१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

टेलिकमको सेवा स्याटेलाइट प्रविधिबाट

काठमाडौं- गुणस्तरीय सेवा नभएको भन्दै आलोचना खेपिरहेको नेपाल टेलिकमले अति दुर्गम क्षेत्रका विभिन्न भागमा स्याटेलाइट प्रविधिबाट सेवा विस्तार गरेको छ। स्याटेलाइट प्रविधिबाट नेटवर्क विस्तार गर्दा दूरसञ्चार कम्पनीहरूले भने घाटा बेहोर्नु पर्छ।

कुनै पनि दूरसञ्चार कम्पनीहरूले टावर राखेर सेवा दिन नसक्ने अवस्था भएका दुर्गम ठाउँमा नेपाल टेलिकमले स्याटेलाइट प्रविधिबाट सेवा पुर्‍याएको बताएको छ। 'हामीले झन्डै ५० वटा त्यस्ता साइटमा स्याटेलाइट प्रविधिबाट सेवा विस्तार गरेका छौं,' टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले भनिन्, 'अन्य कुनै पनि सेवा पुग्न नसकेका अति दुर्गम त्यस्ता क्षेत्रमा टेलिकमले सेवा पुर्‍याएको छ।'

उनका अनुसार टेलिकमले राराताल, बागलुङका अति बिकट गाउँ लगायत ठाउँमा स्याटेलाइट प्रविधिबाट सेवा विस्तार गरेको छ। स्याटेलाइट प्रविधिबाट सेवा विस्तार गर्नु भनेको सेवा मात्र हुने, व्यापारिक फाइदा नहुने उनको भनाइ छ।

'स्याटेलाइट प्रविधिबाट सेवा विस्तार गर्दा १० भागको एक भाग पनि फाइदा छैन,' राजभण्डारीले भनिन्, 'हामीले उपभोक्ताबाट फाइदामात्र लिएर हुँदैन सेवा मात्र पनि दिनुपर्छ भनेर यो काम गरेका हौं।' ग्रामीण र पहाडी क्षेत्रमा बिटिएस टावर, स्याटेलाइटदेखि अन्य प्रविधिबाट सेवा विस्तार गरेको उनको भनाइ छ।

दुर्गम र उच्च पहाड तथा हिमाली क्षेत्र वा खोंचहरूमा बिटिएस टावरबाट नेटवर्क पुर्‍याउन गाह्रो हुन्छ। उक्त ठाउँमा स्याटेलाइट प्रविधिबाट नेटवर्क पुर्‍याउनुपर्ने हुन्छ।  नेपाल टेलिकम सहित अन्य दूरसञ्चार कम्पनीहरूले बिटिएस टावरबाट सेवा विस्तार गरिरहेका छन्।

टावरबाट सेवा विस्तार गर्दा उच्च पहाड, खोंच र घना जंगलका बीचमा नेटवर्क नटिप्ने समस्या भइरहन्छ। यही समस्या र अन्य कामको लागि प्रयोग गर्न भनेर नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नै स्याटेलाइट स्थापना गर्ने योजना अघि सारेको छ।

विभिन्न ठाउँमा सेवा विस्तार गर्ने क्रममा यो वर्ष ११ सयवटा बिटिएस टावर सञ्चालनमा ल्याउने तयारीमा टेलिकम रहेको राजभण्डारीले बताइन्। उक्त टावरहरू नेपालगन्ज, धनगढी, वीरगन्ज जस्ता सहर र अन्य दुर्गम ठाउँमा स्थापना हुनेछन्। 

बिटिएस टावर विस्तारको क्रममा कतिपय ठाउँमा अवरोध समेत भएको टेलिकमले बताएको छ। टावर स्थापना गर्दा स्वास्थ्यमा प्रतिकूल असर गर्ने विकिरण उत्पन्न हुने भएकाले स्थानीयले अवरोध गरेको राजभण्डारीको भनाइ छ। 'उपत्यकाकै कतिपय ठाउँमा यस्तो अवरोध आएको छ,' राजभण्डारीले भनिन्, 'अवरोधका कारण पनि सेवा विस्तार गर्न कठिनाइ भएको अवस्था छ।'

प्रकाशित: २४ श्रावण २०७४ ०४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App