१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नयाँ चिनियाँ जहाज दुई महिनादेखि घाम ताप्दै

काठमाडौं-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट पछिल्लो पटक काठमाडौं ल्याएको १७ सिटे एउटा चिनियाँ जहाजलाई दुई महिनादेखि ‘घाममा सेकाएर’ राखेको छ।

चीनमा निर्मित १७ सिट क्षमतायुक्त ‘वाई१२–ई’ सिरिजको यो जहाजलाई निगमले उडाउन नसक्दा मुलुकका विभिन्न गन्तव्य जाने यात्रु अन्य वायुसेवा कम्पनीको भर पर्नुपरेको छ । भएका जहाज उडाउन नसक्दा निगमले आम्दानी पनि गुमाइरहेको छ । निजी वायुसेवा कम्पनीको दाँजोमा निगमले सस्तो भाडा दरमा यात्रु बोक्ने गरेको छ । यही कारण यात्रुले निगमका जहाज रोज्ने गरेको पाइन्छ ।

निगमको यो नयाँ जहाजलाई मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘९एन–एकेटी’ कलसाइन दिएको छ । निगमले यो जहाजको नाम ‘गौंथली’ राखेको छ । निगमसँग यही सिरिजको एकथान जहाज भने सञ्चालनमा छ ।  

आखिर किन निगमले यो नयाँ जहाज उडाउन नसकेको हो ? निगमको ‘रेडिमेड’ जवाफ छ– पाइलट नभएर। तर, निगमको यो जवाफ भने आफैंमा विरोधाभाषपूर्ण छ । यो र यस्तै अर्को जहाज उडाउन निगमसँग चारजना क्याप्टेन र ६ जना को–पाइलट छन् । तीमध्ये दुई क्याप्टेनलाई निगमले साढे दुई महिनादेखि जहाज उडाउन नदिई ‘ग्राउन्डेड’ गरेको छ भने अर्का एक क्याप्टेन करिब दुई महिनादेखि निगमको ‘सम्पर्क’ मै छैनन् ।

यति हुँदाहुँदै निगमले कतिसम्म असम्भव काम गरेको छ भने जहाज कमान्ड गर्ने एकमात्र क्याप्टेन र दुई को–पाइलटबाट दुइटा जहाजमार्फत प्रत्येक साता २८ उडान गर्ने तालिका सार्वजनिक गरिसकेको छ। तर, सातामा २८ उडान गर्न निगमले आफूसँग पाइलट छैनन् भन्ने बिर्सिएको छ ।

‘दुई महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घाम तापेर बसेको नयाँ वाई१२–ई जहाजबाट मात्र सातामा १५ उडान गर्ने तालिका छ तर अहिलेसम्म जहाज उड्ने छनक छैन,’ सम्बद्ध स्रोतले मंगलबार नागरिकसँग भन्यो, ‘जहाज उडान तालिका बनाउने त्यही व्यवस्थापनले भने पाइलटलाई ग्राउन्डेड गरेको छ। अनि जहाज किन उडेन भन्दा पाइलट नभएर भन्ने सिधा जवाफ आउँछ ।’

अहिले एकमात्र क्याप्टेन उद्धव घिमिरेले वाई१२–ई जहाज उडाइरहेका छन् । उनले ६ दिन उडान गरेपछि एक दिन बिदा बस्ने गरेका छन् । जसले गर्दा सातौं दिन जहाज थन्किने गरेको छ । घिमिरे एउटा जहाज उडाउँदा अर्को जहाज भने क्याप्टेन नहुँदा उड्न सक्दैन । वाई१२–ई उडाउन दुई को–पाइलट प्रचण्ड खड्का र राकेश काफ्लेमात्र छन् । तर, निगमले घिमिरेबाहेक यही जहाजका दुई वरिष्ठ क्याप्टेन निपेन्द्र भट्टराई र सञ्जयबादे श्रेष्ठलाई साढे दुई महिनादेखि उडान गर्न नदिई ग्राउन्डेड गरेको छ । अर्का क्याप्टेन अनिशमान शाक्य पनि झन्डै दुई महिनादेखि उडानमा संलग्न छैनन् ।

निगमले वाई१२–ई जहाजका लागि चार क्याप्टेन र ६ को–पाइलट रहेको जनाएको छ । तर, दुई क्याप्टेन ग्राउन्डेड र एक उडानमा फर्किएका छैनन् भने बाँकी चार को–पाइलट श्रृजना रावत, लिबर्टी भण्डारी, विजय अवाले र रविन केसीले दुई वर्षदेखि जहाज उडाउन पाएका छैनन् ।

