चिनियाँ ठेकेदार कम्पनीको आलटालका कारणले दुई वर्षसम्म अलपत्र परेको कञ्चनपुर कमला सडक योजनाको निर्माणले गति लिन सुरु गरेको छ। सो आयोजनामा अहिले मासिक ५ प्रतिशतका दरले भौतिक प्रगति भइरहेको छ।
यो सडकको दुई वर्षको अवधिमा मुस्किलले १४.०३ प्रतिशत मात्रै भौतिक प्रगति भएको थियो। चाइना रेल्वे इन्जिनियरिङ २ ग्रुप कम्पनी लिमिटेडले अहिले कञ्चनपुर कमला सडक योजनाको पूर्वी र पश्चिम खण्डमा मासिक सरदर ५ प्रतिशतको भौतिक प्रगति हासिल गर्दै आइरहेको छ।
कञ्चनपुर कमला सडक योजनाले भौतिक प्रगति नबढाएको खण्डमा ठेक्का तोड्नेसम्मको चेतावनी दिएसँगै चिनियाँ ठेकेदार कम्पनीले अहिले कञ्चनपुर कमला सडक योजनाको पूर्वी र पश्चिम खण्डमा मासिक सरदर ५ प्रतिशतका दरले भौतिक प्रगति गरिरहेको छ।
कञ्चनपुर कमला सडक योजना कार्यालयले दुई वर्षअघि ८६.८२ किलोमिटर सडक चार लेनमा स्तरोन्नति गर्ने योजना अघि सारेको थियो। सो योजना अन्तर्गत ५४ पुल, ८ अन्डरपास र दुई वटा फ्लाईओभर निर्माण गर्ने योजना अघि सारिएको थियो। यो योजनाको काम २९ अक्टोबर २०२० मा सुरु भएर २८ अक्टोबर २०२३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। सडक विभागका महानिर्देशक अर्जुनजंग थापा कञ्चनपुर कमला सडक योजनाको कामले पछिल्लो समय लय समातेको बताएका छन्।
‘सडक विभागको निरन्तर खबरदारीको कारणले पछिल्लो समय ठेकेदार कम्पनीले काममा स्पिडअप गर्न थालेको छ,’ उनले भने ‘केही महिनायता कञ्चनपुर–कमला सडक खण्डको मासिक ५ प्रतिशतसम्मको भौतिक प्रगति हुँदै आइरहेको छ।’ महानिर्देशक थापाले ठेक्का तोड्नेसम्मको चेतावनी दिएसँगै ठेकेदार कम्पनीले निर्माणको काम अघि बढाएको दाबी गरे। सरकारले एसियाली विकास बैंकको ऋण साझेदारीमा यो सडक विस्तार तथा स्तरोन्नतिको काम अघि सारेको हो।
यो आयोजनाको निर्माण लागत १५ अर्ब ६६ करोड ४४ हजार ९ सय ३८ रूपैयाँ राखिएको छ। गत आर्थिक वर्षसम्म यो योजनाको समष्टिगत प्रगति १४.०३ प्रतिशत थियो। दुई अर्ब ५० करोड रूपैयाँ अर्थात् योजनातर्फको वित्तीय ८.८९ प्रतिशत र मोविलाइजेसनबापत १५ प्रतिशत खर्च भएको छ। यो योजना अन्तर्गत चार लेनको सडक ७०.३३ किलोमिटर; ६ लेनको सडक १६.४९ किलोमिटर; र २ लेनको ५४ वटा पुल निर्माण हुने छ। यो योजना अन्तर्गत ८ वटा अन्डरपास निर्माण गरिँदैछन् ।
पश्चिम खण्डको भौतिक प्रगति २७ प्रतिशत कञ्चनपुर कमला सडक योजना (पश्चिम खण्ड) लाहानका योजना प्रमुख गागलकुमार भण्डारीले पश्चिम खण्डको सडकको हालसम्मको समष्टिगत भौतिक प्रगति २७ प्रतिशत भएको बताए। ‘लामो समयदेखि यो खण्डको सडक निर्माण कार्यले गति लिन सकेको थिएन,’ उनले भने ‘अहिले ठेकेदार कम्पनीले सडक विस्तारको काम रफ्तारले गरिरहेको छ।’
योजना प्रमुख भण्डारीले निर्माण कम्पनीलाई मासिक १० प्रतिशतको दरले निर्माणको काम गर्न निर्देशन दिँदै आइरहेको बताए। कञ्चनपुर कमला सडक योजना पश्चिम खण्ड अन्तर्गत ३६.९९ किलोमिटर सडक चार लेनमा विस्तार गरिँदैछ। १०.