३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

चेपुवामा सहकारी अभियान

नेपालगन्जस्थित नमस्ते बचत तथा ऋण सहकारीको कार्यालयमा बुधबार एक महिला अलि चर्को स्वरमा कराइरहेकी थिइन्। कर्मचारीहरू चुपचाप उनलाई सुनिरहे। ती महिला भनिरहेकी थिइन्, ‘भाइले विदेशबाट पठाएको पैसा यहाँ जम्मा गरेकी थिएँ। अहिले उसको खुट्टाको अप्रेसन गर्नुपर्ने भएको छ। १५ दिनदेखि म यहाँ पैसाका लागि धाइरहेको छु। पटकपटक भोलि आउनु, पर्सी आउनु भनेर पठाउने? आज पनि छैन भन्ने?’

उक्त सहकारीमा अहिले ती महिलाको करिब नौ लाख रूपैयाँ बचत रहेको तर सहकारीले कत्ति पनि दिन नसक्ने बताइरहेको भन्दै आक्रोश पोख्दै थिइन्। उनले सहकारीका केही सञ्चालकहरू पनि सम्पर्कविहीन भएको भन्दै आफ्नो बचत जोखिममा परेको हो कि? भन्ने आशंका व्यक्त गरिरहेकी थिइन्। त्यसबेला नमस्ते सहकारीका सञ्चालक समितिका सचिव प्रकाश ज्ञवाली कार्यालयमै थिए। पछिल्लो समय सहकारीको सेवा प्रवाहमा देखिएको यो समस्याले दिएको तनाव उनको अनुहारमा झल्किन्थ्यो। ज्ञवालीले केही महिना यता बचत फिर्ता लिनेहरू बढेका र बजारमा लगानी भएको ऋण नउठेको कारण सहकारी चेपुवामा परेको बताए।

नमस्ते सहकारी बाँकेको बचत तथा ऋण सहकारीमध्ये व्यवस्थित र प्रविधिको प्रयोगमार्फत विभिन्न सेवा दिने सहकारीमा गनिन्छ। उक्त सहकारीलाई पनि अहिले बचतकर्ताको माग धान्न र बजारबाट ऋण उठाउन सकस परिरहेको सचिव ज्ञवालीले स्वीकार गरे। यद्यपि उनले यो अवस्था केही समय रहने र पुनः सहकारी सही ठाउँमा आइपुग्ने दाबी उनको थियो। अहिले बचतकर्ताहरूले चाहिएको बेला बचत फिर्ता पाइरहेका छैनन् भने ऋणीहरूमाथि ऋण चुक्ता गर्नुपर्ने दबाब बढेको छ।

कारोबार सुस्त भएको बेला ऋण उठाउन पनि सहकारीहरूलाई कठिन भएको छ। केही दिनअघि जिल्ला सहकारी संघ बाँकेले विश्व अर्थतन्त्र संकुचनका कारण सहकारी क्षेत्रसमेत प्रभावित भएको भन्दै संयमता अपनाउन अपिल गर्दै प्रेस विज्ञप्ति जारी गरेको थियो।

उक्त विज्ञप्तिको आशय पनि सहकारी र तिनले भोगिरहेको यस्तै समस्यामा केन्द्रित रहेको संघका अध्यक्ष प्रेम सुवेदी बताउँछन्। सहकारीका बचतकर्ताहरू भने अधैर्य बन्दै गएको पाइएको छ। अन्य जिल्लामा केन्द्रीय कार्यालय रहेका तर यस जिल्लामा आई कारोबार गरिरहेका केही सहकारीले सेवा प्रवाहमा गल्ती गरेपछि यहाँका बचतकर्ताहरू थप आशंकित भएको पाइएको छ।

