२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
अर्थ

मौरीपालनमा मोह

पाल्पा रामपुरका जयनारायण न्यौपानेको समय बुढ्यौलीमा पनि मौरीको हेरचाह र मह उत्पादनमा बित्ने गरेको छ।

रामपुर नगरपालिका-६ स्थित किसानटोलमा मौरी उद्योग सञ्चालन गर्दै आएका न्यौपाने पाल्पाकै नमूना र सफल मौरीपालन व्यवसायी हुन्। घर वरिपरिका फलफूलसहितको मौरीघारले भरिएको बगैंचामा दिनभर मौरीको रेखदेख, हेरचाहमै रमाउने न्यौपाने यस क्षेत्रकै मौरीपालन व्यवसायमा अब्बल कृषकका रूपमा कहलिएका छन्।

उनको घरमा हाल मौरीगोलासहित चालिस घार छन्। आफ्नै करिब चार रोपनी क्षेत्रफलमा बगैँचासहितको मौरीपालन गरिरहेएका छन्। आजभन्दा साढे दुई दशक अघिदेखि सुरु गरेको व्यवसाय अहिलेसम्म निरन्तर रूपमा अगाडि बढाइरहेएका छन्।

‘मौरीपालनमा लागेपछि समय बिताउन समस्या छैन, बुढ्यौलीमा घर वरपरका बगैँचामा मौरीपालन गरेर आम्दानी मात्र नभई घरमा यससम्बन्धी ज्ञान सीप सिक्न आउनेलाई प्रविधि सिकाउने गरिरहेको छु’, उनले भने।

गोलासहितको मौरीघार नौ हजार रुपैयाँ, खालीघार पाँच हजार रुपैयाँमा बिक्री भइरहेको छ। यहाँ उत्पादन भएको मह प्रतिकिलो एक हजार एक सय रुपैयाँमा बिक्री हुने गरेको छ। एक वर्षमा करिब एक सय मौरीघार बिक्री भइरहेको छ। एक घारमा वर्षमा तीन पटक मह उत्पादन हुने गर्दछ। वार्षिक करिब डेढ क्वीन्टल मह उत्पादन हुने गरेको न्यौपाने बताउँछन्।

एउटा घारमा एक वर्षमा १८ किलोसम्म मह उत्पादन लिएको उनको भनाइ छ। आफूले सक्दासम्म व्यवसायलाई निरन्तर चलाउने उनको अठोट छ। मौरीघार (खालीघार), गोलासहित र मह बिक्री गरेर उनले एक वर्षमा छ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

उनी भन्छन्,‘लगानी धेरै गर्न नपर्ने, सानो लगानीबाट धेरै आम्दानी लिन सकिने, पशुपालनलाई झैं आहार व्यवस्थान गर्न नपर्ने भएपछि मौरीपालनबाट धेरै फाइदा लिन सकिन्छ, स्वास्थ्यका लागि पनि हितकारी हुने भएपछि यो व्यवसाय आनन्दको छ।’

उनले २०५५ सालदेखि व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन्। घरमा परम्परागत ९मुढेघार० १५/२० घारमा बाउबाजेले मौरीपालन गरेको देखेपछि व्यावसायिक रूपमा नै उनले आधुनिक घारबाट अगाडि बढाएका छन्। उनले भारतीय सेनाको जागिर बीचमै छाडेर गाउँ फर्केर मौरीपालनलाई व्यावसायिक रूपमा सुरु गरेका हुन्।

स्वास्थ्यका लागि मह अति राम्रो हुने भएकाले पछिल्लो समय बजारमा माग बढ्दो रहेका र मह निकालेपछि झट्ट बिक्री नभए पनि अन्य कृषि उपजझै बिग्रियो भन्न नपर्ने भएकाले यसबाट कृषकले व्यावसायिक रूपमा मौरीपालनबाट धेरै लाभ लिन सक्ने उनका छोरा हुमनाथ न्यौपाने बताउँछन्।

‘महका लागि अहिले विभिन्न ठाउँबाट माग आइरहेको छ, मह औषधिको रूपमा, पूजाआजामा प्रयोग गरिने भएकाले बजार राम्रै छ, स्थानीय स्तरमा भन्दा बाहिर धेरै खपत भइरहेको छ’, उनले भने।

उनका अनुसार मंसिर, फागुन र साउनमा मह निकाल्ने गरिन्छ। स्थानीय उत्पादन भएकाले यहाँ उत्पादित मह अस्ट्रेलिया, जापानमा कोसेलीको रूपमा पुगेको छ।

रामपुर ६ कै ज्येष्ठ नागरिक टिकाराम पाठक पनि मौरीपालनमै रमाइरहेका छन्। मौरी उनका लागि बुढेसकालको सहारा जस्तै बनेको छ। उनका घरमा हाल १६ आधुनिक मौरीका घार छन्। उनले २०६६ देखि नियमित रूपमा मौरीपालन व्यावसाय गरिरहेका छन्। पाठकले घार बढाउँदै गएका छन्।

‘मौरीको वर्गीकरण, रानी मौरी पहिचान, गोला निरीक्षण, गोला विभाजन लगायत प्रविधि सिकेपछि व्यवसायमा सजिलो भएको छ, मौरीपालनमा मह काढ्ने तरिका, गोला विभाजन लगायतका प्रविधिमा पोख्त बन्नुपर्छ, सानो प्रविधि जानिएन भने व्यवसायीकरणमा समस्या हुन्छ’, उनले भने।

कृषि ज्ञान केन्द्र पाल्पाले मौरीपालनलाई व्यवसायीकरण गर्न विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम गरिरहेको कार्यालयका प्रमुख कामना अधिकारी बताउँछिन्।

मौरी प्रवर्द्धनलाई विगतका वर्षदेखि कार्यालयले विभिन्न कार्यक्रम गरिरहेको र यस वर्ष कृषकको क्षमता वृद्धिको लागि विभिन्न तालिम, सेरेना मौरी वंश सुधारका लागि पूर्वी रुकुम र जुम्लाबाट रानो ल्याएर मौरी संरक्षण गर्ने कार्यक्रम रहेको प्रमुख अधिकारीले बताइन्। उनका अनुसार पूर्वी रुकुमबाट रानो ल्याइसकेको र जुम्लाबाट ल्याउने तयारी भइरहेको छ।

‘स्थलगत प्रविधि सिकाउन थालेपछि मौरीपालनमा कृषकको आकर्षण बढेको छ’, उनले भनिन्, ‘व्यवसाय गर्न इच्छुकलाई प्रविधि, मौरीपालनका लागि आवश्यक पर्ने विभिन्न उपकरण तथा सामग्री कार्यालयले आवश्यकताको आधारमा सहयोग गरिरहेको छ। रासस

प्रकाशित: २ वैशाख २०८० ०४:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App