९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

साप्सु खोला जलविद्युत् आयोजनाको डिपिआर तयार

खोटाङ– खोटाङको साप्सु खोला जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ। दुई वर्षभित्र जलविद्युत् आयोजनाको सम्भाव्यता तथा वातावरणीय अध्ययनका काम पूरा गर्ने अनुमती पाएको थ्रीस्टार हाईड्रोपावर प्रालि काठमाडौंले छोटो समयमै ७.१५ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत् आयोजनाको डिपिआर तयार पारेको हो।

राजापानी, छोरम्बु, याम्खा, बतासे र विजयखर्क हुँदै बहने साप्सु खोलाबाट अढाई वर्षभित्रै एक अर्ब ३० करोडको लगानीमा विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढाइएको थ्रीस्टार हाईड्रोपावर प्रालिका अध्यक्ष कुमार खरेलले बताए।

मानवबस्तीभन्दा टाढा रहेको साप्सु खोला हाईड्रोपावर जिल्लाका स्थानीय खोलाबाट उत्पादन गर्न लागिएको हाईड्रोपावरमध्ये सबैभन्दा ठूलो आयोजना हो। डेढ वर्षदेखि नै साप्सु खोलाको जियोलोजिकल र हाइड्रोलोजिकल अध्ययन गरेका कारण डिपिआर तयार पार्न कम समय लागेको खरेलले बताए। २०७५ साल कार्तिक ४ गतेसम्म बहाल रहने गरी नेपाल सरकार उर्जा मन्त्रालय, विद्युत विकास विभागले गत कात्तीक ५ गते आयोजनाको सम्भाव्यता तथा वातावरणीय अध्ययनका लागि अनुमती दिएको थियो। आयोजनाको डिपिआर अन्तरगत हाईड्रोलोजिकल स्टडिज, सर्फेस जियोलोजीकल म्यापिङ, टोपोग्राफिकल म्यापिङ, जियोटेक्किल इन्भेन्टिगेसन, कन्ट्रक्सन मेटेरियल सर्भे, सेडिमेन्ट स्याम्प्लिङ एण्ड एनालाइसिस, जियोटेक्निकल इन्भेस्टिगेशन सम्बन्धी प्रतिबेदन तयार पारेर नेपाल सरकार उर्जा मन्त्रालय, विद्युत विकास विभाग समक्ष पावर खरिद–बिक्री सम्झौता (पिपिए)का लागि पेश गरिएको छ। पिपिएको काम लगत्तै चार महिनापछि आयोजना स्थलसम्म जाने सडक निर्माण, क्याम्पीङ, कन्ट्रक्सन पावर लगायतका काम सुरु हुने अध्यक्ष खरेलले जनाए ।

आयोजनाकालागि ११० मिटर हेडमा प्रतिसेकेण्ड ७ हजार ५ सय लिटर पानी खसाउने डिजाइन गरिएको छ। आयोजनाका लागि एनएमबी बैंकले लगानी गर्ने इच्छा देखाउको छ। ‘फिजीबिलीटी स्डटी रिपोर्ट तयार पारेर विद्युत प्राधिकरणसमक्ष पिपिएका लागि पेश गरिएको छ,’ खरेलले भने, ‘पिपिएलगत्तै आयोजनाको काम निरन्तर अघि बढ्छ, अढाई वर्षभित्र बत्ती बाल्ने हाम्रो योजना छ।’ आयोजना स्थलमा पावरहाउसका लागि आवश्यक जग्गा खरिद भइसकेको छ। भौगोलिक अवस्था, आयोजनास्थलको सहजताका कारण साप्सुको काम चाँडो पूरा हुने देखिएको जिविसअन्तर्गत जिल्ला जलश्रोत समितिका रबिकिरण आचार्यले बताए।

जिल्लामा मेवा खोलाबाट उत्पादित एक मेगावाट क्षमताको विद्युत आयोजना परीक्षण प्रशारणका क्रममा रहेको तथा ६.५ मेगावाट क्षमताको रावाखोला जलविद्युत् योजनाका काम भइरहेको समयमा साप्सु खोलाबाट त्यो भन्दा बढि क्षमताको विद्युत उत्पादनका लागि अनुमती प्राप्त भएको हो। आयोजनाको सम्भाव्यता अध्ययनका लागि प्रशासन, जिल्ला प्रहरी कार्यालय, जिविस, जनश्रोत समिति र गाविसको कार्यालय राजापानीलाई कात्तीक १८ गते लिखित जानकारी आएको थियो। विद्युत ऐन, २०४९ को दफा ४ को उपदफा २ र विद्युत नियमावली २०५० को नियम ८ बमोजिम नेपाल सरकार, उर्जा मन्त्रालय विद्युत विकास विभागको महानिर्देशकस्तरको निर्णयले विद्युत उत्पादनको सर्वेक्षण अनुमतीपत्र दिने निर्णय गरेको थियो।

प्रकाशित: १८ मंसिर २०७३ ०९:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App