४१ किलोमिटर सडक ६ लेनमा विस्तार र स्तरोन्नति गरिनेछ। यो खण्डमा २५ वटा पुल निर्माण गरिनेछ। २ वटा ओभरपास निर्माण गरिनेछ। चार लेनको सडकको इन्टरसेक्सनमा सडकको तहभन्दा माथि दुई वटा ओभरपास निर्माण गरिँदैछ। सोमध्ये एउटा लाहान र अर्काे मिर्चैयामा निर्माण गर्ने योजना छ। लाहानमा जहाँ ओभरपास निर्माण गर्ने स्थान हो त्यहाँ सहिदका शालिक समयमै हटाउन नसक्दा समस्या भइरहेको आयोजनाले जनाएको छ। ६ वटा अन्डरपास निर्माण गरिनेछ। यो खण्डको लागत ८ अर्ब ३८ करोड ९९ लाख ६८ हजार ७ सय ४८ रहेको छ। यो खण्डको भौतिक प्रगति २७ प्रतिशत भएको छ। ‘गत डिसेम्बर महिनामा यो खण्डको सडक ५ प्रतिशत भौतिक प्रगति गरेको थियो,’ उनले भने ‘चिनियाँ ठेकेदार कम्पनी चिनियाँ नयाँवर्ष मनाउन जाँदा पनि डिसेम्बर महिनामा थप ४ प्रतिशत भौतिक प्रगति भएको छ ।’ उनले २५ वटा पुल निर्माण गर्नुपर्नेमा अहिले २१ वटा पुलको फाउण्डेसनको काम सकिसकेको बताए। ‘२१ वटा पुलमध्ये पनि १० वटाको त सबस्ट्रक्चरको काम सकिसकेको छ,’उनले भने, ‘बाँकी ११ वटाको सबस्ट्रक्चरको काम निर्माणाधीन अवस्थामा छ।’४७ किलोमिटर सडक विस्तार गर्नुपर्नेमा अहिलेसम्म यो खण्डमा सबवेश तयार पार्ने काम भइरहेको छ। ‘अहिले सडकको भने सबवेस राख्ने काम भइरहेको छ,’ उनले भने, ‘४७ किलोमिटरमध्ये अहिले ९ किलोमिटर सडक खण्डमा सबवेस राख्ने काम भएको छ।’
पूर्वीखण्डको डिसेम्बरसम्म १९ प्रतिशत भौतिक प्रगति कञ्चनपुर–कमला सडक योजना पूर्वीखण्डका इन्जिनियर राजिब झाले यो सडक खण्डको गत डिसेम्बरसम्म १९ प्रतिशत भौतिक प्रगति भएको बताए। ‘केही समय अघिसम्म यो योजनाको सडक निर्माणले गति लिन सकेको थिएन,’ उनले भने ‘अहिले ठेकेदार कम्पनीले मासिक ३ देखि ४ प्रतिशतको भौतिक प्रगति गर्दै आइरहेका छन्।’ उनले निर्माण कम्पनीले सरदर ३ देखि ५ प्रतिशत भौतिक प्रगति हासिल गर्दै आइरहेको बताए। कञ्चनपुर कमला सडक योजना पूर्वीखण्ड ३९.४२ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको छ। ६.०८ किलोमिटर सडक ६ लेनमा विस्तार गर्ने लक्ष्य राखिएको छ। ३३.३४ किलोमिटर सडक चार लेनमा स्तरोन्नति गर्ने लक्ष्य राखिएको थियो।
यो योजना अन्तर्गत २९ वटा पुल र २ वटा अन्डरपास निर्माण गर्नुपर्नेछ। योजनाका इन्जिनियर झाका अनुसार २९ वटा पुलमध्ये २१ वटा पुलको पाइल (जग) फाउण्डेसन निर्माणको काम भइरहेको बताए। ‘२१ वटा पुलको ७ सय १३ वटा पाइल (जग) राख्नुपर्नेमा अहिलेसम्म ४१३ वटा सकिएको छ,’ उनले भने, ‘अझै डेढ सय जति पाइल राख्ने काम बाँकी छ।’ अन्य आठ वटा पुलको भने ओपन फाउण्डेसन निर्माणको तयारी भइरहेको छ। उनले अहिले पुलको सबस्ट्रक्चर र सुपर स्ट्रक्चर लगायतको काम अघि बढाइरहेको बताए। यो खण्डको सडकको लागत ७ अर्ब २७ करोड लागत रहेको छ। यो खण्डको गत डिसेम्बरको अन्त्यसम्म १९ प्रतिशत भौतिक प्रगति र ११.३४ प्रतिशत वित्तीय प्रगति भएको छ। इन्जिनियर झाका अनुसार सडक खण्डमा रहेका बिजुलीका पोल सार्ने, सडकको किनारामा माटो थ्रुपार्ने लगायतका काम भइरहेका छन्। यो योजनाको काम लक्ष्य अनुसार हुन सकेको छैन। कोभिड १९ र चिनियाँ ठेकेदार कम्पनीको ढिलासुस्ती, क्रसर उद्योग बन्द लगायतका कारणले पनि यो योजनाको काम अपेक्षित गतिमा हुन सकिरहेको छैन। यो सडकखण्ड २९ अक्टोबर २०२३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। ‘निर्माण कम्पनीले मासिक ४/५ प्रतिशतको दरले काम गरेको खण्डमा तोकिएको समयभित्रै निर्माण सम्पन्न हुनेछ,’ उनले भने। यो खण्डको गत असार मसान्तसम्मको अवधिमा १३.७० प्रतिशत भौतिक प्रगति रहेको थियो ।
प्रकाशित: २६ माघ २०७९ ०१:३१ बिहीबार