हरियो चियाबारीले ढपक्क इलामको जस्बिरेमा १० दिन बसेका रुसी नागरिक अलेक्जी सेवेकिनलाई फर्किन मनै थिएन। यहीं बसेर चिया टिप्दा, चियामा गाइवस्तुको मल लगाउँदा, हरियो पत्ती टिपेर नजिकैको सानो उद्योगमा प्रशोधन गर्न सघाएर अघाएका थिएनन्। तर, योजनै त्यतिमात्र बस्ने भएकाले उनले माइपोखरी चिया प्रशोधन उद्योगबाट फर्कनैपर्ने भयो। मन गह्रुँगो बनाएर स्थानीयले उनलाई फूलमाला, खादा र अबिरले बिदा गरे। भावुक भएर इलामका चियाबारी घुम्न फेरि आउने बाचा गर्दै सेवेकिन काठमाडौं फर्किए।
सेवेेकिन चियाविज्ञ पनि हुन्। उनी यहाँका प्राविधिकलाई चिया प्रशोधन सिकाउन मात्र होइन, नेपाली चियाबारे बु‰न पनि इलाम आएका रहेछन्। उनले नेपालले आफ्नै पहिचानको चिया बनाउने हो भने विश्वबजारमा बिक्री सम्भावना उच्च रहेको मात्रै बताएनन्, सुन्दर चियाबारी घुम्न पर्यटकको ओइरो लाग्न सक्ने पनि औंल्याए। ‘चिया व्यापार मात्र होइन, यसको महŒवपूर्ण पाटो सौन्दर्य र पर्यटक आकर्षित गर्ने कला पनि हो,' उनले भने।
केही महिनाअघि पूर्वी श्रीअन्तु गाउँ आएर ३ दिन बसेका अस्ट्रेलियाका पर्यटक लकिन सेकियन जताततै चियैचिया देखेर खुबै रत्तिएछन्। यहाँ बसुञ्जेल उनले किसानसँगै चिया टिपे, गोडमेल गरे, मगमग बासना आउने चिया उद्योगमा पुगेर प्रशोधन गरेको नियाले, किसानका घर पुगेर गाई दुहे र गाइको मल चियाबारीमा हाल्न पनि सघाए। नीलो आकाशमुनि अन्तुपोखरीलाई पृष्ठभूमिमा राखेर चियाबारीका दर्जनौं तस्बिर र भिडियो त कति खिचे कति।
फर्किने बेला स्थानीय लोपोन्मुख लाप्चा समुदायले परम्परागत नृत्यसहित बिदा गर्दा उनले इलामे चिया संस्कृति कहिल्यै नबिर्सिने भन्दै आफन्त र साथीहरूलाई इलामको चियाबारी घुम्न आग्रह गर्ने बताए। ‘पहिलो पटक इलाम आएको हुँ,' उनले भने, ‘मलाई लाग्छ, जीवनभर म यत्तिको सुन्दर ठाउँमा पुग्छुजस्तो लाग्दैन।' पाहुनाको बिदाइमा पुष्पगुच्छा टक््रयाउन झुरुप्प श्रीअन्तुबासी उनका कुराले गद्गद् देखिए। अनि, सेकियनलाई हात हल्लाएर ‘शुभयात्रा' कामना गरे।
थुम्का–थुम्कामा चिया लहलाएका बेला पर्यटकहरू इलामका चियाबारी घुम्न मात्र होइन, चियामै रमाउन आउँछन्। किसान र मजदुरसँगै चिया टिप्छन्, ढाकरमा हरियो चियापत्ती बोकेर कारखानामा पुर्याउन सघाउँछन्। चिया गोडमेल गर्छन् र चियाका बोटमा लमतन्न सुतेर समेत सयौं सेल्फी खिच्छन्। उनीहरूलाई स्थानीय किसानले घरमा बस्ने व्यवस्था मिलाइदिएका छन्। किसानसँगै परिवारका सदस्यझैं बस्ने पर्यटकलाई स्थानीय उत्पादन ढिँडो, मकैको भात, गुन्द्रुक, भटमास, अकबरे खुर्सानी, मुलाको अचार, लोकल तोङ्बा, अर्गानिक चियाजस्ता खानेकुरा इच्छाअनुसार दिन्छन्।
