१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

खराब मौसमले ६ घन्टासम्म जहाज डिले

काठमाडौं-पछिल्लो एक महिनायता खराब मौसमका कारण हवाई यात्रुले विमानस्थलमा दैनिक न्यूनतम एकदेखि अधिकतम ६ घन्टासम्म जहाज उड्ला कि भन्दै कुरेर बस्नुपरेको छ।

वायुसेवा कम्पनीहरूले मौसम खराब भएर तोकिएको समयमा उडान गर्न नसकी ‘डिले’ हुनु स्वाभाविक बताए पनि यात्रु भने वायुसेवाले अग्रिम जानकारी नदिएर थप समस्या भइरहेको बताउँछन्।

केही दिनअघि विराटनगरबाट काठमाडौं आउन विराटनगर विमानस्थल पुगेका स्थानीय एक व्यापारीले ६ घन्टा कुरेपछि बल्ल उड्न पाएको दुःखेसो पोखे । ‘मौसमकै कारण जहाज डिले भएको मैले मानेँ तर ६÷६ घन्टा विमानस्थलमा कुर्नुपर्दाको सास्ती अनि समयको बर्बादीको हिसाब खोइ ?,’ आफ्नो नाम उल्लेख नगर्ने सर्तमा उनले मंगलबार नागरिकसँग भने, ‘त्यति लामो समय वायुसेवा कम्पनीले यात्रुलाई पेय वा खाना केही पनि दिएन ।’

६ घन्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिंदा राति साढे ७ बजेको उनले बताए । त्यसपछि ट्याक्सीमा न्युरोडसम्म आउँदा ८ सय रुपैयाँ भाडा तिर्नुपरेको उनको भनाइ छ । ‘धेरै लामो समय जहाज डिले भएर सम्बद्ध विमानस्थल ओर्लिएपछि वायुसेवा कम्पनीले नै यात्रुलाई गन्तव्य पु¥याउने व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘त्यसबाहेक जहाज डिले भएपछि वायुसेवाले यात्रुलाई अग्रिम जानकारी दिने व्यवस्था पनि गर्नुपर्छ ।’

यता वायुसेवा कम्पनी भने मौसम खराबी कारण जहाज उडान समय डिले हुनुलाई नौलो मान्दैनन् । ‘कुन विमानस्थलको मौसम कतिखेर सफा हुन्छ र कतिखेर खराब हुन्छ भन्ने पहिल्यै थाहा हुँदैन,’ बुद्ध एयरका वरिष्ठ कार्यकारी प्रबन्धक रुपेश जोशीले भने, ‘तत्काल थाहा हुने भए यात्रुलाई दुःख दिने कुरै हुँदैन । उडानै रद्द ग¥यो भने यात्रुलाई नै थप सास्ती हुन्छ भनेर केही समय कुरेरै भए पनि मौसम खुलेपछि जहाज उडाउने गरेका छौं ।’

उनका अनुसार पुसदेखि माघसम्म लगभग दुई महिना तराई क्षेत्रका विमानस्थलमा हस्सुका कारण उडान–अवतरणमा कठिनाइ हुने गर्छ । मंगलबार विराटनगर विमानस्थलको मौसम दिउँसो साढे ३ बजेसम्म खराब भएका कारण उडान हुन सकेको थिएन । त्यस्तै सिमरा विमानस्थलमा कुनै पनि उडान हुन सकेनन् ।

‘यतिविधि मौसम खराब भएपछि हामीले जबर्जस्ती जहाज उडाउन मिल्दैन,’ जोशीले भने, ‘अनि बाध्य भएर मौसम खुल्ने पर्खाइमा बस्नुपर्छ । जब मौसम खुल्छ, त्यसपछि बल्ल उडान गर्ने हो । अनि बिहानदेखिको उडानचाप विस्तारै धकेलिँदै दिउँसो र रातिसम्म पुग्ने गर्छ ।’

जहाज डिले हुँदा ‘एसएमएस’ मार्फत अग्रिम जानकारी दिइएन भन्ने यात्रुको गुनासाप्रति उनले त्यस्तो व्यवस्था गरे झन् समस्या आउने बताए । ‘जहाज १ घन्टा वा दुई घन्टा डिले भयो भनेर यात्रुलाई एसएमएस पठाउनु ठूलो कुरो होइन,’ उनले भने, ‘तर, १५ मिनेट वा तुरुन्तै मौसम खुलेर जहाज उडाउनुप¥यो भने यात्रुलाई खोज्न कहाँ जाने ?’

अर्को वायुसेवा यती एयरलाइन्सको भनाइ पनि यस्तै छ । यतीका बजार प्रबन्धक भीमराज राईले खराब मौसमका कारण जहाज डिले हुँदा यात्रुलाई मात्र नभई वायुसेवालाई पनि समस्या परेको बताए । यतीले मंगलबार विराटनगरका दुई र जनकपुरको एक उडान खराब मौसमकै कारण रद्द गरेको थियो ।

‘यात्रु विमानस्थल आइसकेपछि उनीहरूलाई दुई÷चार घन्टै कुरेरै भए पनि गन्तव्य पु¥याउनुपर्छ भन्ने हाम्रो चाहना हुन्छ,’ उनले भने, ‘बिहान मौसम खराब भयो भने त्यसको चाप दिउँसोको उडानमा पर्छ र डिले हुने गर्छ ।’

यतीका उडान डिले भए÷नभएको जानकारी आन्तरिक टर्मिनल भवनको ‘डिस्प्ले’ बोर्डमा देखाउने गरिएको र प्रस्थान कक्षमा पनि बुझ्न सकिने उनले बताए । यतीका उडान न्यूनतम एक घन्टा डिले भए भने यात्रुलाई विमानस्थलमा निःशुल्क चिया÷कफीको व्यवस्था गरिएको पनि राईले जानकारी दिए । यता बुद्धले पनि एक घन्टाभन्दा बढी समय जहाज डिले भए यात्रुलाई चिया÷कफीको व्यवस्था गरेको जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले खराब मौसममा उडान–अवतरण गर्न कठिन हुने बताए । जस्तो मौसममा पनि जहाज उड्न र बस्न सक्छ भन्ने सर्वसाधारणको बुझाइ गलत रहेको उनको भनाइ छ ।

उनका अनुसार ‘भिजुल फ्लाइट रुल’ (भिएफआर) र ‘इन्स्ट्रुमेन्टल फ्लाइट रुल’ (आइएफआर) दुई किसिमबाट उडान–अवतरण हुने नियम छ । मौसम खराब भएका बेला भिएफआर उडान–अवतरण गर्न नसके आइएफआर उडान गर्न सकिन्छ तर यसका लागि काठमाडौं विमानस्थलमा २ हजार ८ सय मिटर दृश्यांश (भिजिबिलिटी) हुनुपर्छ भने अन्य विमानस्थलमा न्यूनतम २ हजारदेखि २ हजार ५ सय मिटर भिजिबिलिटी हुनुपर्छ । भिएफआर उडानका लागि न्यूनतम ५ हजार मिटर भिजिबिलिटी चाहिन्छ ।

काठमाडौंबाहेक विराटनगर, सिमरा, भैरहवा र नेपालगन्ज विमानस्थलमा आइएफआर उडान गर्न मिल्ने सुविधा रहेको उनले जानकारी दिए।

 

 

प्रकाशित: १९ माघ २०७३ ०४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App