६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

परीक्षण प्रसारणको अन्तिम तयारीमा

वीरगन्ज- भारतको सीमावर्तीसहर रक्सौलदेखि पर्साको परवानीपुरबीच १३२ केभिए विद्युत प्रसारणलाइनको निर्माणकार्य पूरा भएको छ। 'टावर निर्माण रतार तान्ने काम सकियो, भौतिक निर्माण पूरा भइसकेपछि अब परीक्षण हुँदैछ,' रक्सोल परवानीपुर १३२ केभी प्रसारणलाइन आयोजनाका प्रमुख लक्ष्मीनारायण मुखियाले नागरिकलाई भने, 'परीक्षण कार्य केही दिनभित्रै पूरा हुनेछ, अनि यस प्रसारणलाइनको प्रयोग विद्युत आपूर्तिका लागि गर्न सकिने।'

प्रसारणलाइन निर्माणपछिलोडसेडिङको मार खेपिरहेको मध्य तराईक्षेत्रको अन्धकार मेटिने भन्दै वीरगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष प्रदीप केडियाले खुसी व्यक्त गरे। निजीक्षेत्रबाट जोडतोडसाथ यो प्रसारणलाइन निर्माण चाँडै पूरा गर्न दबाब बढ्दै गएको थियो। रक्सौल–परवानीपुरबीचको साबिक ३३ केभीभन्दा चार गुणा बढी क्षमताको बनाइएको हो। करिब १७ किलोमिटर १३२ केभी नयाँ प्रसारणलाइन बनेको छ। रक्सोलस्थित बिहार सरकारको विद्युत स्टेसनबाट दसगजासम्म चार किलोमिटर लाइन भारतमा छ भने यता नेपालमा परवानीपुरस्थित १३२ केभीसबस्टेसनसम्म १३ किलोमिटर पर्दछ।

भारत सरकारले नेपालका तीनवटा नाकामा दुवै देशबीच विद्युत प्रसारणलाइन बढी क्षमताको बनाउने सहमतिअनुसार बनेको यस प्रसारणलाइनलाई अहिले भारतबाट विद्युत आयात गर्न प्रयोग गरिने छ। पछि यसैमार्फत नेपाललबाट भारतमा विद्युत बिक्री गर्ने अवधारणा अनुरुप यो प्रसारणलाइन बनेको नेपाली र भारतीय दुवै पक्षको भनाइ छ। एक हप्ताअघि गत आइतबार वीरगन्जमा आयोजित एक कार्यक्रममा बोल्दै भारतीय लोकसभा (केन्द्रीय) सांसद संजय जयसवालले विद्युत ग्रिड (प्रसारण लाइन) निर्माण योजनालाई धेरै महत्वपूर्ण रुपमा लिएको बताएका थिए।

'विद्युत ग्रिड निर्माणको विषय महत्वपूर्ण छ, अहिले त्यसमार्फत नेपालले भारतबाट ऊर्जा आयात गरिरहेको छ, पाँच वर्षभित्र नेपालले जलस्रोतबाट उत्पादित विद्युत निर्यात गर्नेछ र भारत ठूलो ग्राहक हुनेछ,' जयसवालले भनेका थिए, 'नेपालको समृद्धिको मुख्य आधार जलविद्युत रहेको छ।'उनले यसप्रसारणलाइनले दुई देशको सम्बन्धलाई ऊर्जा प्रदान गर्ने पनि बताएका थिए। पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले यो प्रसारणलाइन निर्माण पूरा भएकोमा खुसियाली व्यक्त गरे। 'नेपालका लागि यो महत्वपूर्ण भएको र स्थानीय स्तरबाट पनि चासो व्यक्त हुँदै आएकाले यसलाई महत्वपूर्ण मानिएको छ,' घिमिरेले भने।

२०६९ असोज २४ मा भारतीय विदेश मन्त्रालयले यसको टेन्डर प्रक्रिया पूरा गरिसकेर पनि स्थानीय कारण र समन्वय अभावले योजना सुस्त थियो। नेपालतर्फ प्रसारणलाइनको लागि टावर हाल्न दुई ठाउँमा जग्गा प्राप्ति समयमा हुन नसकेर अल्मलिएको काम त्यो समस्या सल्टिएपछि गति लिएको थियो। रक्सोल–परवानीपुर प्रसारणलाइनमार्फत भारतबाट आयात हुने विद्युत यस क्षेत्रका लागि उपयोगी मात्र नभई राष्ट्रिय प्रसारण लाइनसँग जोडेर अन्यत्र पनि उपयोग गर्न सकिने छ। अहिलेलाई भने यस क्षेत्रको स्थानीय आवश्यकता पूरा गर्न यसमार्फत आयातित विद्युतको उपयोग गर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले बताए।

प्रकाशित: ८ फाल्गुन २०७३ ०४:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App