७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

राजस्व ऋणात्मक, पोहोरभन्दा १ खर्ब कम

मुलुकको अर्थतन्त्रमा देखिएको समस्या, वैदेशिक व्यापारमा आएको गिरावट लगायतका कारण यो वर्ष राजस्व संकलन ऋणात्मक भएको छ। हरेक वर्ष राजस्व संकलन वृद्धि हुँदै गएको भए पनि चालु आर्थिक वर्ष राजस्व संकलन ऋणात्मक भएको हो।

महत्वाकांक्षी लक्ष्य राखेको कारण सरकारले राजस्व संकलनको लक्ष्य प्राप्ति गर्न चुकेको मात्र होइन पोहोरको भन्दा राजस्व पनि करिब १ खर्ब कम संकलन गरेको छ। आर्थिक वर्ष सकिन दुई साता बाँकी रहँदा ६१.३६ प्रतिशत मात्र राजस्व संकलन गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार पोहोर असार १७ गतेसम्म ९ खर्ब ७३ अर्ब ६१ करोड राजस्व संकलन भएकोमा यो वर्षको सोही अवधिमा ८ खर्ब ६१ अर्ब रूपैयाँमा मात्र संकलन भएको छ। यसरी हेर्दा पोहोरको भन्दा १ खर्ब १२ अर्ब रूपैयाँ कम राजस्व संकलन भएको छ।

आर्थिक क्रियाकलापमा शिथिलता आउँदा राजस्व संकलन प्रभावित भएको हो। घरजग्गाको पुँजीगत लाभकर, सेयर कारोबारबापत आउने कर, वैदेशिक व्यापारबाट आउने भन्सार महसुल लगायतमा आएको गिरावटले राजस्व संकलनमा कमी आएको छ । कोभिड १९ ले अर्थतन्त्रमा पारेको असरको प्रभाव अहिले देखिएको छ। विगतमा विदेशी विनिमय सञ्चिति घटेपछि सरकारले आयातमा कडाइ गरेको थियो। आयातमा कडाइ गर्दा वैदेशिक व्यापारमा कमी आयो। आयातमा आधारित अर्थतन्त्र भएकाले वस्तु आयात रोकिँदा त्यसको असर पनि राजस्व संकलनमा परेको अर्थ मन्त्रालयको दाबी छ।

सरकारले चालु आर्थिक वर्ष २०७९÷८० को बजेटमा १४ खर्ब ३ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। मध्यावधि समीक्षामार्फत बजेटको आकारसँगै राजस्व संकलनको लक्ष्य पनि संशोधन गरेको थियो। संशोधित लक्ष्यअनुसार पनि राजस्व संकलन भएको छैन। हरेक वर्ष राजस्व संकलन वृद्धि हुँदै जानुपर्नेमा चालु आर्थिक वर्षमा राजस्व संकलन ऋणात्मक भएको छ। गत वर्षको असार १७ गतेसम्म लक्ष्यको ८२.४७ प्रतिशत राजस्व संकलन भएको थियो।

विश्वबजारमा देखिएको मन्दीका कारण पनि आर्थिक क्रियाकलापमा शिथिलता आएको र त्यसको असर पनि देखिएको छ। कोभिड १९ ले अर्थतन्त्रमा पारेको असरको प्रभाव पनि परेको छ। राजस्व संकलन नभएपछि सरकारले चालु खर्च पनि धान्न सकेको छैन। अर्थतन्त्रमा देखिएको मन्दीका कारण बजार चक्र प्रभावित भएको छ। बजारमा माग घटेको छ, त्यसले उत्पादनमा गिरावट आएको छ, त्यसको प्रभाव पनि राजस्वमा परेको छ । चालु आर्थिक वर्षको राजस्व संकलन वृद्धिदर ५५ वर्षयताकै कमजोर स्थितिमा पुगेको हो। अर्थ मन्त्रालयले तयार गरेको आर्थिक वर्ष २०७९÷८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा ५५ वर्षपछि पहिलो पटक राजस्व संकलनमा नकारात्मक वृद्धिदर देखिएको उल्लेख छ। राजस्व संकलनमा यस्तो प्रकारको नकारात्मक वृद्धिदर आर्थिक वर्ष २०२४/२५ पछि पहिलोपटक हुन पुगेको हो।

महत्वाकांक्षी लक्ष्य राखेका कारण लक्ष्य पूरा हुन नसकेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए। ‘बजेटको आकार ठूलो बनाउँदा राजस्व संकलनको लक्ष्य पनि धेरै भयो,’ ती अधिकारीले भने, ‘महत्वाकांक्षी लक्ष्य भएकाले पूरा हुन सकेन।’ लक्ष्यअनुसार मासिक सरदर करिब १ खर्ब १६ अर्ब रूपैयाँ राजस्व संकलन हुनुपथ्र्यो। अब दुई साता मात्र बाँकी रहेकाले लक्ष्य पूरा हुने सम्भावना टरेको छ। आन्तरिक राजस्व लक्ष्य अनुसार संकलन भए पनि आयात घट्दा भन्सारबाट उठ्ने राजस्वमा कमी आएको अर्थमन्त्रालयका अधिकारी बताउँछन्। करिब ५ हजार सवारी साधन भन्सारमा रोकिएको कारण पनि राजस्वमा असर पुगेको अर्थ मन्त्रालयले जनाएको छ।

यो वर्ष सरकारको पुँजीगत खर्च पनि निकै कमजोर रहेको छ। असार १७ गतेसम्म ४४.३४ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ। आइतबारसम्म चालु खर्च ७८.५६ प्रतिशत भएको छ।  

विगतका वर्षहरूमा आर्थिक वर्षको अन्त्य असारमा धेरै पुँजीगत खर्च हुने गरेको थियो। विगत ६ वर्षको तथ्यांक हेर्दा असारमा मात्र न्यूनतम ३० देखि ४२ प्रतिशत रकम खर्च भएको देखिन्छ तर यो वर्ष असारमा पुँजीगत खर्च विगतका वर्ष जति हुन सक्ने देखिएको छैन। अधिकांश पूर्वाधार तथा विकास निर्माण परियोजनाको बजेटको भुक्तानी असार महिनामा हुने भएकाले केही खर्च भने बढ्ने गरेको छ।

प्रकाशित: १९ असार २०८० ०५:५८ मंगलबार

राजस्व ऋणात्मक पोहोरभन्दा १ खर्ब कम