२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

दुई महिनापछि सुरु भयो पोखरा–जोमसोम उडान

समिटले उडान थाल्यो, ताराले आगामि सोमबारदेखि उडान गर्ने

जोमसोम अवतरण गरेको समिट एयरको जहाज। फाइल तस्बिरः नागरिक

पोखरा–जोमसोम रुटमा दुई महिनापछि हवाई उडान सुरु भएको छ। ‘इनरुट’ (विमान उड्ने र अवतरण हुने विमानस्थल) मौसम सफा नभएसम्म उडान गर्न नपाइने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले रोक लगाउँदा यसअघि केही महिना उडान हुन सकेको थिएन। मौसम खुल्न थालेको र पर्यटकीय सिजन पनि सुरु हुन लागेकोले उडान थालेको हवाई कम्पनीले बताएका छन्।

अहिले निजी हवाई कम्पनी समिट एयरले पोखरा–जोमसोम रुटमा उडान थालेको छ। निजी क्षेत्रको अर्को हवाई कम्पनी तारा एयरले पनि भदौ २५ गतेदेखि यही रुटमा उडान गर्ने तयारी थालेको छ। समिटले अहिले एउटा जहाजबाट उडान सुरु गरेको छ। ताराले पनि सुरुवाती चरणमा एउटा जहाज पोखरामै राखेर उडान गर्ने बताएको छ।

समिट एयरका पोखरास्थित स्टेशन म्यानेजर पोषणमणि त्रिपाठीका अनुसार गत आइतबारदेखि पोखरा–जोमसोम रुटमा १८ सिट क्षमताको जहाजबाट उडान सुरु भएको हो। पहिलो दिन यो रुटमा तीनवटा उडान भएको थियो। सोमबार पाँच वटा र मंगलबार चारवटा उडान भएको उनले बताए। बुधबार भने दुई वटा उडानको तालिका राखेको उनले बताए। त्रिपाठीका अनुसार दुई महिनादेखि यो रुटमा उडान हुन सकेको थिएन।

‘समिटले एउटा जहाज नै पोखरा राखेर जोमसोमसम्म उडान गर्न थालेको छ। तत्कालका लागि पाँच वटा सेड्यूल राखेका छौं,’ उनले भने, ‘मौसमी कारणले गर्दा बीचमा दुई महिना उडान हुन सकेन। कहिले पोखरामा त कहिले जोमसोममा मौसम खराबी हुँदा उडानमा बाधा आइपरेको थियो।’ अब भने मौसम खुल्न थालेको र यात्रुको सिजन पनि सुरु भएकोले उडान थालेको उनले बताए। अहिलेका लागि पर्याप्त यात्रु नभए पनि पर्यटकीय सिजन सुरु भएकोले यात्रु पाउने अपेक्षा रहेको उनले बताए।

‘प्राधिकरणले इनरुट मौसम ठिक नभएसम्म उडान गर्न नपाउने गरी प्राधिकरणले कडाई गरेको थियो। मौसम पनि कहिले पोखरा त कहिले जोमसोम क्षेत्रमा बिग्रन थालेपछि दुइमहिनादेखि उडान रोकेका थियौँ,’ त्रिपाठीले भने, ‘अब त मौसम पनि सफा हुन थालेको छ। आक्कल झुक्कल बाहेक कतै समस्या नआउला भन्ने हो।’ 

अहिले पोखरा–जोमसोमबीचको मौसमी जानकारी लिएर मात्र पोखराबाट उडान गर्ने गरेको उनले बताए। पोखराको पुरानो विमानस्थलबाट अहिले जोमसोमका लागि उडान भइरहेको उनले बताए। समिटले तत्कालका लागि पोखरा–जोमसोम उडान गर्नेगरि एउटा जहाज पोखरामै राख्न पनि थालेको छ।

पर्यटकीय सिजन सुरु भएकोले पदयात्रामा जाने पर्यटक आउने, त्यसबाहेक मुक्तिनाथ दर्शन गर्न जाने आन्तरिक यात्रु पनि हुने भएकोले यात्रु अभाव नहुने उनले बताए। ‘वर्षायामले गर्दा पोखरा–जोमसोमको स्थलमार्ग पनि उत्ति सहज छैन, त्यसैले हवाई सेवाले केही सहज हुने अपेक्षा छ,’ उनले भने। सेप्टेम्बरदेखि पर्यटकीय सिजन सुरु हुने व्यवसायीले बताईरहेका छन्। व्यावसायीका अनुसार यो समय पदयात्राको सिजन पनि हो। मुस्ताङका विभिन्न ठाउँको पदयात्रामा जाने पर्यटक यो बेला नेपाल आउने गर्छन्।

त्यसैगरि निजी क्षेत्रको अर्को हवाई कम्पनी तारा एयरले पनि यो रुटमा उडान तयारी गरेको प्रवक्ता सुदर्शन बर्ताैलाले जानकारी दिए। बर्ताैलाका अनुसार ट्विनअट्टर जहाजबाट दिनमा पाँच वटा उडान गर्ने तयारी छ। ‘सुरुवाती चरणमा दिनमा पाँच वटासम्म उडान गर्ने योजना छ। त्यसका लागि जहाज नै पोखरामा रहनेछ,’ बर्ताैलाले भने, ‘मौसमले साथ दिएमा पाँचभन्दा पनि बढी उडान गर्न सकिन्छ। त्यो अवस्थाका लागि थप उडान जनशक्ति पनि पोखरामै राख्न सकिन्छ।’

पर्यटकीय सिजन सुरु भएको र सोह्र श्राद्ध गर्न मुस्ताङको कागबेनी जाने यात्रु हुने भएकोले पनि उडान सुरु गरेको उनले बताए। ‘यो बीचमा मौसममा पनि समस्या आयो। अब मौसम खुल्दै जान्छ। पर्यटकीय सिजन सुरु भएको छ,’बर्ताैलाले भने, ‘स्थलमार्ग झन्झटिलो भएकोले पनि हवाई यात्रु पर्याप्त हुने अपेक्षा छ।’

प्राधिकरणले इनरुट मौसम क्लियर नभएसम्म हवाई उडान गर्न नमिल्ने भन्दै २०७९ जेठ अन्तिमदेखि हवाई उडानमा कडाई गर्न थालेको थियो। आँखाले हेरेर (भिएफआर) गरिने उडानमा उडान हुने र अवतरण गर्ने दुवै विमानस्थलको मौसम सफा हुनुपर्ने प्राधिकरणले बताउँदै आएको थियो। त्यसबाहेक दुवै विमानस्थलको भिजिबिलिटी कम्तीमा पाँचकिलोमिटर हुनुपर्ने र ककपिटमा बसेका क्याप्टेनले आठ किलोमिटर परसम्मको दुरी देख्नुपर्ने नियम प्राधिकरणले लागु गरेको थियो।  

प्रकाशित: १९ भाद्र २०८० ०९:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App