१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

५ अर्बको टाइगर प्यालेस रिसोर्ट एनआरएनद्वारा खरिद

नेपालमा तिर्नुपर्ने सबै कर तिर्ने लगानीकर्ताको प्रतिवद्धता

क्याप्शन

प्रत्यक्ष वैदेशिक लगानी रहेको तर बन्द हुने अवस्थामा पुगेको भैरहवास्थित पाँच तारे टाइगर प्यालेस रिसोर्ट गैरआवासीय नेपालीले खरिद गरेर सञ्चालनमा ल्याएका छन्। 

कोभिड महामारी र रिसोर्ट सञ्चालनको क्रममा देखिएको विवादको कारण जीर्ण अवस्थामा रहेको उद्योगलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका पूर्व अध्यक्ष बुद्धिसागर सुवेदी, क्यानाडाका पूर्व अध्यक्ष दिपकदत्त गौतम लगायतको टोलीले खरिद गरेको हो। करिब ५ अर्ब रूपैयाँ लगानी गरेर निर्माण गरिएको रिसोर्ट कोभिड र आन्तरिक विवादको कारण निरन्तर घाटामा गएर सञ्चालन गर्न कठिनाइ भएपछि विदेशी लगानीकर्ताले बिक्री गरेका हुन्।  

विदेशी लगानीकर्ता रहेको अस्टे«लियन कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडको सेयर सुवेदी, गौतम लगायतका एनआरएनएको लगानी रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इंक कम्पनीले खरिद गरेको हो। अमेरिकामा रहेको हिमालयन टाइगर कम्पनीमा गैरआवासीय नेपालीको लगानी छ।

कम्पनीले बुधबार पत्रकार भेटघाट गरी रिसोर्ट खरिद गरेको जानकारी दिँदै नयाँ व्यवस्थापनका साथ रिसोर्ट सञ्चालनमा ल्याएको जनाएको छ। नेपालमा बैंकहरूलाई तिर्नुपर्ने करिब सवा दुई अर्ब ऋण, सरकारलाई तिनुपर्ने करसहितका अन्य दायित्व सकार्ने गरी सिल्भर हेरिटेजलाई हिमालयन टाइगरले १५ मिलियन डलर (करिब दुई अर्ब रुपैयाँ) मा किनेको हो।  

रिसोर्ट सञ्चालन गर्न सेयर खरिद कारोबार रकमसहित करिब ४ अर्ब रूपैयाँ खर्च हुने टाइगर प्यालेसका अध्यक्ष बुद्धिसागर सुवेदीले बताए। ‘अमेरिकामा खडा गरिएको लगानी कम्पनीमार्फत अस्ट्रेलियन कम्पनीको सेयर खरिद गरेका छौं,’ अध्यक्ष सुवेदीले भने, ‘नेपालको प्रचलित कानुनबमोजिम लाग्न सक्ने कर, राजस्वको सबै दायित्व तिर्नेछौं।’ यस कारोबारबाट नेपालमा सिर्जना हुने करको दायित्व प्रचलित कानुनबमोजिम कानुनले दिएको म्यादभित्र तिर्ने सुवेदीले बताए। ‘आफ्नो जन्मभूमिप्रतिको दायित्व पूरा गर्नुपर्छ भन्ने मर्मलाई आत्मसात गरी बन्द हुने अवस्थामा पुगेको कम्पनी खरिद गरेका हौं,’ अध्यक्ष सुवेदीले भने, ‘हामीले विदेशमा कमाएको डलरलाई नेपालमा ल्याउने प्रयत्न गरेका छौं।’ विदेशमा विभिन्न पेशा व्यवसायबाट स्थापित भएकाले नाफा आर्जन गर्न भन्दा पनि आफ्नो जन्मभूमिप्रतिको दायित्व बोध भएर यस रिसोर्टमा लगानी गरेको अध्यक्ष सुवेदीले बताए।

रिसोर्ट तथा क्यासिनो सञ्चालनमा आएपछि करिब एक हजार जनाभन्दा बढी नेपालीले रोजगारी पाउने  टाइगर प्यालेसका सञ्चालक सदस्य दीपकदत्त गौतमले बताए । प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालन भएको रिसोर्ट बन्द हुने अवस्थामा पुगेको र विदेशमा समेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने भएपछि कम्पनी खरिद गरेको उनले बताए।  

‘पर्यटनको प्रचुर सम्भावना भएर पनि टाइगर रिसोर्ट जस्ता ठूला लगानीका पर्यटन सेवासम्बन्धी उद्योगहरू धराशायी हुने बाटोतर्फ उन्मुख हुनु राष्ट्र, पर्यटनक्षेत्र र लगानीकर्ताका लागी सुखद् होइन,’ उनले भने, ‘नेपालको पर्यटन उद्योगमा रिसोर्टमार्फत पर्यटनक्षेत्रमा इट्टा थप्न चाहन्छौं।’

यो परियोजना सफल भएमा विदेशी लगानीकर्ता र गैरआवासीय नेपालीहरूमा लगानी गर्न विश्वास पैदा हुने र प्रत्यक्ष वैदेशिक लगानीको वातावरण बन्ने उनीहरूको दाबी छ। रिसोर्टले रोजगारी, राजस्व, व्यापार, व्यवसाय वृद्धि हुनुका साथै पर्यटन उद्योगमार्फत अर्थतन्त्रमा योगदान पुर्याउने कम्पनीले जनाएको छ।

महामारी र रिसोर्ट सञ्चालनको क्रममा आन्तरिक विवादको कारण केही वर्षदेखि रिसोर्ट पूर्ण रूपमा सञ्चालन हुन सकेको थिएन। रिसोर्टले करोडौं रूपैयाँ घाटा व्यहोर्दै आएको थियो। कम्पनीले नेपालका बैंकलाई तिर्नुपर्ने साँवा, ब्याजको दायित्व पनि तिर्न नसकिरहेको अवस्थामा यो कम्पनीलाई गैरआवासीय नेपालीहरूले लिएका हुन्।

प्रकाशित: ३२ श्रावण २०८० ०२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App