८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

स्वदेशी तथा विदेशी तरकारीमा विषादीको मापदण्ड एउटै

डा.मतिना जोशी वैद्य/ प्रकाशकुमार सञ्जेल

भारतबाट आयात गरिने तरकारीको विषादी परीक्षण गर्ने मापदण्ड लागु गर्न पछि हटेको भनेर आलोचना भइरहेका बेला सरकारले आयातित र स्वदेशी सबै तरकारीको गुणस्तर मापन गर्ने मापदण्ड एउटै भएको जनाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तराकारी तथा फलफुलमा ‘कीटनाशक विषादीको अवशेषको अधिकतम सीमा’ सम्बन्धी मापदण्ड आन्तरिक उत्पादन र आयातित वस्तु सबैमा लागु हुने प्रष्ट पारेको हो।

विषादी अवशेषको अधिकतम सीमाको मात्रा मापन सम्बन्धी मापदण्ड नेपालमा बिक्री हुने सबै तरकारी तथा खाद्य वस्तुमा लागु हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा. मतिना जोशी वैद्यले बताइन्। उनले नेपालमा उत्पादन भएका र विदेशबाट आयात भएका सबैमा लागू हुने प्रष्ट पारिन्। ‘पहिला विभिन्न १० वटा तरकारीका लागि मापदण्ड बनाइएको थियो,’ उनले भनिन्, ‘नेपाल भित्र उब्जनी हुने र आयातित सबैलाई लक्षित गरेर थप मापदण्ड तयार गरिएको छ।’

भारतबाट आउने तरकारीको विषादी जाँच्ने मापदण्डको प्रस्ताव मन्त्रीपरिषद्बाट फिर्ता भएको भनेर आलोचना भइरहेका बेला महानिर्देशक वैद्यले कुनै देशलाई लक्षित गरी मापदण्ड तयार नभएको दाबी गरिनन्। ‘कुनै देशलाई लक्षित गरी मापदण्ड बनाइएको होइन,’ उनले भनिन्, ‘विश्व व्यापार संगठनको मापदण्ड अनुसार तयार गरिएको हो।’

उपभोक्तालाई गुणस्तरी तरकारी लगायतका खाद्य वस्तु उपभोग गर्ने वातावरण सृजना गर्न सरकारले कुनै देश लक्षित नभई सबैलाई लागू हुने गरी मापदण्ड बनाएको जनाएको छ। ‘अन्तर्राष्ट्रिय स्तरको मापदण्ड तयार गरेका छौं,’ महानिर्देशक जोशीले भनिन्, ‘यो लागु भएपछि सबैलाई लागु हुन्छ।’

मादपण्ड स्वीकृत नगरेर मन्त्रीपरिषद्ले फिर्ता गरेको भनेर आलोचना भइरहेका बेला कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पुनः प्रस्ताव लैजाने तयारी भएको जनाएको छ। गत भदौमा उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट आर्थिक तथा पूर्वाधार समितिमा छलफलका लागि पठाएको थियो। निर्वाचन पश्चात् नयाँ सरकार गठन भएपछि मन्त्रिपरिषद् समितिमा विचाराधीन रहेका सबै प्रस्तावहरू फिर्ता हुने क्रममा मन्त्रिपरिषद्को पुष ११ गतेको पहिलो वैठकबाट फिर्ता आएको मन्त्रालयको दाबी छ। ‘प्रधानमन्त्रीबाट नयाँ प्रस्ताव तयार पारी पेश गर्न निर्देशन भएको छ,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले भने, ‘नयाँ प्रस्ताव तयार गरिएको छ।’

