१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

ठमेलका डिस्को र क्लबको ‘ध्वनि प्रदूषण’ले पर्यटक सुत्न पाएनन्

ठमेलको फुलमुन क्लब नजिकैको होटलमा बास बसेका पोखराका रमेश पौडेल क्लबको होहल्लाले रातभर सुत्न सकेनन्। फुलमुन क्लबले मापदण्ड विपरीत छतमा टिनले बारेर डिस्को क्बल चलाइरहेकाले मध्यरातसम्म चर्को स्वरमा बाजा र नाचगान हुँदा सुत्न नसकेका हुन्। ‘ठमेलका क्लबहरूबाट निस्किने ध्वनि प्रदूषणले रातभर सुत्न सकिएन,’ काठमाडौं आउँदा ठमेल बस्ने गरेका पौडेलले भने, ‘होटलमा बस्दा होहल्लाले रातभर जाग्राम वस्नुपर्ने अवस्था सिर्जना भयो।’

मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य ठमेलमा स्वदेशी तथा विदेशी सबै प्रकारका पर्यटक आउने गर्छन्। पर्यटकको आकर्षण केन्द्र ठमेलमा अहिले छ्याप्छ्याप्ति खुलेका क्लब, डिस्को, डान्सबारले मापदण्ड अनुसार पूर्वाधार तयार नगरी छतमा सामान्य बेरबार गरेर डिस्को, बार चलाउँदा होहल्लाले होटलमा बस्ने पर्यटक सुत्न नपाएको गुनासो गरेका छन्।यसको प्रत्यक्ष मारमा होटल व्यवसायी र पर्यटक परेका छन्।

रातभर जाग्राम बसेर रमाइलो गर्ने युवा, तन्नेरी पर्यटक खुसी भए पनि परिवारसहित घुम्न आउने पर्यटक भने आजित बनेको होटल व्यवसायी बताउँछन्। कतिपय क्बल, डान्स बार साउण्ड प्रुफ प्रविधि जडान गरेर व्यवस्थित रूपमा सञ्चालन गरिएको भए पनि मापदण्ड विपरीत सञ्चालन गरेका डिस्को र क्लबको कारण समस्या भएको होटल व्यवसायीको गुनासो छ।

काठमाडौं इको होटलका सञ्चालक सहदेव धमलाले केही डिस्को, बार, क्लबको कारण ठमेलका होटलमा ध्वनि प्रदूषणको समस्या बढेको बताए।‘केही क्लब र डिस्को बारले साउण्ड प्रुफ नगरी सञ्चालन गर्दा होटलमा बस्ने पाहुनालाई डिस्टर्ब भयो,’ धमलाले भने, ‘होहल्लाले पर्यटकलाई असर पुगेको छ।’ प्रहरी, प्रशासनको फितलो अनुगमनले पनि समस्या भएको होटल व्यवसायीको गुनासो रहेको छ।

ध्वनि प्रदूषणको कारण पर्यटकले होटलहरूका बुकिङ धमाधम क्यान्सिल गरेको पर्यटन व्यवसायीको गुनासो छ।चर्को म्युजिकका कारण पर्यटकहरूले बुकिङ समेत क्यान्सिल गरेको काठमाडौं गेष्ट हाउसका राजेश शाक्यले बताए। ‘सरकारले मापदण्ड नतोक्दा चर्को म्युजिकका कारण १०-११ बजे सुत्न चाहने पर्यटक होटल छाडेर अन्यत्र गएका छन्,’ शाक्यले भने, ‘सबै व्यवसायलाई मापदण्ड बनाएर मर्यादामा राख्नुपर्छ।’ सरकारले मापदण्ड नबनाएका कारण समस्या सिर्जना भएको उनले बताए।

पर्यटन र होटल व्यवसायीबाट गुनासो आएपछि ठमेल पर्यटन विकास परिषदले ध्वनी प्रदुषणको समस्याको समस्या समाधानका लागि सरोकारवाला निकायसँग समन्वय र पहल सुरु गरेको जनाएको छ।

होटल व्यवसायीले ध्वनी प्रदूषण भएको गुनासो गरेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले बताए।‘साउण्ड पोलुसनले होटलमा बस्ने पाहुनालाई डिस्टर्ब भएको गुनासो आएको छ,’शर्माले भने, ‘मापदण्ड बनाएर कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर छलफलमा छौं।’ ठमेलमा सञ्चालन भएका व्यवसायलाई व्यवस्थित गर्न सबैलाई समेटेर ठमेल व्यवस्थापन समिति गठन गरिएको शर्माले बताए।‘सुरक्षा निकायलाई समेत सहभागी भएर अनुगमन गर्ने तयारी गरेका छौं,’ शर्माले भने, ‘ध्वनि प्रदूषणलाई न्यूनीकरण गर्ने विषयमा गृहकार्य भैरहेको छ।’

पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउन सरकारले २४ सै घण्टा खोल्न दिने निर्णयपछि ठमेलमा रात्रिकालीन व्यवसाय फस्टाएको छ।ठमेलमा होटल, रेस्टुरेन्ट, डान्स बार, डान्स क्लब, दोहोरी साँझ, रोधी घर, लाउन्ज बारलगायत सबै किसिमका रात्रिकालीन व्यवसायले व्यवसाय फस्टाएको भए पनि ध्वनि प्रदूषणले समस्या सिर्जना गरेको व्यवसायीको गुनासो छ।राति ९ बजेदेखि बन्द गराउँदै आएको व्यवसाय तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले २४ सै घण्टा खोल्ने निर्णय गरेका थिए।डिस्को, बार, क्लबको होहल्लामा प्रहरी प्रशासन मौन बसेको होटल व्यवसायीको आरोप छ।प्रहरीबीच आर्थिक लेनदेनले मौन बसेको आशंका छ।रातभर ठमेल खुल्ला हुँदा स्वदेशी तथा विदेशी पर्यटकले यहाँ आएर खर्च गर्दा व्यवसायीलाई ठूलो राहात पुगेको व्यवसायी बताउँछन्।एक व्यवसायले अर्को व्यवसायलाई असर नपुग्ने गरी व्यवस्थित ढंगले मापदण्ड अनुसार व्यवसाय सञ्चालन गर्नुपर्ने पर्यटन व्यवसायीको माग छ।

मुलुककै प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा उल्लेख्य रूपमा स्वदेशी तथा विदेशी पर्यटक आउँछन्।नेपाल आउने पर्यटकमध्ये करिब ८० प्रतिशत पर्यटक ठमेल पुग्ने गरेका छन्।

स्वदेशी तथा विदेशी पर्यटकले ठमेलको रात्रिकालीन मनोरन्जनबाट भरपुर आनन्द लिने गरेका छन्।स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी गजल, लाइभ ब्याण्ड, क्लब, लाउञ्ज रेष्टुराँ, डिस्को, दोहोरी साँझलगायतका व्यवसाय फस्टाएको छ।विभिन्न पेशा व्यवसाय गर्ने व्यक्तिहरू कामको थकान मेटाउन साँझमा मनोरञ्जनका लागि ठमेल जाने गरेका छन्।लाइभ म्युजिकसहितको क्लब तथा लाउन्ज रेष्टुराँमा पर्यटकको आकर्षण पनि बढ्दै गएको छ।पछिल्लो समय क्लब तथा लाउन्जबारमा लगानी गर्ने क्रम बढेको छ।

प्रकाशित: १८ वैशाख २०८० ०२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App