२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

पर्यटक लोभ्याउन सन्दकपुर महोत्सव (तस्वीरहरु)

सातखाल्डे खेलमैदान सजाएर चिरिच्याट्ट पारिएको छ । स्थानीय विशेषता झल्काउने वस्तुको पृष्ठभूमिमा ‘सन्दकपुर’ लेखिएको स्तम्भ मैदानको बीचभागमा ठड्याइएको छ।  

परिपरि विभिन्न जातजातिका झाँकी झुम्मिएका देखिन्छन्। अगाडिपट्टि ढाकाटोपी र दौरा–सुरुवाल लगाएका एक हुल मानिस ब्राह्मण–क्षेत्री समुदायको लोपोन्मुख बालन गाउँदैछन् । एकैछिनमा सुनुवार, शेर्पा, राई, लिम्बूलगायत जातजातिका सांस्कृतिक झाँकी प्रस्तुत हुन्छन्। मैदानमा सहभागी सयौं स्थानीय र पाहुनाले उनीहरूको स्वागत गर्छन्।  

पर्यटकीयस्थलले भरिपूर्ण इलामको सन्दकपुर गाउँपालिकामा ‘प्रथम सन्दकपुर पर्यटन महोत्सव’ सुरु भएको छ। महोत्सवका लागि पालिकाका विभिन्न पर्यटकीयस्थल झकिझकाउ पारिएका छन्। रंगीचंगी स्टलमा गाउँघरमै उत्पादित किबी, चिज, जडीबुटी, ललीपप र दूधका अरू परिकार राखिएका छन्। २ हजार १ सय मिटर उचाईको पहाडमा पनि युवा साइकलमा हुइँकिँदैछन्।  

‘एकीकृत पर्यटनको प्रवद्र्धन र विकास, समृद्ध राष्ट्रनिर्माणको सघन निकास’ नारासाथ ६ दिने महोत्सव सुरु भएको आयोजक मूल समारोह समिति सचिव रुपेन्द्र नेम्बाङले बताए। आउँदो ११ गतेसम्म चल्ने महोत्सवको उद्घाटन कोसी प्रदेश प्रमुख पर्शुराम खापुङले गरेका छन्।  

महोत्सवपछि  ग्रामीण पर्यटनले गति दिने आशा स्थानीयको छ । ‘स्थानीय पर्यटकीयस्थलको प्रचार नै महोत्सवको मुख्य लक्ष्य हो,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले भने, ‘महोत्सवका माध्यमबाट स्थानीय कृषिउपजको बजारीकरणमा समेत सहयोग पुग्छ।’

सन्दकपुर गाउँपालिका पर्यटकीय क्षेत्रले भरिभराउ छ। जिल्लाकै अग्लो डाँडो सन्दकपुर (३ हजार ६ सय ३६ मिटर उचाई), रामसार क्षेत्र माइपोखरीसहित छिन्टापु, मेची क्षेत्रकै अग्लो टोड्के झरनालगायत पर्यटकीयस्थल यही गाउँपालिकामा छन्। महोत्सवको मुख्य आकर्षणका रूपमा इलाम–माइपोखरी म्याराथुन, ल्यान्डरोभर सफारी, सन्दकपुर गोल्डकप, उच्च पहाडी क्षेत्रमा साइक्लिङ प्रतियोगिता, स्थानीय खानाका परिकार, कलाकारहरूको प्रस्तुतिलगायत राखिएका छन्। गुरुङ, राई, शेर्पा, सुनुवार, ब्राह्मण–क्षेत्रीलगायत जातजातिको बसोबास रहेको यो क्षेत्रमा आयोजित महोत्सवमा स्थानीय सांस्कृतिक झाँकी, याक, भोटे कुकुर तथा पर्यटकीयस्थलको भिडियो प्रदर्शनीसमेत राखिएको समितिले जनाएको छ।