यहाँ बस्दा आफ्ना परिवारै भुलेझैं गर्ने स्वदेशी तथा विदेशी पर्यटक पुनः आउने, आफ्ना साथीभाइलाई पनि यहाँ घुम्न सुझाव दिने प्रतिबद्धतासमेत गरेर फर्किन्छन्। सूर्याेदय नगरपालिकास्थित गोर्खा टी स्टेटले त यहाँ आउने पर्यटकलाई १–१ चियाका बिरुवा रोप्न लगाएर उनीहरूकै नाम लेखिएका प्लेकार्ड छेवैमा राखिदिने गरेको छ। पर्यटक पुनः आफूले रोपेको बिरुवा सम्झेर यहाँ आइपुगून् भन्ने सोचेर यसो गरिएको उद्योग सञ्चालक उदय चापागाईंले बताए। यहाँ विभिन्न देशका चिया व्यवसायी, पर्यटक मात्र नभई अमेरिकी महावाणिज्यदूत पिटर गोग्गीसमेतले चिया रोपेका रहेछन्।
आकाश छ्याङ्ग उघि्रएका बेला भुइँमा सुन्दर चियाबारी, ठाउँ–ठाउँबाट देखिने कञ्चनजंघालगायतका हिमाल, विभिन्न हिमशृंखला, वनले ढाकिएका होचा पहाड र पोखरीहरू यहाँको ग्रामीण पर्यटनका आधार हुन्। तर, सुन्दर चियाबारी नै इलामको पहिचान र पर्यटनको प्रमुख आधार बन्दैछ। कात्तिकदेखि फागुनसम्म भुल्केघाम, गाउँले जीवनशैली र हिमाली सौन्दर्य बेच्ने इलाम चैतदेखि असोजसम्म ‘चियाको बैंस'ले पाहुना पल्काउँछ। यो चियाका मुना बरर्र पलाउने सिजन। हिउँदमा पनि चियाबारीमा फोटो खिच्न र वनभोज खान आउनेको लस्कर घट्दैन। इलाम बजार, अन्तु, सन्दकपुर, छिन्टापु, माइमझुवा र जमुनाको चोयाटारमा पर्यटकको घुइँचो लाग्छ। देशकै पश्चिमी जिल्लाहरू, भारत, बेलायत, अस्ट्रेलिया, फ्रान्स, अमेरिका, जर्मनी, स्विट्जरल्यान्ड, जापानलगायत देशबाट इलामे चियामा रमाउन पर्यटक आउँछन्। यहाँ घुम्न आउनेको सबैभन्दा ठूलो हिस्सा चाहिँ आन्तरिक र भारत पश्चिम बंगालका पर्यटकको हुन्छ।
चियाले चर्चा बटुलेको इलाममा चियालाई नै आधार बनाएर पर्यटन विकास गर्ने सम्भावना धेरै छन्। इलाम घुम्न आएका सबैजसो पर्यटक चियाबारी घुम्न छुटाउँदैनन्। सकेसम्म चिया टिपाइ, प्रशोधन हेर्ने र यसको ऐतिहासिक पृष्ठभूमि खोतल्ने प्रयास गर्छन्। पर्यटकसँगको साक्षात्कार, उनीहरूको रुचि देख्दा निश्कर्षमा पुग्न सकिन्छ– यहाँको चिया नै पर्यटक आकर्षण गर्ने मुख्य माध्यम हो।
तथ्यांकमा एकरूपता पाउन नसके पनि केन्द्रीय चिया सहकारी संघका अनुसार नेपालमा २५ हजार किसान चियाखेतीमा आबद्ध छन्। त्यसको करिब आधा हिस्सा इलामकै छ। जिल्लाका दर्जनौं गाउँमा छरिएका किसानले आँगनको डिलसम्मै लगाएको चियाले आम्दानी त दिएकै छ, प्राकृतिक क्यानभासमा सौन्दर्य भर्न पनि उत्तिकै सघाएको छ। श्रीअन्तुका चिया किसान बैकुण्ठ घिमिरे भन्छन्, ‘चिया नै किसानका लागि यस्तो खेती रहेछ, जसले आम्दानी, स्वाद र सौन्दर्य दिन्छ। चियाबारीमा रमाउने पाहुना घरमा बसेर अर्गानिक अर्थाेडक्स चियापत्ती हालेको तातोपानी पिउँदा खुब आनन्द लिन्छन्।'
जिल्लामा उत्पादन हुने ४१ लाख किलो अर्थाेडक्स चियामध्ये ३ लाख किलो अर्ग्यानिक छ। पछिल्लो समय जिल्लामा अर्ग्यानिक चिया खेती गर्ने किसान थपिएसँगै इलामै पुगेर ठूलो काँचको गिलासमा अर्गानिक चिया सुर्क्याउने धोको लिएर टाढाबाट आएका पर्यटकसमेत भेटिन्छन्।