मन्त्रालयले राजपत्रमा प्रकाशित गरी प्रकाशन गर्न स्वीकृतिका लागि गत भदौ १५ गते मन्त्रीपरिषद्मा पठाएको थियो। स्वीकृत मापदण्ड विश्व व्यापार संगठनका सदस्य राष्ट्रहरूबाट राय सुझावको लागि पठाएकोमा कुनै टिप्पणी नआए पछि कार्यान्वयनको प्रक्रियामा अघि बढाएको मन्त्रालयले जनाएको छ। मापदण्ड कुनै मुलुकको उत्पादनतर्फ लक्षित नभई विश्व व्यापार संगठनको प्रावधान अनुरूप रहेको सञ्जेलले दाबी गरे। ‘खाद्य ऐन, २०२३ मा व्यवस्था भए अनुरूप नेपालभर उत्पादन, आयात निर्यात एवं बिक्री वितरण हुने खाद्य पदार्थका लागि सो मापदण्ड आकर्षित हुन्छ,’ प्रवक्ता सञ्जेलले भने, ‘स्वदेशी तथा विदेशी सबै उत्पादनलाई एउटै मापदण्ड लागु हुन्छ।’

खाद्य पदार्थको गुणस्तर सम्बन्धमा खाद्य ऐन, २०२३ को दफा ७ बमोजिम विभिन्न तरकारीका ६ समूह र १५ उपसमूह एवं फलफूलका ४ समूह र १० उपसमूहको जीवनाशक विषादीको अधिकतम सीमा सम्वन्धमा मापदण्ड निर्धारण गर्न अन्तर्राष्ट्रिय कोडेक्सएलिमेन्टारियस कमिसन खाद्य पदार्थ सम्बन्धी मापदण्डको आधारमा तयार भएको मन्त्रालयले जनाएको छ। सरकारले यसअघि पनि विभिन्न तरकारी तथा खाद्यवस्तुमा कीटनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गरेकोमा अहिले थप तरकारी तथा खाद्यवस्तुको मापदण्ड तयार गरेर राजपत्रमा प्रकाशित गरी कार्यान्वयन गर्न लागेको हो।

सरकारले तयार गरेको मापदण्डका आधारमा नेपाल भित्रिने वस्तुको भन्सारमा परीक्षण गर्नुपर्छ। तरकारी परीक्षण गर्दा मानव स्वास्थ्यमा असर पुग्ने विषादीको अवशेषको मात्रा रहेमा तरकारी लगायतका खाद्यान्न बिक्री वितरणमा रोक लगाउनु पर्छ।

तरकारी तथा कृषिजन्य उत्पादनमा विषादी प्रयोग गर्ने भएकाले ती विषादीको अवशेष कति छ भनेर परीक्षण गर्नुपर्छ। विषादी मानव स्वास्थ्यका लागि घातक भए पनि तरकारीमा किरा तथा रोग नियन्त्रण प्रयोग हुने सबै विषादीको परीक्षण नहुनुले मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको देखिएको छ। अहिलेसम्म स्वदेशमा उत्पादन हुने र विदेशबाट आयातित तरकारी, फलफूल लगायत कृषिजन्य वस्तुमा एक दर्जनभन्दा बढी समूहका विषादी प्रयोग हुन्छ। यसमध्ये थोरै समूहका कीटनाशक विषादी परीक्षण हुन्छ हुन्छ भने धेरै समूहका विषादीको परीक्षण हुँदैन।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार बजारमा बिक्री हुने तरकारीमा नमूनाको रूपमा इन्सेक्टिसाइड अन्तर्गतका अर्गानोफस्फेट, कार्बामेटलगायतका केही विषादीको मात्रा परीक्षण हुन्छ। नेपालमा धेरै विषादीको परीक्षण गर्ने प्रविधि र संयन्त्र नै छैन। भारत लगायतका मुलुकबाट आयातित तरकारीको मात्र नभएर स्वदेशमै उत्पादित तरकारीमा पनि विषादी भेटिने गरेको छ। खाद्य प्रविधिसहित कालीमाटी तरकारी बजारमा रहेको विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशालामा परीक्षण हुने गरेको छ। स्वदेशमा उत्पादन भएको तरकारीमा पनि विषादीको मात्रा देखिने गरेको छ।

प्रकाशित: १८ फाल्गुन २०७९ ०२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App