चौतारा– जुरे पहिरो, भूकम्प, नाकाबन्दी र बाढीले क्षति पुयाई करिब तीन वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी गाविसस्थित ३.१ मेगावाट क्षमताको भैरवकुण्ड जलविद्युत् आयोजनाबाट व्यापारिक उत्पादन सुरु भएको छ।
आयोजनाले बिहीबारदेखि व्यापारिक उत्पादन सुरु गरेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलले जानकारी दिए। रु. १० करोडको लागतमा मर्मत गरिएको उक्त आयोजनाले गत पुस २९ गतेदेखि परीक्षण उत्पादन थालेको थियो।
हाल एक मेगावाट विद्युत् मात्र उत्पादन भएको र त्यहाँ उत्पादित विद्युत् लामोसाँघु सव–स्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ।
भूकम्प र बाढीले क्षति पुर्याएको ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोसी जलविद्युत् आयोजना अझै सञ्चालनमा आउन सकेको छैन। सो आयोजना आगामी असार–साउनमा मर्मत गरिने र दुई वर्षभित्र विद्युत् उत्पादन हुने बताइएको छ। त्यसैगरी भूकम्पको कारण क्षतिग्रस्त ४.२ मेगावाटको बराम्ची साना जलविद्युत् आयोजना पनि मर्मतकै क्रममा रहेको छ। रासस
प्रकाशित: १४ माघ २०७३ १३:३८ शुक्रबार