१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

हवाई इन्धनको भाउ घट्यो

काठमाडौं–चाडबाडमा सहुलियत दिन नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएको छ । शुक्रबार आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिहजार लिटर ५० डलर मूल्य घटाएको निगमका प्रवक्ता भानुभक्त खनालले बताए । ‘चाडबाडमा मूल्य घटाएपछि हवाई भाडा घट्ने अपेक्षा गरेका छौं,’ खनालले भने, ‘केही साताअघि ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँ भाउ घटाएका थियौं ।’
अब आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ९९ रुपैयाँबाट ९४ रुपैयाँमा झरेको छ । त्यसैगरी, अन्तर्राष्ट्रियतर्फ प्रतिहजार लिटर ८ सय ८१ डलरबाट ८ सय ३१ डलर भएको निगमले जनाएको छ ।

हवाई इन्धनको मूल्य प्रतिलिटर न्यूनतम ४ रुपैयाँ घटबढ हुँदा हवाई भाडा पनि त्यसकै अनुपातमा निर्धारण गर्ने हवाई सेवा कम्पनीसँग सरकारको पूर्वसमझदारी भएकाले हवाई भाडा घट्ने भएको छ । आइतबारै हवाई कम्पनीले भाडा घटाउने निर्णय हुने जनाएका छन् ।
पेट्रोल र डिजेलको भाउ भने तत्काल थपघट नहुने निगमले जनाएको छ । ‘अन्य पेट्रोलियम पदार्थको भाउ तत्कालका लागि बढाउँदैनौं,’ खनालले भने । निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७ सय २० पैसा नाफा राखेर ९७ रुपैयाँ, डिजेलमा १ रुपैयाँ २० पैसा नाफा राखेर ७३ रुपैयाँ लिटरमा बेच्दै आएको छ । त्यसैगरी, मट्टीतेलमा १८ रुपैयाँ ८९ पैसा नाफा राखेर ७३ रुपैयाँमा बेच्दै आएको छ ।

दैनिक उपभोग्य वस्तुमा छुट

सरकारले चिनी, नुनसहितका दैनिक उपभोग्य वस्तुमा छुटसहित सहुलियत पसल सञ्चालन गर्ने भएको छ । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत उपत्यकासहित २६ जिल्लामा उपभोक्तालाई छुट दिने गरी पसल सञ्चालनमा ल्याउने आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बताए । ‘उपत्यकाका १३ स्थान र उपत्यका बाहिरका २३ स्थानमा उपभोक्ताले सहुलित पाउने छन्,’ प्रवक्ता रेग्मीले भने, ‘ ७८ प्रकारका खाद्यान्नमा छुट दिने व्यवस्था मिलाएका छौं ।’

चिनीमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा २, चामलमा १० रुपैयाँ छुट दिने निर्णय भएको मन्त्रालयले जनाएको छ । चिनीमा साल्ट ट्रेडिङ, चामलमा खाद्य संस्थानमार्फत छुटको व्यवस्था मिलाइएको छ ।

शनिबारदेखि कात्तिक २१ सम्म उपत्यकाको रामसाहपथ, थापाथली, नक्खु, जावालाखेल, बल्खु, टेकु, कोटेश्वर, भक्तपुर सूर्यविनायक, बूढानीलकण्ठ नारायणस्थान, बौद्ध, सतुङ्गल, नयाँ बानेश्वर, कालिमाटीमा साल्ट ट्रेडिङले सुपथ मूल्य पसल सञ्चालन गर्ने साल्ट ट्रेडिङका विभागीय प्रमुख ब्रजेशकुमार झाले बताए ।

‘हाम्रा सुपथ मूल्य पसलमा एक व्यक्तिले ३ किलो नुन र ६ किलोसम्म चिनी पाउनेछन्,’ उनले भने । त्यसैगरी, काभ्रेपलाञ्चोक, झापा, विराटनगर, सुनसरी, सिरहा, मकवानपुर, चितवन, कास्की, बागलुङ, रुपन्देही, कैलाली, कपिलवस्तु, दाङ, सुर्खेत, नेपालगन्ज, धनगढी, महेन्द्रनगर, डोटी, डडेलधुरा, कन्चनपुर, नुवाकोटमा पनि सूपथ मूल्य सञ्चालन गर्ने निर्णय गरेको छ ।

सरकारी संस्थानमार्फत मात्र नभएर किराना व्यवसायीमार्फत उपभोक्तालाई सहुलियत दिन सरकारको निर्देशनअनुसार नेपाल खुद्रा व्यापार संघलाई चिनीमा ५ रुपैयाँ छुट दिने गरी ५ हजार बोरा चिनी र ३ हजार बोरा नुन उपलब्ध गराइएको छ ।

त्यसैगरी, नेपाल खाद्य संस्थानले चामल र गेडागुडीमा १० रुपैयाँ, दुग्ध संस्थानले घ्युमा १०, पनिरमा ५ रुपैयाँ किलोमा छुट दिने निर्णय भएको छ । यता निजी क्षेत्रको भाटभटेनी सुपरमार्केटले पनि आफ्ना बिक्री कक्षबाट ८४ प्रकारका दाल तथा गेडागुडी, ८९ प्रकारका मसला, ३ किसिमका नेपाली खाने तेल, २४ किसिमका चाामलसहित २ सय ६० वस्तुमा छुट दिने घोषणा गरेको मन्त्रालयले जनाएको छ ।
बजारलाई सन्तुलित राख्दै कालाबजारीलाई निरुत्साहित गर्न विशेष बजार अनुगमन गरिरहेको मन्त्रालयले उपभोक्तालाई चाडबाडमा उपहारस्वरुप छुट दिने सरकारी मातहत छुट दिइने मन्त्रालयले जनाएको छ ।

दैनिक उपभोग्य वस्तु मात्र नभएर उपत्यका बाहिरबाट करिब २५ सय खसी, बोका र च्यांग्रा उपत्यकामा सहुलियत दरमा बिक्री गर्ने खाद्य संस्थानका प्रवक्ता पवनकुमार कार्कीले बताए । चाडपर्वको समयमा दैनिक उपभोग्य वस्तुको माग अधिक हुँदा व्यापारीले समेत सोही मौकामा कालोबजारी गर्ने गरेको घटनाबाट पाठ सिकेर सरकार पहिल्यै तयारीमा जुटेको छ । छुटलाई प्रभावकारी अनुगमन गर्न संयन्त्र बनाइएको प्रवक्ता रेग्मीले बताए ।

‘चाडपर्वका बेला हुने कालोबजारी, कृत्रिम अभाव, मूल्यवृद्धि, मिसावटलगायत नकारात्मक प्रवृत्तिलाई आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले नियमित अनुगमन गर्छ,’ उनले भने, ‘अनुगमन प्रभावकारी बनाउन पाँच टोली गठन गरेर परिचालन गरेका छौं ।’

 

प्रकाशित: १ आश्विन २०७३ ००:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App