयरका बिचक्राफ्ट जहाज पनि मर्मत गरिरहेको छ । विगतमा भुटानको ड्रुक एयरको एटिआर जहाज पनि मर्मत गरेको थियो। 

यसले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमतर्फ पूर्वी तराईमा सहकारीमार्फत करिब १ हजार बिघा क्षेत्रफलमा पूर्णयान्त्रीकरण तथा ‘एसआरआई’ विधिबाट खेती सञ्चालन पनि गरिरहेको छ। 

प्रकाशित: २२ कार्तिक २०७४ ०४:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App