१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

सेयर बजारमा पहिरो

काठमाडौं- बजारमा लगानीयोग्य पुँजीको अभाव, बढ्दो ब्याजदर, तथा मार्जिन कलले गर्दा लगानीकर्ताले घटेरै भए पनि सेयर विक्री गर्न थाल्दा बजार सोमबार एकै दिन ६५.४४ बिन्दुले ओर्लिएको छ। अघिल्लो साताभर करीब ९० अंकले घटेको नेप्से परिसूचकमा यो हप्ता पनि सुधार आउने संकेत देखिएको छैन। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सबै उपसूचकहरु घटेका छन्।

सोमबार बैकिङ, होटल, जलविद्युत, विकास बैंक, वित्त कम्पनी र उत्पादन सबै क्षेत्रका कम्पनीको सेयर मूल्य घटेको छ। यसमा पनि बिमाको मूल्यमा भारी गिरावट आएपछि यसको असर बजारमा परेको हो। बिमाको सेयर मूल्य ८.७ प्रतिशत घटेको छ।

सोमबार बिमा समूहको सूचक ५४६.५५ बिन्दुले घटेको छ भने बैंकिङ समूह ६०.५५ अंकले ओरालो लागेको छ। नेप्सेको 'क' वर्गको कम्पनीहरुको सूचक सेन्सेटिभ इन्डेक्स पनि १४.४१ अंकले घटेको छ।

नेप्सेका अनुसार सोमबार १२३ कम्पनीको ११ लाख २६ हजार कित्ता सेयर ५३ करोड ६६ लाख रुपैयाँमा खरिद–बिक्री भएका छन्।

साउन १२ गते १८८१ अंकसम्म पुगेको सेयर बजार त्यसयता सोमबारसम्ममा ५७१ अंक घटिसकेको छ। साउनयता लगानीकर्ताले बजारमा धेरै गुमाएका छन्।

सेयर बजारमा घट्दो अवस्था (बियरिस ट्रेन्ड) सुरु भएको हो वा बजार 'क्र्यास'नै हुन लागेको हो भन्ने हल्लाबीच सोमबार लगानीकर्ताले धमाधम सेयर बेच्न थालेपछि बजार एकै दिन करिब ५ प्रतिशत घटेेको हो।

बैंकिङ प्रणाली एक रुपैयाँ पनि कर्जा दिन नसक्ने अवस्थामा पुगेकोले बजार घटेको धेरै लगानीकर्ताको ठम्याइ छ। हरेक वर्ष यो सिजनमा सेयर घट्ने गरे पनि हाल बैंकमा भएको लगानीयोग्य पुँजी अभाव, बढ्दो ब्याजदर तथा मार्जिन कलले गर्दा बजार ओरालो लागेको हो।

तर, सोमबार नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक २ करोड ९० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ भने नेपाल बंगलादेश बैंकको २ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ। घट्दो बजारमा पनि सोमबार कमाउनेमा ५ वटा कम्पनी छन्। अरुण फाइनान्सका लगानीकर्ताले ५.५ प्रतिशत कमाएका छन् भने ओरियन्टल होटलका लगानीकर्ताले झन्डै २ प्रतिशत कमाएका छन्।

तर, प्रुडेन्सियल इन्स्योरेन्स, मुक्तिनाथ बिकास बैंक, हिमालयन जनरल इन्स्योरेन्स लगायत २९ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन्।

बैंकहरुको ब्याज उक्लन थालेसँगै घट्न थालेको लागानीकर्ताको मनोबल अझै बढ्न सकेको छैन। बिमा कम्पनीले नगद लाभांश दिन पाउने व्यवस्था भएपछि पनि सेयर बजार सोमबार ओर्लेको लगानीकर्ताको बुझाइ छ। उनीहरुका अनुसार बिमा समितिले बिमा कम्पनीले नगद लाभांश वितरण गर्न पाउने व्यवस्था गरेपछि यसको असर बिमाको सेयरमा परेको हो।

गत साउन १ गते ऐतिहासिक उचाइ भेटेको नेप्सेले सात महिना पूरा नहुँदै लगभग ६ सय अंक गुमाएको छ। १८८७ सम्म पुगेको नेप्से अहिले घटेर १३०९ बिन्दुमा आइपुगेको छ।

प्रकाशित: १८ माघ २०७३ ०५:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App