लमजुङ- उच्च हिमाली भेगमा हुँदै आएको ‘याक अट्याक’ (साईक्लिङ्ग) प्रतियोगिताको दशौं संस्करण अन्तर्गत यस वर्षको प्रतियोगिता चक्रीय अन्नपूर्ण पदमार्गमा सुरु भएको छ।
अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेसीशहरबाट सुरु भएको सो प्रतियोतिाका सहभागीहरु आईतबार हिमालपारीको जिल्ला मनाङ तर्फ लागेका छन्। प्रतियोगिताको पहिलो दिन शनिबार लमजुङका पहाडी भू–भागहरु बाग्लुङपानी, उत्तरकन्या, सिम्पानी, खुदी लगायतका क्षेत्रको ३२ किलोमिटर दुरीको दौड तय गरेका छन्। प्रतियोगीहरुले लमजुङ, मनाङ हुँदै ५ हजार ४ सय १६ मिटर उचाईको हिमाली थ्रोङ्ला भञ्ज्याङ पार गरि मुस्ताङको मुक्तिनाथ मन्दिर पुग्ने र माथिल्लो मुस्ताङ सम्मको दुरी तय गरिएको प्रतियोगिताका व्यवस्थापन संयोजक यति ग्रुपका टुर्स म्यानेजर दिपेन प्रधानले जानकारी दिए। उनका अनुसार माथिल्लो मुस्ताङको लोमान्थाङ, चेले हुँदै जोमसोम पुगेर प्रतियोगिता सकिनेछ।
वेलायती संस्था माउण्टेन वाईकिङ वल्र्डवाईडको आयोजना र नेपालस्थित यति गु्रप अफ कम्पनीज् अन्तर्गत यति टेल्सको व्यवस्थापनमा भएको यो प्रतियोगितामा नेपाल सहित १४ देशका ३९ जनाले सहभागीता जनाएका छन् । ति मध्ये ८ जना नेपाली रहेका छन् भने ३१ पुरुष र ८ महिला सहभागी भएको प्रतियोगिता निर्देशक फिल ईभान्सले बताए । उनका अनुसार विजेताहरु लाई कूल ५ हजार अमेरिकी डलर बराबर पुरस्कारको व्यवस्था रहेको छ । प्रथमलाई १ हजार २ सय ५० डलर, द्वितियालाई ७ सय ५० डलर र तृतियालाई ५ सय डलर, मेडल र प्रमाणपत्र प्रदान गरिने उनी बताउँछन् । प्रतियोगितामा सहभागिताका लागि विदेशीले प्रतिव्यक्ति ४ हजार नेपालीले ३ सय डलर तिर्नुपर्ने प्रावधान रहेको पनि ईभान्स बताउँछन् ।
यसवर्ष १५ जना यसअघिका प्रतियोगितामा अनुभव वटुलेका सहभागी रहेको उनी बताउँछन् । विगतका ५ वटा प्रतियोगितामा विजयी बनेका अजय पण्डित, अघिल्ला प्रतियोगिताका विजयी बनेका नारायणगोपाल महर्जनले पनि सहभागिता जनाएका छन् । प्रायः प्रतियोगितामा नेपाली खेलाडीहरु नै विजयी बनेको र उच्चपहाडी हावापानीमा घुलमिल गर्न सक्ने क्षमता र अभ्यास भएकाले नेपालीले यो मौका पाएको पण्डितको भनाई छ ।
यसवर्ष नेपाल, डेनमार्क, पोर्चुगल, अष्ट्रेलिया, अष्ट्रिया, फ्रान्स, जापन, सिंगापुर, मलेशिया, हंगेरी, अमेरिका, क्यानडा, वेलायत र न्युजील्याण्डका खेलाडी प्रतिस्पर्धामा उत्रिएका छन् । यो संस्करणको अवधि १० दिन साईक्लिङ र मनाङ र मुस्ताङमा २ दिन विश्राम लिने गरि कूल १२ दिनको रहेको बताईएको छ । यसअघिका प्रतियोगिताहरु म्याग्दीको वेनीमा पुगेर टुंगिनेमा यसवर्ष भने मुस्ताङको जोमसोममा टुंगिने तय भएको छ।
प्रकाशित: २१ कार्तिक २०७३ १०:५४ आइतबार