१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

फूल खेतीबाट राम्रो आम्दानी गर्दै लोकेन्द्र

घोराही उपमहानगरपालिका-१४ झिंगौराका लोकेन्द्र रोका मगर नौ वर्षदेखि व्यावसायिक फूल खेतीमा छन्। वैदेशिक रोजगारीलाई बिट मार्दै स्वदेशमै स्वरोजगार हुने उनको योजना फूल खेतीबाट पूरा भएको छ।

‘फूल खेतीबाट हुने आम्दानी राम्रो छ, सिजनमा लाखौंको फूल बिक्री भइरहेको छ’, उनले भने। फूल खेतीबाट आम्दानी राम्रो हुन थालेपछि काम खोज्दै विदेश पनि नपरेको उनको भनाइ छ। बरु यही व्यवसायलाई बिस्तार गर्दै अघि बढ्ने उनले योजना सुनाए।

रोजगारीका क्रममा सात वर्ष कतारमा बिताएका रोका मगरले दशैं र तिहार लगायतका पर्व एवं शुभ कार्यमा फूलको माग राम्रो देखेपछि फूल खेतीमा होमिएका हुन्। हाल उनले हजारीका बिरुवा उत्पादन गर्दै बिक्री समेत गरिरहेका छन्।

हजारीका बिरुवा घोराहीसहित तुलसीपुर, लमही, नारायणपुरका साथै कपिलवस्तु र सुर्खेतसम्म पुर्‍याउँछन्। थोकमा एउटा बिरुवाको साढे तीन र खुद्रामा पाँच रुपैयाँका दरले बिक्री गर्ने गरेको उनको भनाइ छ।

उनले गत तिहारमा मात्र १० लाख रुपैयाँको हजारी फूलका माला र फूल बेचेको बताए।

दुई बिघा जग्गा भाडामा लिएर फूल खेती गरेको उनले अहिले भारतको कोलकाताबाट अफ्रिकन मेरिगोल्ड जातको सयपत्रीको बीउ ल्याएका छन्।

काठमाडौंतिर व्यावसायिक फूल खेती भए पनि दाङमा नभएकाले फूल खेती थालेको हुँ’, उनले भने, ‘घोराही बजार नजिकै भएकाले बजारको कुनै समस्या छैन।’

पहिले तिहारका लागि मात्र सयपत्री फूल उत्पादन गर्ने भए पनि हाल बाह्रै महिना माग हुने गरेको उनको भनाइ छ।

अहिले उनले सजावटका लागि फूलका बिरुवा, उत्पादन तथा बिक्री समेत गर्दै आएका छन्। फूलको माग दशैंतिहारमा बढी हुने गरेको उनको भनाइ छ। यसै गरेर विभिन्न औपचारिक कार्यक्रम, विवाह, पूजाआजाका लागि फूलको माग हुने गरेको बताए।  

प्रकाशित: १९ श्रावण २०८० ०६:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App