भक्तपुरमा केन्द्रीय कार्यालय रहेको र कोहलपुर–११ मा पनि कार्यालय राखी सञ्चालन हुँदै आएको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचत फिर्ता दिन नसकेको भन्दै बचतकर्ता आन्दोलित भएपछि अन्य सहकारीका बचतकर्ताहरूले पनि बचत फिर्ता माग्ने क्रम बढेको मेगा बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष शिवलाल लामिछानेले बताए।

लामिछानेका अनुसार पछिल्लो समय बैंक, लघुवित्त र सहकारीको ऋण नतिर्ने भन्दै चलिरहेका सडक आन्दोलनका कारण बजारबाट ऋण उठ्न नै मुस्किल भइरहेको छ। उनले भने, ‘ऋणको कुरा गर्‍यो कि कुटौंला झैं गर्छन्। हामी सञ्चालकले त जोखिम लिएर कुरा गर्न सकौंला तर कर्मचारीहरूको मनोबल यतिबेला कमजोर भएको छ। ऋण उठाउन समस्या परिरहेकै बेला बचत फिर्ता लिनेहरूको संख्या पनि बढेको छ। यसले सहकारीहरू चेपुवामा परेका छन्।’ लामिछाने बाहिरबाट आएका सहकारीहरूले आकर्षक सपना देखाएर एकै वर्षमा निक्षेप उठाएर जाने र सेवाग्राहीको सेवाप्रवाहमा ध्यान नदिने गरेका कारण पनि बचतकर्ताहरू सशंकित बनेको बताउँछन्। उनले प्रशासनले यतिखेर ऋणी र सहकारीहरूबीचको समन्वयका लागि संयन्त्र बनाइदिनुपर्ने माग समेत गरे।

सहकारीहरू समस्यामा पर्नुका पछाडि समग्र आर्थिक अवस्था त कारक छ नै कतिपय अवस्थामा सहकारीले लिने महत्वाकांक्षी निर्णयहरू पनि त्यहीं थपिएको छ। नमस्ते सहकारीले पनि बर्दियास्थित एक सहकारीसँग सहकार्य गरेकोमा उक्त सहकारी समस्यामा परेपछि त्यसको मार आफूहरूले भोग्नुपरेको सचिव ज्ञवाली स्वीकार्छन्। यद्यपि आफूहरू अहिलेको अवस्थालाई चिर्न सफल हुने दाबी छ। उनले चालु आर्थिक वर्षको सुरुमा रहेको करिब ५३ करोडको बचतमध्ये करिब १३ करोड फिर्ता गरिसकेको र ७१ करोड ऋणमध्ये करिब ३१ करोड उठाइसकेको जानकारी दिए।

सहकारीहरूले अहिले झेलिरहेको समस्याको मूल जरो सरकारको आर्थिक नीतिको कमजोरी र संकुचित भएको आर्थिक अवस्था नै भएको सहकारी संघ लुम्बिनी प्रदेश एवम् जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदी बताउँछन्। उनले अहिलेको अवस्थामा बचतकर्ताहरू संयमित हुने र ऋणीहरू जिम्मेवार हुने बेला रहेको बताए।

बचतकर्ताहरू असंयमित भएमा त्यसको भार सबै सहकारीहरूले थेग्न नसक्ने र अन्ततः बचतकर्ताहरूलाई नै त्यसले असर गर्ने उनको भनाइ छ। हल्ला र हचुवाका भरमा नलागि आफू संलग्न र कारोबार गरिरहेको सहकारीका बारेमा सबैकुरा बुझेर मात्रै निर्णय लिन उनको सुझाव छ। उनले संघले पछिल्लो अवस्थाका बारेमा केही दिनमा पत्रकार सम्मेलन गर्ने जानकारी पनि दिए। उनले सहकारीहरूका कार्यालय खुला राख्न, समस्याबारे नियामक निकायलाई जानकारी गराउन, समस्यामा परेका बचतकर्ताहरूको सूची बनाएर फिर्ता गर्न सहकारी संस्थाहरूलाई आग्रह गरेका छन्। 

प्रकाशित: २२ फाल्गुन २०७९ ०१:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App