१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

नयाँ चिनियाँ जहाज वायु सेवा निगमलार्इ हस्तान्तरण

फाइल तस्बिर

काठमाडौं– चीनले नेपाल वायुसेवा निगमलाई नयाँ दुई थान चिनियाँ जहाज औपचारिक रूपमा हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित निगमको ‘ह्यांगर’ मा आयोजित कार्यक्रममा बुधबार जहाज हस्तान्तरण गरिएको हो ।

निगमका अनुसार नयाँ एमए–६० जहाजको कलसाइन ‘९एन–एकेआर’ हो भने वाई१२–ईको कलसाइन ‘९एन–एकेटी’ रहेको छ । यी जहाज थपिएपछि अब दुई/दुईथान एमए–६० र वाई१२–ई भएका छन् । अब चार जहाजबाट सातामा ७० आन्तरिक उडान गर्ने योजना बनाइएको छ ।

निगमले माघ १३ गते ५६ सिट क्षमतायुक्त ‘मोडर्न आर्क’ (एमए–६०) सिरिजको एकथान र माघ १९ मा १७ सिटे ‘वाई१२–ई’ सिरिजको एकथान जहाज काठमाडौं ल्याएको थियो । दुवै जहाजका निर्माता फरक भए पनि छाता कम्पनी एभिक होल्डिङ्स हो । दुवै जहाज चीनको सहुलियतपूर्ण ऋणमा खरिद गरिएका हुन् ।

एभिकका उपाध्यक्ष कोउ चियाङ चाले वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई दुइटै जहाज हस्तान्तरण गरेका थिए । त्यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही, निगम महाप्रबन्धक कंसाकार, एभिक उपाध्यक्ष कोउ र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्त रूपमा रिबन काटेर जहाजलाई औपचारिक नेपाल प्रवेश गराएको जनाउ दिएका थिए ।

त्यसपछि मन्तव्य दिनेक्रममा पर्यटन मन्त्री शाहीले चिनियाँ जहाजबारे विगतमा विवाद भए पनि अब निगमले जहाज उडाएर आन्तरिक बजार कब्जा गर्नुपर्ने बताए । ‘चिनियाँ जहाज उडाएर निगम डुब्छ भन्नु गलत हो,’ उनले भने, ‘बरु सही व्यवस्थापन भएन भने चाहिँ निगम डुब्छ नकि चिनियाँ जहाज उडाएर ।’

चिनियाँ जहाजलाई आवश्यक जगेडा पुर्जा, पाइलट, इन्जिनियर, प्राविधिक, बिमालगायत विषयमा पहिले समस्या हुँदा बाँकी चारथान जहाज ल्याउने वा नल्याउने भन्ने विवाद थियो । तर, यसमा चिनियाँ पक्षले सुधार गर्ने प्रतिबद्धता जनाएपछि बाँकी जहाज ल्याइएको उनको भनाइ थियो ।

‘जहाज दिएपछि चीनले पाइलट, इन्जिनियरलाई तालिम तथा जगेडा पुर्जालगायत तत्काल उपलब्ध गराउन चीनजस्तो ठूलो छिमेकीले ठूलै छाती गर्नुपर्छ,’ मन्त्री शाहीले भने, ‘चीनले यति नगरे नयाँ जहाज तुरुन्त उडाउन हामीलाई समस्या पर्नसक्छ । चिनियाँ जहाज हाम्रोजस्तो भौगोलिक बनावट भएको देशलाई उपयुक्त छन् ।’

निगमका महाप्रबन्धक कंसाकारले नयाँ दुईसहित चार चिनियाँ जहाजबाट आन्तरिक बजार हिस्सा र विश्वसनियता बढ्ने बताए । पछिल्लो समय निगमलाई सम्बद्ध सबै पक्षबाट सहयोग प्राप्त भएको भन्दै उनले साना चिनियाँ जहाजलाई दुर्गम क्षेत्रमा केन्द्रित गर्ने र ठूलालाई सहरी भेगका विमानस्थलमा उडाउने जानकारी दिए ।

