१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

पोल्ट्री फर्मबाट सफल उद्यमी

हलेसीमा ब्रोईलर कुखुराको मासु बिक्री गर्दै उद्यमी सुवास राई । तस्बिर : दमन राई

खोटाङ – गाउँमा पोल्ट्री फर्म सञ्चालन सुरु गर्दा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बयाक्ताका २० वर्षीय सुवास राईलाई कसैले पत्याएका थिएनन् । लक्की पोल्ट्री फर्म सञ्चालनका लागि विधिवत दर्ताका लागि घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा पुगेका सुवासलाई उद्योग अधिकृत लोकनाथ खतिवडाले समेत कलिलो उमेरको देखेर विश्वास गरेनन्। 

मोबाइलमा कैद गरिएको फर्मको फोटो र भिडियो देखाएपछि मात्र उद्योग अधिकृत खतिवडाले सफलताको कामना सहित दर्ताको प्रमाण–पत्र थमाइदिएका थिए । पैसाका लागि विदेश नै जाने परम्परा बसेको गाउँमा २०७३ सालमा सुरु गरिएको पोल्ट्री फर्म व्यवसायबाट अहिले उनले लोभलाग्दो आम्दानी गरिरहेका छन्।

स्थापनाको छोटो समयमै उनले स्थानीयबजारमार्फत सस्तो दरमा ब्रोईलर कुखुराको मासु ग्राहकलाई उपलव्ध गराइरहेका छन् । प्रतिकिलो ३५० देखि ४०० का दरले ब्रोईलर कुखुराको मासु विक्री हुँदै आएको स्थानीय बजारमा उनले प्रतिकिलो ३०० रुपैयाँमै मासु उपलव्ध गराइरहेका छन् । ‘कर्मचारीलाई दिएर सबै खर्च कटाउँदा पनि मासिक ६० हजार बचत हुन्छ,’ राईले भने, ‘गर्दा नहुने के छर ? श्रम गर्नेका लागि यही ठाउँमा राम्रो सम्भावना छ ।’ अरुले भन्दा सस्तो मूल्यामा मासु बिक्री गर्दा उनलाई बजारका अन्य पोल्ट्री व्यवसायी आक्रोशित पनि भए, विरोध गरे। 

राईले तराईबाट चल्ला ल्याएर फर्ममा हुर्काउने गरेका छन् । उनले पाँच÷पाँच सय कुखुराका लागि छुट्टाछुट्टै तीन वटा फर्म निर्माण गरेका छन् । हुर्किएको कुखुराको मासु घरबाट, जयराम बजार र हलेसी बजारमा लगेर बिक्री गर्ने गरिएको राईले बताए । घरबाटै मासु बिक्री गर्दै आएका उनले केही समयअघि हलेसी बजारमा चिस्यान सहितको बिक्री केन्द्र स्थापना गरेका छन् । फर्ममा उत्पादित ब्रोईलर कुखुराको मासु दैनिक ४० देखि ५० केजीका दरले खपत हुने गरेको छ । कतिपय मासु सदरमुकाम दिक्तेलसम्म पठाउन थालिएको उनले बताए । सुरुमा अन्य मासु व्यवसायीलाई सिंगो कुखुरा दिँदैआएका राईले पछिल्लो समय सस्तो मूल्यामा आफै मासु बिक्री गर्न थालेका हुन् । उनको फर्मबाट ज्यूँदो कुखुरा प्रतिकिलो १९० देखि २१० मा खरिद गरेका अन्य विक्रेताले हलेसीमा प्रतिकिलो ४ सय र जयराममा प्रतिकिलो ३५० मा बिक्री गर्दैआएका थिए। 

सुरुमा ६० हजारको लगानीमा सुरु गरिएको पोल्ट्री फर्मको लगानी हाल ६ लाखको हाराहारीमा लगानी भइसकेको छ । राज्यबाट लोनको व्यवस्था भए पोल्ट्री व्यवसायीलाई थप विस्तार गर्दै लैजाने उनको योजना छ । ‘आफू स्वरोजगार बन्ने अनि अरुलाई पनि रोजगार दिने लक्ष्य राखेको छु,’ राईले भने, ‘यसका लागि पोल्ट्री फर्मलाई अझ विस्तार गर्ने सोच बनाएको छु, राज्यले हामीजस्ता उद्यमीलाई लोन दिने नीति लागू गर्न जरुरी छ ।’ उनले फर्ममा मासिक ८ हजार पारिश्रमिक दिएर एकजनालाई रोजगार दिएका छन् । ब्रोईलरको मासुँगै उनले हलेसीमा दुध र दही बिक्री केन्द्र पनि सञ्चालनमा ल्याएका छन् । मासु नखाने ग्राहकका लागि दुध संकलन गरेर उनले दुध र दही बिक्री केन्द्र सञ्चालनमा ल्याएका हुन् । विक्री केन्द्रबाट दैनिक ४० देखि ६० लिटर दुध र दही विक्री हुने गरेको छ । दही र दुधको माग धान्न गाह्रो भइरहेको उनले बताए। 

संगैका साथीभाई विदेश छिर्दा उनलाई पनि विदेश जाने हुटहुटी नलागेको होइन । तर, उनले त्यो विदेश मोहलाई त्यागे र ‘गाउँमा केही हुँदैन’ भन्नेका अगाडि गाउँमै बसेर उद्यमी बन्ने हिम्मत गरे । हाल घरैमा बसीबसी लिएको आम्दानी देखेर उनको प्रशंसा गर्ने बढ्न थालेका छन् । उनले विदेश पुगेका साथीभाईलाई समेत गाउँमै आएर उद्यममा लगानी गर्न सुझाव दिने गरेका छन् । छोटो समयमै छिमेकी वडा च्यास्मीटार लगायतका ठाउँमा सुवासको सिको गर्नेको संख्या बढ्दो छ । ‘व्यवसाय गर्न चाहनेका लागि गाउँमा सम्भावनै सम्भावना छ, म त सबै ठाउँमा नोट देख्छु,’ राईले भने, ‘परजिवी बन्नुहुन्न, आत्मनिर्भर बन्नु पर्छ । यही ठाउँमा उद्यमी बनेर अरुलाई रोजगार समेत दिन सकिन्छ।’ 

प्रकाशित: २९ आश्विन २०७४ ०७:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App