पर्यटनका जानकार धर्म गौतम चियामा रमाउन चाहने पर्यटकका लागि बनाइने फरक अवधारणा नै चिया पर्यटन भएको बताउँछन्। ‘यहाँ आउने पर्यटकले विशेषगरी चियासँग साक्षात्कार गर्न चाहन्छन्,' उनी भन्छन्, ‘चियाबारी घुमाएर, यसको टिपाइ, प्रशोधनलगायत सम्पूर्ण पक्ष देखाएर, त्यसैमा सहभागी गराएर अनि अर्गानिक चिया चखाएर पनि पर्यटक भुल्याउन सकिने भएकाले जिल्लामा चिया पर्यटनको सम्भावना देखिन्छ।' उनले व्यवस्थित र ठोस योजनाअनुसार चिया पर्यटनको अवधारणा ल्याउन सके जिल्लाको ग्रामीण पर्यटनले फड्को मार्न सक्ने बनाए।
चिया पर्यटन प्रवर्द्धन गर्न ठोस योजना ल्याउनेबारे जिल्लास्तरमा बहस, छलफल र चर्चा चलेका थिए। नेपालभन्दा ७ वर्ष जेठो सीमापारि दार्जिलिङको चियाबारी, सिक्किम र असममा फस्टाएको ‘टी टुरिज्म' यहाँका सरोकारवालाले पनि सुरु गरेका थिए। फेयर ट्रेड (निष्पक्ष व्यापार) संस्था महागुठी क्राफ्ट विथ कन्साइन्स र एसएनभी नेपालको समन्वयमा यहाँ गुरुयोजनाका रूपमा स्पेनी फेयर ट्रेड भोलेन्टियरसमेत रहेका पर्यटक ल्याएर औपचारिक सुरु गरिएको थियो। टि टुरिज्मकै माध्यमबाट पर्यटक भिœयाउन इलाम उद्योग वाणिज्य संघको पहलमा विभिन्न संस्थाले प्रयास थालेका थिए। चिया बगानभित्रै गेस्ट रुम, आकर्षक पार्क र ट्रेकिङ व्यवस्था मिलाउन लगानीकर्तालाई आग्रह गरिएको थियो। तर, यो अवधारणा सबै किसान र सरोकारवालासम्म नपुग्दा प्रचुर सम्भावना बोकेको चिया पर्यटनले गति लिन सकिरहेको छैन।
सौन्दर्य मात्र होइन, इलामे चिया ऐतिहासिक पनि छ। सदरमुकामनजिकैको चियाबारीमा देशमै पहिलोपटक चिया खेती गरिएको थियो। १९२० सालमा प्रधानमन्त्री जंगबहादुर राणाले जिल्लाका बडाहाकिम गजराजसिंह थापामार्फत् यहाँ चिया खेती सुरु गराएको इतिहास छ। थापा भ्रमणक्रममा चीन गएका बेला त्यहाँका सम्राटले कोसेलीस्वरूप दिएको चियाको बीउ इलाम ल्याएर रोपिएको थियो। गौतम भन्छन्, ‘अहिले चियाबारी र ठूलो टुँडिखेल भएको स्थान त्यतिबेला पाखोबारी मात्रै थियो। केही पोखरी पनि थिए। खेती गर्ने बारीमा चिया रोपिएपछि इलामको सौन्दर्य थपिएको हो।'
यहाँको प्राकृतिक सौन्दर्य अवलोकन गर्न ०१९ सालमा तत्कालीन युवराज महेन्द्र आएका थिए। पूर्वराजा वीरेन्द्रले पनि २०२८ सालमा इलाममा महिना दिन बिताएको स्थानीय बूढापाका बताउँछन्। त्यसपछि पनि वीरेन्द्र पटक–पटक यहाँ आएका थिए। वीरेन्द्र र ऐश्वर्यले कन्याममा पहिलो–पटक रोपेका चियाका बुट्टा अहिले पनि संरक्षित रहेको कन्यामका काजीमान कागतेले बताए। पूर्वराजा ज्ञानेन्द्र पनि उनको शासनकालमै इलाम घुम्न आएका थिए। उनीहरूजस्तै देशका उच्चपदस्थ व्यक्ति पटक–पटक इलामे ऐतिहासिक चियाबारी घुम्न आइरहन्छन्।
चियाखेतीसँगै निर्माण भएको कारखाना पनि इलाम चियाबारी बीचमै छ। यो कारखाना १९३५ सालमा स्थापना भएको हो। गौतम भन्छन्, …सामान्य ज्ञानका किताबमा विराटनगरको जुटमिललाई नेपालको सबैभन्दा पुरानो भनिएको छ। तर, त्यो गलत हो। यो चिया कारखानाभन्दा धेरैपछि जुटमिल स्थापना भएको हो।' इलाम चिया कारखाना नै नेपालको ऐतिहासिक र सबैभन्दा पुरानो भएको इतिहासलाई कतै बंग्याउन नमिल्नेमा इलामका इतिहासकार युद्धप्रसाद वैद्यको पनि समर्थन छ।