भारतको बाटो भएर बर्सेनि सयौं पर्यटक आइपुग्ने भारतीय सीमा क्षेत्रको सन्दकपुर डाँडामा आन्तरिक पर्यटकको समेत सधैं घुइँचो लाग्ने गरेको छ। सन्दकपुरमा घाम झुल्किनुअघि नै कञ्चनजंघा, कुम्भकर्णजस्ता हिमाल पहेंलपुर देखिन्छन्। सगरमाथासहित नेपाल–भारत र भुटानका दर्जनौं हिमशृंखलाको मनमोहक दृश्यमा पर्यटक लोभिन्छन्।  

जडीबुटी, वन्यजन्तु र जैविक विविधतालगायत अवलोकन गर्न र प्राकृतिक सौन्दर्यमा रमाउन सन्दकपुर आएका पर्यटकको संख्या सधैं बाक्लो हुन्छ। त्यसभन्दा मुनिको क्षेत्रमा विश्वकै लोपोन्मुख जनावर रेडपान्डासहित काँडेभ्याकुर, बँदेल, घोरल, डाँफे, मुनाल, भालु र कस्तुरी पाइन्छन् । चिराइतो, लौठसल्ला, ओखेआलु र सतुवाको समेत व्यावसायिक खेती गरिएको छ। 

 

माइपोखरी पनि यसै गाउँपालिकाको महत्वपूर्ण र आकर्षक धार्मिक पर्यटकीय क्षेत्र हो। जैविक महत्वले पनि माइपोखरी संवेदनशील मानिन्छ। हिउँद या बर्खा, माइपोखरीमा पर्यटक धुरइरिन्छन्। शनिबार र मंगलबार पर्यटक अधिक आउने माइपोखरी अरूबेला पनि आगन्तुकले खाली हुँदैन । चैत लागेर वरपर ढकमक्क गुराँस फुलेपछि माइपोखरीले पर्यटक तान्छ। हिन्दू, बौद्ध, किरातलगायत धर्मका धर्मावलम्बी माइपोखरीलाई उत्तिकै आस्थाको केन्द्र मान्छन्। माइपोखरी विश्व संरक्षण सूची ‘रामसार’मा समेत सूचीकृत छ।  

३ हजार २ सय मिटर उचाइको छिन्टापु डाँडो सन्दकपुरमा पर्यटक आकर्षित गर्ने अर्काे गन्तव्य हो। माइपाखेरी, देउराली, टप्पु, खप्परे, ढुङ्गेपानी, गुराँसे हुँदै छिन्टापुसम्म यात्रा गर्न सकिन्छ। यो क्षेत्रमा लोपोन्मुख वन्यजन्तु रेडपान्डा, भिरमौरी, झारल, पुतली र सयौं प्रजातिका चराको बासस्थान छ। छिन्टापु क्षेत्रमा इलामकै सबैभन्दा धेरै सिमसार र पोखरी छन् । यो क्षेत्रमा ३६ प्रजातिका गुराँस पाइने अध्ययनकर्ताले जनाएका छन्।

टोड्के झरना यहाँको अर्काे आकर्षण हो। झरनाको दृष्य मनमोहक हुने भएकाले बर्सेनि यहाँ सयौं पर्यटक आइपुुग्छन्। २ सय ८० फिट उचाईको यो झरना हेर्न देश–विदेशका पर्यटक आउनेगरेको स्थानीयको भनाइ छ। यीबाहेक पनि सन्दकपुरमा दर्जनौं पर्यटकीयस्थल छन्। ‘हिउँद–बर्खा जहिले पनि पर्यटक आकर्षित गर्ने सन्दकपुरको ग्रामीण पर्यटनलाई गति दिन महोत्सव कोसेढुंगा हुने आशा गरेका छौं,’ पालिका उपाध्यक्ष हरि लुंगेलीले भने।  

 

प्रकाशित: ६ वैशाख २०८० ०८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App