१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

पोखरा–मुग्लिन राजमार्गः पूर्वि खण्डमा ३२ र पश्चिम खण्डमा ९ प्रतिशत मात्र काम

२०२५ अन्तिमसम्मको म्याद थप्न समय माग

पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन खण्डको हिलाम्य सडकमा गुडिरहेका सवारी। तस्बिरः नागरिक

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड अन्तर्गत पोखरा–आँबुखैरेनी (८०किमि) सडक अहिले बिस्तार भईरहेको छ। सडक बिस्तार भईरहे पनि कामको गति भने निकै नै सुस्त भएको गुनासो व्याप्त छ। अझ पर्यटन व्यावसायीले त बिस्तारको क्रममा रहेको राजमार्गको यात्रा झन्झटिलो हुँदा पर्यटक आउजाउमै असर परेको गुनासो गरिरहेका छन्।

राजमार्ग बिस्तार थाल्नुअघि पोखरा–आबुखैरेनी सडक पार गर्न बढीमा ३ घण्टा लाग्नेमा अहिले त्यो समय झन्डै दोब्बर लाग्ने गरेको गुनासो सर्वत्र छ। दुईखण्ड (पूर्विखण्ड आँबुखैरेनी–जामुने ४१ किलोमिटर र पश्चिमखण्ड जामुने–पोखरा ३९ किलोमिटर) मा बाँडेर यो सडक बिस्तार भईरहेको छ।  निर्माण कम्पनिसँग भएको सम्झौता अनुसार सम्झौता भएको दिनदेखि तीनवर्षभित्र राजमार्ग बिस्तार भईसक्नुपर्ने हो। तर, अहिलेको अवस्थासम्म पूर्वि खण्ड झन्डै ३२ र पश्चिम खण्डको ९ प्रतिशत मात्र काम सकिएको छ।

राजमार्गको पूर्वि खण्ड बिस्तारका लागि चाइना कम्यूनिकेसन कन्स्ट्रक्सन कम्पनिले ठेक्का पाएको छ। पश्चिम खण्ड बिस्तारको काम पनि चिनियाँ कम्पनि अनहुइ काइयुयान रोड एण्ड ब्रिज कम्पनिले जिम्मा लिएको छ। पूर्वि खण्डको जिम्मा लिएको कम्पनिले तोकिएको समयमा सडक बिस्तार नसकिने भन्दै म्याद थपका लागि पत्राचार गरिसकेको छ। आयोजनाको पूर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदीले भने, ‘झन्डै डेढवर्ष म्याद थप्नका लागि चिनियाँ ठेकेदारले प्रस्ताव गरिसकेको छ। तोकिएको समयमा काम नसकिने भन्ने त पक्का नै भइसक्यो।’ उनका अनुसार २०२५ को अन्तिमसम्ममा काम सकिनेगरि ठेकेदार कम्पनिले समय माग गरेको छ।  

पूर्वि खण्डका लागि २०२१ अप्रिलमा र पश्चिम खण्डका लागि २०२१ अगष्टमा निर्माण सम्झौता भएको थियो। सम्झौता अनुसार तीनवर्षभित्र काम सकिनुपर्ने भएपनि तोकिएका समयमा काम किने सम्भावना नरहेको सुवेदीले बताए। सम्झौता अनुसार सन् २०२४ अप्रिलसम्म पूर्वीखण्ड र २०२४ अगष्टसम्म पश्चिमखण्ड सकिनुपर्ने हुन्छ। पूर्वीखण्डका लागि अब आठमहिना र पश्चिम खण्डका लागि एकवर्ष मात्र समय बाँकी छ। तर, काम भने निकै नै कम भएकोले म्याद थप्नका लागि आग्रह गरेको उनले बताए।

‘ठेकेदार कम्पनिको व्यवस्थापन कमजोरीले गर्दा काममा ढिलाई भएको छ,’ उनले भने, ‘कतिपय अवस्थामा विद्युत, खानेपानी लगायतका निकायसँगको समन्वयको अभावले पनि काममा ढिलाई भएको हो। ठेकेदार कम्पनिको फितलो व्यवस्थापनका कारण राजमार्ग बिस्तारमा समस्या भएको उनले बताए।  

