१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

२ अर्ब २० करोडको खोटो निर्यात

काठमाडौं- देशबाट खोटो र यसबाट बन्ने तेलको निर्यात बढ्दै गएको छ। देशका विभिन्न जिल्लामा सल्लाको रुखबाट संकलन गरिने खोटो छिमेकी देशमा निर्यात हुँदै आएको छ।

गत आर्थिक वर्षमा खोटो र यसबाट बनेको तारपिन तेल गरी जम्मा २ अर्ब २१ करोड ७० लाख १५ हजार रुपैयाँको निर्यात भएको छ। उक्त परिमाणको खोटो भारत र पाकिस्तानमा निर्यात भएको हो। 'देशबाट खोटो निर्यातको तथ्यांक बढ्दो क्रममा देखिन्छ,' केन्द्रका वरिष्ट अधिकृत कृष्णराज बजगाईंले भने, 'केही वर्षअघि करोडमा निर्यात हुने खोटो अहिले अर्बभन्दा माथि पुगिसकेको छ।'

केन्द्रको तथ्यांक अनुसार गत वर्ष देशबाट १ अर्ब ७० करोड ३० लाख ६४ हजार रुपैयाँको खोटो र ५१ करोड ३९ लाख ५० हजारको तारपिन तेल र कच्चा पदार्थ निर्यात भएको छ। जम्मा १ करोड ३४ लाख ७५ हजार ४ सय ४७ किलो निर्यात भएकोमध्ये पाकिस्तानमा ३ हजार ६ सय किलो मात्र निर्यात भएको छ। आर्थिक वर्ष ०६९/७० मा चीनमा पनि खोटो निर्यात भए पनि त्यसपछि भएको छैन।

खोटो निर्यात हरेक वर्ष बढ्दै गएको छ। आर्थिक वर्ष ०६८/६९ मा जम्मा ८७ करोड ९२ लाख ४५ हजार रुपैयाँको खोटो भारतमा मात्र निकासी भएकोमा आर्थिक वर्ष ०६९/७० मा निर्यात बढेर १ अर्ब ३३ करोड १७ लाख ५८ हजार रुपैयाँ पुगेको तथ्यांकमा उल्लेख छ। यस वर्ष अधिकांश भारत निर्यात भए पनि सानो परिमाण चीनतिर पनि गएको छ।

आर्थिक वर्ष ०७०/७१ मा खोटो निर्यात गर्ने देशमा पाकिस्तान थपिएको छ। यस वर्ष जम्मा १० करोड रुपैयाँ बढी निकासी थपिएर जम्मा १ अर्ब ४३ करोड ७४ लाखभन्दा धेरैको खोटो भारत र पाकिस्तान गएको छ। पाकिस्तानमा २ करोड ३२ लाख मात्रको निकासी भएको देखिन्छ।

आर्थिक वर्ष ०७१/७२ मा निर्यात बढेर १ अर्ब ७७ करोड ७६ लाख ८६ हजार रुपैयाँ पुगेको छ। पाकिस्तानमा जम्मा ३८ लाख रुपैयाँको बाहेक सबै भारत निकासी भएको छ। गत आर्थिक वर्षमा भने झन्डै ७ करोडको खोटो निकासी कम भएको छ। गत वर्षको भूकम्प र भारतीय नाकाबन्दीका कारण अरु व्यवसाय जस्तै खोटो निकासी पनि घटेको छ।

विभिन्न किसिमका रङ, साबुन, कागज बनाउन र रासायनिक उद्योगहरूले खोटो प्रयोग गर्छन्। नेपालमा खोटो संकलन गर्ने थुप्रै व्यवसायी र उद्योग छन्। उनीहरू देशमा विभन्नि जिल्लाका वनमा सल्लाको रुखबाट खोटो संकलन गरी त्यसलाई प्रशोधन गरेर निर्यात गर्छन्।

खोटो संकलनको एक अध्ययन अनुसार १५ औं सताब्दीमै अमेरिकाबाट यो व्यवसाय सुरु भएको थियो। त्यो बेला चर्केको डुंगा टाल्न खोटो प्रयोग गरिन्थ्यो। भारतमा सन् १८९६ मा सुरु भइसकेको खोटो संकलन नेपालमा भने सन् १९७३ मा लक्ष्मी खोटो संकलन उद्योग भनेर पश्चिम नेपालमा सुरु भएको अध्ययनमा उल्लेख छ। यसले प्रशोधन नगरी भारतमा खोटो निकासी गर्थ्यो। सन् १९८६ पछि नेपाल सरकारले नेपाल रोजिन एन्ड टर्पेन्टाइन उद्योग कैलाली जिल्लामा स्थापना गरेको थियो।

हाल नेपालमा साना ठूला गरी दर्जनौं खोटो संकलन उद्योगले अधिकांश जिल्लामा खोटो संकलन गरिरहका छन्। नेपालको नेपालगन्ज, कैलाली, कपिलवस्तु, झापा लगायत ठाउँमा धेरै खोटो प्रशोधन उद्योग छन्। पूर्वदेखि पश्चिमसम्मका जिल्लामा खोटो संकलन गरिन्छ। अमेरिका र चीन तारपिन तेल सबैभन्दा धेरै उत्पादन गर्ने र उपभोग गर्ने देशमा पर्छन्।

गत आर्थिक वर्षमा ५१ करोड ३९ लाख ५० हजारको तारपिन तेल र कच्चा पदार्थ निर्यात भएको छ। दुई शीर्षकमा तारपिन तेल र कच्चा पदार्थ भारतमा निर्यात भइरहेको छ। 'गम, वुड अर सल्फेट टर्पेन्टाइन वल' शीर्षकमा जम्मा २४ करोड ७३ लाख २२ हजार र 'त्रु्कड, सल्फेट टर्पेन्टाइन' शीर्षकमा २६ करोड ६६ लाख २७ हजार रुपैयाँको निर्यात भएको छ।

प्रकाशित: ३० मंसिर २०७३ ०४:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App