१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

साढे ५ अर्बको विद्युतीय सवारी साधन आयात

चालु आर्थिक वर्षको आठ महिनामा २२ सय वटा विद्युतीय सवारी साधन नेपालमा आयात भएका छन्। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ८ महिनामा मात्रै चार पाङ्ग्रे २१ सय ९८ वटा विद्युतीय सवारी साधन भित्रिएका हुन्। विभागका अनुसार चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा ५ अर्ब ४८ करोड २७ लाख ७२ हजार रूपैयाँका ९ वटा मोडेल तथा क्षमताका सवारी साधन आयात भएका छन्। विभागले जनाए अनुसार चार अर्ब ९२ करोड रूपैयाँ बराबरको १७ सय ४९ वटा चार पाङ्ग्रे सवारी साधन भित्रिएका थिए। माघ र फागुन महिनामा मात्रै ५६ करोड २७ लाख रूपैयाँ बराबरको ४ सय ४९ वटा विद्युतीय सवारी साधन आयात भएका थिए।

विभागले एक सय किलोवाट क्षमताका २१ सय ३९ वटा विद्युतीय सवारी साधन विभिन्न मुलुकबाट आयात गरिएको जनाएको छ। चीनबाट एक सय किलोवाट क्षमताका ३३३ वटा चार पाङग्रे विद्युतीय सवारी साधन आयात गर्दा ७६ करोड २२ लाख रूपैयाँ लागेको छ। भारतबाट एक सय किलोवाट क्षमताकै १५ सय ७१ वटा चार पाङ्ग्रे विद्युतीय सवारी साधन आयात गर्दा राज्यले ४ अर्ब २५ करोड ५८ लाख रूपैयाँ खर्चिएको छ। दक्षिण कोरियाबाट एक सय किलोवाट क्षमताका २३२ र इन्डोनेसियाबाट ३ वटा विद्युतीय सवारी साधन आयात गरिएका छन्।

एक सयदेखि दुई सय किलोवाट क्षमताका ५२ वटा विद्युतीय सवारी साधन आयात गरिएको छ। ती ५२ वटा सवारीसाधन आयात गर्दा राज्यले २२ करोड २२ लाख २९ हजार रूपैयाँ खर्चिएको छ।  

दुई सयदेखि तीन सय किलोवाट क्षमताका ७ वटा विद्युतीय सवारी साधन आयात भएका छन्। ती सवारी साधन आयात गर्दा राज्यले ४ करोड ६ लाख ५८ हजार रूपैयाँ खर्चिएको छ। सरकारले चालु आवको बजेटमा तीन सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनको भन्सार महसुल ४० प्रतिशतबाट वृद्धि गरेर ६० प्रतिशत बनाएको थियो।

त्यसैगरी ३ सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनको अन्तःशुल्क ४५ बाट बढाएर ६० प्रतिशत पु¥याइएको थियो। जसको कारणले चालु आर्थिक वर्षको ८ महिनामा यो क्षमताका विद्युतीय सवारी साधन न्यून मात्रामा आयात भएका छन्।

चालु आवको ८ महिनामा दुई सय किलोवाटदेखि तीन सय किलोवाट क्षमताका ७ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्। सरकारले आर्थिक ऐन मार्फत एक सय किलोदेखि दुई सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनको १५ प्रतिशत भन्सार महसुल वृद्धि गरेर ३० प्रतिशत गराएको थियो। 

प्रकाशित: १० चैत्र २०७९ ०१:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App