४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नागढुंगा-नौविसे टनेल सोमबार छिचोलिने

नागढुंगा-नौविसे टनेलमार्गको इभाक्युसन सोमबार ब्रेक थ्रु हुने भएको छ। २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको इभाक्युसन टनेल सोमबार छिचोलिने भएको छ।

आइतवार दिउँसोसम्म एक मिटर मात्र रेस्क्यु टनेलको काम बाँकी रहेको छ। सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यु टनेलको ‘ब्रेक थ्रु’ हुने सडक विभाग वैदेशिक महाशाखाका प्रमुख विजय जैसीले बताए। ‘साउन २२ गते दिउँसो रेस्क्यु टनेल ब्रेक थ्रु हुँदैछ,’ जैसीले भने।

२.५ किलोमिटर रहेको नागढुंगा–नौविसे सुरुङमार्गको रेस्क्यु टनेलसँग मुख्य टनेलको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको छ। आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ८८ मिटर छ। मुख्य सुरुङ खन्न भने अझै ५ सय ६ मिटर बाँकी छ।

सुरुको ठेक्का सम्झौताअनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै सम्पन्न हुनुपर्ने थियो तर भएन। समयमा काम नभएपछि यो आयोजनाको म्याद २५ अप्रिल २०२४ सम्म थपिएको छ। थपिएको समयभित्र पनि आयोजना सम्पन्न हुनेमा शंका छ।

आयोजनाका अनुसार २०२३ जुलाई २४ सम्म आयोजनाको समष्टिगत भौतिक प्रगति ५६.८९ प्रतिशत र वित्तीय प्रगति ५९.३९ प्रतिशत छ। अहिलेसम्म २ हजार १७२ मिटर सुरुङ मात्रै छिचोलिएको छ। अझै ५१५ मिटर मुख्य सुरुङ खन्नै बाँकी छ। यो परियोजना जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले गरिरहेको छ।

ठेकेदार कम्पनी र स्थानीयबासीको अवरोधका कारण तोकिएको समयमा यो परियोजना निर्माण हुन सकेको हो।

सुरुङमार्ग निर्माण गर्न जापान सरकारसँग ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि ऋण सम्झौता भएको छ। जाइकाको साढे १६ अर्ब रूपैयाँ ऋण र नेपाल सरकारको करिब ६ अर्ब गरी साढे २२ अर्ब रूपैयाँमा आयोजना निर्माण गर्ने लक्ष्य लिइएको छ।

प्रकाशित: २२ श्रावण २०८० ०४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App