पश्चिम खण्डका इन्जिनियर अमित श्रेष्ठले पनि तोकिएको समयमा सडक बिस्तारको काम सकिने सम्भावना नरहेको बताए। उनका अनुसार पश्चिम खण्डको ठेक्का पाएको कम्पनिले अहिलेसम्म म्याद थपका लागि पत्र त पठाएको छैन, तर, बारम्बार भईरहने छलफलमा २०२५ डिसेम्बरसम्म काम सक्ने भन्ने भनाई छ। ‘आधिकारिक म्याद थपको पत्र नआएपनि निर्माण व्यावसायी र कन्सल्ट्याण्टसँगको छलफलमा २०२५ डिसेम्बरसम्म काम सकिने भनेका छन, तर, म्याद थपको आधिकारीक पत्र आएको छैन,’ श्रेष्ठले भने, ‘नियमित समयमा काम सकिने सम्भावना नै छैन । किनकी बल्ल ९ प्रतिशत मात्र प्रगति भएको छ।’  

उनका अनुसार पश्चिम खण्डको कास्की भागमा बढी समस्या छ, किनकी यो खण्डमा विद्युत पोल, खानेपानीको पाइप, ढल निकासको व्यवस्थापनमा समस्या छ। ‘तनहुँमा खासै समस्या छैन। तर, कास्कीमा बजार खण्ड बढी पर्ने भएकोले पनि केही ढिलाई हुन्छ,’ श्रेष्ठले भने। एशियाली विकास बैंक(एडीबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरा–आँबुखैरेनीसम्मको दुईलेन सडकलाई विस्तार गरी चारलेनको फराकिलो र स्तरीय बनाउन थालिएको हो। १३ अर्ब ६१ करोड रुपैयाँको लगानीमा राजमार्ग बिस्तार भईरहेको छ।  

आयोजनाका अनुसार पूर्वि खण्डमा पर्ने आँबुखैरेनी–जामुनेसम्मका लागि ६ अर्ब २१ करोड र पश्चिम खण्डमा पर्ने जामुनेदेखि पोखरासम्मको लागि ७ अर्ब ४० करोड रुपैयाँ खर्च हुनेछ। यो रकम सडक बिस्तारका लागि मात्र हो। त्यसबाहेक तनहुँको दमौलीस्थित मादीनदीमाथि पुल बनाउन १ अर्ब २० करोड र पोखरामा सेतीनदीमाथि पुल बनाउन थप १ अर्ब रुपैयाँ लाग्नेछ । सबैगरि १५ अर्ब रुपैयाँ भन्दा बढी रकम राजमार्ग बिस्तारमा खर्च हुँदैछ।  

उनका अनुसार यो राजमार्गको बजार क्षेत्रमा छ लेनको फराकिलो सडक हुनेछ। बजार खण्ड ४१  देखि ४५ मिटर फराकिलो हुनेछ भने अरु ठाउँ चारलेनको हुनेछ। त्यो खण्ड २१ देखि २२ मिटरसम्मको फराकिलो हुनेछ। दायाँबायाँ नाली र बीचमा तीनमिटरको फराकिलो डिभाइरसम्म पनि यसैमा बनाइने आयोजनाले बताएका छन। डिभाइडरलाई सौन्दर्यकरण पनि गरिनेछ।  

सुवेदीका अनुसार आँबुखैरेनी–जामुने खण्डमा चारवटा ठुला र १४ वटा साना पुल निर्माण हुनेछन। यही बजेटभित्र रहेर पुलको आकार पनि बिस्तार हुनेछ। ती पुल पनि सडकको आकारजत्तिकै फराकिला हुनेछन। पश्चिम खण्डमा पनि चारवटा ठुला र आठवटा अरु साना पुल पर्नेछन। बिजयपुर, कोत्रे, कुम्ले र म्याग्देका पुल ठुला आकारका छन्। अरु साना पुल छन। 

उनका अनुसार पोखरा–आँबुखैरेनी खण्डमा पर्ने ठुला आकारका दुइवटा पुल छन। पोखरामा सेतीनदीमाथि र दमौलीमा मादीनदी माथिको पुल ठुला आकारका पुल हुन्। यी पुल भने यो आयोजनाभित्र पर्दैनन्। त्यसैले सडक बिस्तारसँगै ती पुलका लागि अतिरिक्त रकम खर्च हुँदैछ।

अहिले गण्डकी प्रदेशलाई राजधानी र तराई जोड्ने पृथ्वी राजमार्ग मुख्य हो। यो राजमार्ग लामो समयदेखि बिस्तार भएको थिएन। पछिल्ला समय राजमार्ग झन्डै जिर्ण भएको थियो। राजमार्गका ठाउँठाउँमा खाडल पर्दा यात्रा झन्झटिलो र समय बढी लाग्ने गरेको थियो।  

प्रकाशित: ३१ श्रावण २०८० १०:१८ बुधबार

पोखरा–मुग्लिन राजमार्गः म्याद थप्न समय माग