‘विगतमा प्राविधिक, बिमा, पाइलटलगायत विषयमा समस्या भए पनि जहाज निर्माताले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि दुईथान जहाज ल्याएका हौं,’ उनले भने, ‘अब चाँडै बाँकी दुईथान जहाज पनि ल्याउँछौं ।’

त्यसैगरी एभिक होल्डिङ्सका उपाध्यक्ष कोउले नेपाल वायुसेवा निगमलाई एमए–६० र वाई१२–ई जहाज उपलब्ध गराउन पाउँदा औधी खुुसी लागेको बताए । ‘नेपालको पर्यटन विकास र जहाज सञ्चालक निगमको आर्थिक उन्नतिमा यी जहाजले उल्लेख्य योगदान पु¥याउने विश्वास छ ।’

निगमका अनुसार नयाँ एमए–६० जहाजको कलसाइन ‘९एन–एकेआर’ हो भने वाई१२–ईको कलसाइन ‘९एन–एकेटी’ रहेको छ । यी जहाज थपिएपछि अब दुई/दुईथान एमए–६० र वाई१२–ई भएका छन् । अब चार जहाजबाट सातामा ७० आन्तरिक उडान गर्ने योजना बनाइएको छ ।

हाल एकथान एमए–६० ले प्रत्येक साता काठमाडौंबाट भद्रपुरका लागि चार तथा विराटनगर र धनगढीका लागि सात÷सात उडान गरिरहेको छ । अब नयाँ जहाजबाट भद्रपुरका लागि सातामा चार, विराटनगर १४ तथा धनगढी र नेपालगन्जका लागि सात÷सात उडान गर्ने तालिका बनाइएको छ ।

त्यसैगरी वाई१२–ई जहाजले काठमाडौंबाट पोखरा र भैरहवाका लागि सातामा १४÷१४, सिमराका लागि सातामा ७ तथा मेघौलीका लागि सातामा तीन उडान गर्ने तालिका बनाइएको छ । हाल एकथान वाई१२–ईले पोखरा र भैरहवाका लागि प्रत्येक साता ७÷७ उडान गरिरहेको छ ।    

नेपाल र चीनबीच २०७० मंसिर १३ मा ६ थान चिनियाँ जहाजका लागि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँबराबरको ऋण तथा अनुदान सम्झौता भएको थियो । त्यसमध्ये २ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान सहयोग तथा ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँ ऋण सहयोग हो । नेपालले सम्झौताअनुसार पाउने सहुलियत ऋणको वार्षिक ब्याज दर १.५ प्रतिशत छ ।

चीनको ‘एक्सपोर्ट–इम्पोर्ट’ (एक्जिम) बैंकमार्फत जहाज खरिद गर्न ऋण उपलब्ध भएको छ । यी जहाज अर्थ मन्त्रालयले डेढ प्रतिशतसम्म ब्याज दरमा निगमलाई दिएको छ । अर्थले पहिलो सात वर्षसम्म साँवा र ब्याज केही पनि तिर्नुनपर्ने ‘ग्रेस पिरियड’ दिएको छ भने आठौं वर्षबाट पन्ध्रौं वर्षसम्म सबै रकम चुक्ता गरिसक्नुपर्ने सर्त छ । सहुलियत ऋणको ६० प्रतिशत चीनलाई भुक्तानी भइसकेको छ । यो भनेको २ अर्ब २३ करोड ६८ लाख रुपैयाँ हो ।

जसअनुसार २०७१ वैशाख १४ मा एकथान एमए–६० र कात्तिक १७ मा एकथान वाई१२–ई ल्याएको थियो । एमए–६० ले असार ११ बाट र वाई१२–ईले पुस पहिलो साताबाट नियमित उडान सुरु गरेको थियो । १८ सिटे भने पनि वाई१२–ई मा १७ सिटमात्र छन् । यी दुइटै जहाज अनुदान सहयोगमा प्राप्त भएका हुन् ।

 

प्रकाशित: २६ माघ २०७३ १३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App