०३० को दशकमा नेपाल चिया विकास निगम स्थापना भएपछि चियाबारीको व्यवस्थापन निगमले गर्न थालेको थियो। २०५७ सालमा सरकारले त्रिवेणी सांघाई समूहलाई इलाम र झापाका ७ चिया बगान लिजमा दिएको १ वर्षपछि यो कारखानामा प्रशोधन बन्द गरिएको थियो। पुरानो कारखाना बन्द गरेर इतिहास मेटाउन खोजिएको भन्दै स्थानीयले विरोध गरेपछि दशकपछि कारखाना पुनः सञ्चालनमा छ। मेची पहाडी पर्यटन क्षेत्र प्रवर्द्धन तथा विकास समितिका कार्यकारी निर्देशक केशव धौराली चियाले पर्यटक लोभ्याउने सम्भावना उच्च रहेको बताउँछन्। उनी भन्छन्, ‘इलामको ऐतिहासिक चिया हेर्न, छुन र स्वाद चाख्न टाढा–टाढाबाट आउने पर्यटकका लागि विभिन्न पूर्वाधार तयार गर्दैछौं। चिया मुख्य आकर्षण भएकाले चिया पर्यटनको सम्भावना उच्च छ यहाँ।'
नेपालले अहिले चिया बेचेर बर्सेनि करिब ३ अर्ब रुपैयाँ आम्दानी गरिरहेको छ। नेपालका बगानमा बर्सेनि १ करोड ८१ लाख ४५ हजार किलोभन्दा बढी क्रस टियर कर्ल (सिटिसी) र ४९ लाख २३ हजार किलो अर्थाेडक्स चिया उत्पादन हुन्छ। करिब ५० प्रतिशत सिटिसी नेपालमै र बाँकी भारतलगायत मुलुकमा निर्यात भइरहेको छ। १५ लाख किलो अर्थाेडक्स तयारी चिया नेपालमा र बाँकी अन्य मुलुक निर्यात हुने गरेको तथ्यांक छ।
पहाडको चिसो हावा, चिया बगानको हरियाली, चिया मजदुरको दिनचर्या र इलामे चिया संस्कृति पर्यटकका लागि आकर्षणको केन्द्र हुन्। चियाबारी वरिपरि नै रहेका देशकै लोपोन्मुख लाप्चासहित, थामी, मगर, गुरुङ, लिम्बू, राई, नेवारलगायत समुदायको परम्परा र संस्कृतिले पनि पर्यटकलाई आनन्द दिन्छन्। चियाको विषय अध्ययन गर्ने विद्यार्थीका लागि त इलाम आउनैपर्ने गन्तव्य हो, तराईको गर्मीबाट उम्किन पनि झापाबाट डेढ घन्टामै चिसो कन्याम चियाबारी आउन सकिन्छ।
नजिकैको दार्जिलिङमा चिया पर्यटन आम्दानीको गतिलो आधार बनेको छ। विश्वभरका चिया व्यवसायी र सरोकारवाला त्यहाँजस्तै इलाम पनि आउने सम्भावना उत्तिकै रहेको चियाक्षेत्रमा अनुभवीहरूको भनाइ छ। चियाको प्राविधिक पक्षमा आफ्ना अनुभव सुनाउन आइरहने चियाविज्ञ एसके प्रधान पनि पूर्वाधार तयार गरेर प्रचारप्रसार गर्नसक्दा पर्यटकको चिन्ता लिनु नपर्ने बताउँछन्। दार्जिलिङको चिया क्षेत्रमा ४० वर्ष बिताएका प्रधानको सुझाव छ, ‘बगानैपिच्छे छुट्टै विशेषता बोकेका इलामका चियाबारी पर्यटक लोभ्याउन निकै प्रभावकारी हुनसक्छन्।'
छोटो बसाइमा पर्यटक धेरै प्रभावित पार्न चियालाई अर्गानिक बनाउनु त छँदैछ, बगान परिसरमै आवास, पार्क र पथप्रर्दशक व्यवस्था गर्नुपर्छ। दार्जिलिङका ग्लेनवर्ग, ह्याप्पी भ्याली, मकैबारी र सिंगेल टी स्टेटमा जत्तिकै पर्यटकको हुल इलामका चिया बगानमै देखिने सम्भावना प्रचुर छ।
प्रकाशित: १५ आश्विन २०७३ ०३:१३ शनिबार