१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

पर्यटक कुर्दै सुपा देउराली

काठमाडौं- वारिपारि चट्टानले बनेको पहाडै पहाड। पहाडमा हरियो जंगल। त्यसैमाथि चराचुरुंगी र परेवाको चिरबिर आवाज। गंगा जलजस्तै सुपाखोलाको कलकल बग्ने पानी। मन्दिरको छेउबाट सजिलै नियाल्न सकिने सेता झरनाहरु। प्राकृतिक सुन्दरताले हराभरा पहाडको कोखमै छ सुपा देउराली माइको मन्दिर।

तरेली परेका पहाडको बीच खण्डमा बस्ती, खोला किनारमा खेतीयोग्य जमिन र हराभरा देखिने पहाडका टाकुराहरुले यहाँ जाने मानिसलाई भुलाउन थालेको छ। हैर्दैै मनमोहक देखिने यस मन्दिरमा भाकल पूजा गर्न दैनिक सयौंको संख्यामा भक्तजन पुग्ने गर्छन्। अर्घाखाँची जिल्लाको मध्य भागमा रहेको सुपा देउराली मन्दिर समुद्र सतहदेखि करिब ४ हजार ५ सय फिटको उचाइमा रहेको छ। बाइसे चौबिसे शाहवंशीय राजाहरुको पालामा निर्माण भएको यस मन्दिरमा २०४० सालदेखि नियमित पूजा अर्चना गर्न थालिएको हो।

२०६० सालमा विस्तार गरिएको यो मन्दिर निर्माण गर्दा काठमाडौं र भक्तपुरका ऐतिहासिक सम्पदामा प्रयोग भएका प्राचीन निर्माण सामाग्री प्रयोग गरिएको छ। गोरुसिंगे–सन्धिखर्क मोटरमार्ग किनारमा निर्माण गरिएको मन्दिर परिसरमा नवदुर्गा, महाकाली, महालक्ष्मी, शिवजी, गणेश लगायत देवी देवताका मूर्तिहरु स्थापना गरिएको छ। यस मन्दिरलाई पर्यटकले धार्मिक रुपले मात्र होइन प्राकृतिक रुपले पनि रमणीय मान्न थालेका छन्। खाँचीकोट, नरपानी, ठाडा जस्ता अग्ला स्थानबाट अर्घाखाँची लगायत छिमेकी जिल्लाका भू–बनोट नियाल्न सकिन्छ। मन्दिरको कोखबाट प्रकृतिका अनेकौं अनुपम दृश्य र स्वच्छ हावा लिन पाइने हुदा यहाँ पुग्ने जो कोही मोहित हुने गरेका छन्। त्यसो त मन्दिरको केही भाग सम्म भएतापनि वारिपारि डरलाग्दो चट्टान पनि छ।

सुपा देउराली माईप्रति अर्घाखाँचीबासीमात्र होइन अन्य जिल्लाका मानिस पनि श्रद्धा गर्छन्। यहाँ भाकल र दर्शन गरेपछि आँटेको काम सफल हुने किंवदन्ती छ। एकादशी, औंसी, कृष्णजन्माष्टमी, ऋषि पञ्चमी, रामनवमी, शिवरात्री, श्रीपञ्चमी लगायत पर्वमा मन्दिरमा पूजा गर्ने र भेटी चढाउनेकोे भिड लाग्ने गर्छ।

पछिल्लो समय यस मन्दिरको दर्शन गर्न आउने दर्शणार्थीको संख्या बढेकोमन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रितम थापाले जानकारी दिए। आजभोलि यस क्षेत्रलाई बुटवल, पाल्पा, दाङ, सल्यान, प्युठान, भैरहवा, कपिलवस्तु लगायत जिल्लाका विद्यार्थीले शैक्षिक भ्रमणको केन्द्र पनि मान्न थालेका छन्।

दाङ, सल्यान, नेपालगन्ज, प्युठान, पोखरा तथा लुम्बिनी दर्शन गर्न पुगेका केही पर्यटक यहाँसम्म दर्शन गर्न पुग्छन्।

सुपा देउराली मन्दिर ऐतिहासिक कथन उठाउँदै समितिका अध्यक्ष थापा भन्छन्, 'एकदिन खाँची घर भएका एकजना गरिब व्यक्ति धन कमाउनका लागि भारत (लाहुर) जाने क्रममा सुपा माईलाई ढोग्दै 'मलाई राम्रो होस फर्केर आउँदा भेटी चढाउनेछु' भनेर सुपा माइसँग भाकल गरी भारत गए। उनलाई भनेजस्तै भयो। उनले त्यहाँ राम्रै कमाए। तर धेरै धन कमाउने व्यक्ति लोभी हुन्छ भनेझैं भारतबाट पैसा कमाएर घर फकर्ने क्रममा ती लाहुरेले सुपा देउरालीमाईको भाकल तिर्न लोभ गरी तर्किएर मन्दिरमाथिको जंगलको बाटो घर फर्कंदै थिए। यतिकैमा जंगलको बाटो आधा नहुँदै सुपामाईले मन्दिर माथिको चट्टानमा ती लाहुरेलाई टाँसेका किंवदन्ती छ।'

त्यस्तै, धार्मिक तथा सांस्कृतिक चार्डपर्वको समयमा ३० देखि ४० हजारको संख्यामा दर्शनार्थीहरु पूजाआजाका लागि सुपा देउराली मन्दिरमा पुग्ने गरेको मन्दिर संरक्षण समितिका सचिव यादवराज घिमिरे बताउँछन्। उनी भन्छन्, 'हामीले दर्शनार्थीको आगमनलाई ध्यानमा राख्दै मन्दिरको छेउमै धर्मशाला निर्माण थालेका छौं।'

अर्घाखाँची जिल्लालाई चिनाउने पहिलो धार्मिक क्षेत्र सुपा देउराली मन्दिरको संरक्षण गर्न स्थानीय र सरोकारवाला व्यक्ति पनि चासोका साथ लागिपरेका छन्। बाहिरबाट मन्दिर दर्शन र अवलोकनका लागि पुगेका पर्यटकलाई बस्ने व्यवस्था पनि गरिएको समितिले जनाएको छ। पर्यटक आकर्षणको प्रबल सम्भावना बोकेको यसमन्दिरको पर्याप्त प्रचारप्रसार नभएकाले विदेशी पर्यटक थोरैको संख्यामा पुग्ने गरेको मन्दिरका अध्यक्ष थापाको भनाइ छ। 'ऐतिहासिक महत्व बोकेका सांस्कृतिक सम्पदामा राज्यको नजर पुग्न सके मौलिकता जोगाउन सकिन्छ,' उनले भने।

मन्दिरमा संकलन भएको भेटीबाट खाँचीकोट र सितापुरमा रहेका ३ वटा विद्यालयका शिक्षकलाई तलब दिने व्यवस्था मिलाइएको छ। पहाडी भेगमा पर्ने यस मन्दिरले अर्घाखाँचीको मात्र नभई नेपालकै गरिमा बोकेकाले मन्दिरलाई संरक्षण गर्न सरोकारवाला पनि अग्रसर हुनुपर्ने स्थानीयवासीको भनाइ छ।

प्रकाशित: १८ आश्विन २०७३ ०६:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App