‘निगमसँग वाई१२–ई जहाजको प्रशिक्षक पाइलट (आइपी) नहुँदा ती चारजना को–पाइलटलाई उडानमा फर्काउन सकिएको छैन,’ स्रोतले भन्यो, ‘त्यही भएर उनीहरूलाई मासिक ४५ घन्टा ‘ग्यारेन्टी आवर’ भत्ता दिएर घरमै थन्क्याइएको छ ।’

एउटा जहाज उडाउन एकजना क्याप्टेन र एकजना को–पाइलट चाहिन्छ । नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार आन्तरिक उडान गर्ने निगमको एकथान साना जहाज उडाउन क्याप्टेन र को–पाइलट गरी पाँचजना चाहिन्छ । यसको अर्थ दुई क्याप्टेन र तीन को–पाइलट वा तीन क्याप्टेन र दुई को–पाइलट हुनुपर्छ भन्ने हो ।

स्रोतका अनुसार निगमको उडान सञ्चालन विभागले पछिल्लो पटक गत माघ अन्तिम साता वरिष्ठ क्याप्टेन भट्टराई र श्रेष्ठलाई ‘अर्को सूचना नआएसम्म उडानबाट हटाइएको र ४५ घन्टा ग्यारेन्टी आवर नदिने निर्णय गरिएको’ भन्दै पत्र थमाएको थियो ।

भट्टराईलाई दुई महिनाअघि ‘आफूभन्दा माथिका पदाधिकारीलाई अभद्र व्यवहार गरी पदअनुसार आचरण पालना नगरेको’ भन्दै स्पष्टीकरण सोधिएको थियो । त्यसबारे जवाफ दिएका उनलाई एक महिनापछि पुनः विभागले ‘वाई१२–ई जहाज उडान नगर्न अरू पाइलटलाई उचाली प्रपञ्च रचेको’ भन्दै सात दिनभित्र चित्तबुझ्दो लिखित जवाफसहित उपस्थित हुन निर्देशन दिइएको थियो ।

स्रोतका अनुसार त्यसपछि क्याप्टेन भट्टराईले ‘आफूलाई जहाज उडाउन नदिई ग्राउन्डेड गरिनुको कारण उपलब्ध गराउन आग्रह गर्दै’ लिखित स्पष्टीकरण पेस गरेका थिए । उनको स्पष्टीकरण निगम व्यवस्थापनलाई चित्त नबुझेपछि ग्राउन्डेड अवधि लम्बिएको स्रोतको भनाइ छ ।

‘व्यवस्थापन सकेसम्म दुइटै पाइलटले आफैं राजीनामा दिएर जाउन् भन्ने मनसायमा छ,’ स्रोतले भन्यो, ‘यस्तो भयो भने पाइलटसँग ‘बन्ड’ रकम लिन पाइन्छ र उनीहरूलाई सजिलै पन्छाउन पाइन्छ । व्यवस्थापनले ग्राउन्डेड अवधि लम्ब्याउँदै लगेका कारण उनीहरूको उडान इजाजतपत्र (लाइसेन्स) को म्याद सकिन लागेको छ तर नवीकरणको कागजात उड्डयन प्राधिकरणमा अझै पठाइएको छैन ।’

चिनियाँ जहाज उडाउन पाइलटको खडेरी परेका बेला व्यवस्थापनले क्याप्टेन भट्टराई र श्रेष्ठलाई अनावश्यक आरोप लगाएर निलम्बन गरेको सम्बद्ध स्रोतले दाबी गरेको छ ।

यसबारे निगमका एक उच्च अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा ‘क्याप्टेन भट्टराई र श्रेष्ठले वाई१२–ई जहाज बिगार्न नियतवस काम गरेको र विभागीय प्रमुखमाथि अनुशासनहीन व्यवहार गरेपछि ग्राउन्डेड गरिएको’ प्रतिक्रिया दिए ।

निगमका कर्पोेरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले भने अर्को निर्णय नभएसम्म क्याप्टेन भट्टराई र श्रेष्ठलाई जहाज उडाउन नदिइने बताए । ‘दुबै क्याप्टेनमाथि विभागीय कारबाही चलिरहेको छ,’ उनले भने। 

प्रकाशित: १६ चैत्र २०७३ ०४:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App