२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

कोशी एक्स्पोमा अल्लोको कपडादेखि स्वादिलो अचारसम्म

विराटनगरमा आयोजना हुने सिएनआई एक्स्पोमा घरेलु तथा साना उद्यमीका उत्पादनलाई प्रवर्द्धन गर्न अल्लोको कपडादेखि विभिन्न स्वादका अचारका ‘स्टल’ रहने भएका छन्।

एक्स्पो यही माघ १९ देखि २८ गतेसम्म चल्ने र सो एक्स्पोको साझेदार संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको समन्वयमा लघु, घरेलु, साना र कृषि उद्यमीका लागि मात्रै ७२ स्टल रहने जनाइएको छ। ताप्लेजुङको राडी, तेह्रथुमको ढाका, भोजपुरको खुकुरी, विभिन्न जिल्लामा निर्मित हस्तकलाका सामान, घरेलु सामग्रीबाट निर्मित जुत्ता-चप्पल, ढाकाका कपडा, विभिन्न जातका फलफूल र अचारका स्टल रहने छन्।

हिमाली जिल्लाका जडिबुटी औषधि, छुर्पी, मह, चिज, अकबरे खोर्सानी लगायतका अर्गानिक कृषि उत्पादन पनि एक्स्पोमा राखिने नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले बताए।

विशेषगरी महिला संलग्न भएर सुरु गरिएका लघु तथा घरेलु उद्योग, कृषिजन्य वस्तुका विशेष उत्पादनलाई एक्स्पोका माध्यमबाट बजारसम्म पुर्‍याउने र उनीहरूलाई पनि खुला बजारमा पहुँच स्थापित गर्ने उद्देश्यका साथ स्टलका लागि समन्वय गरिएको अध्यक्ष निरौलाले बताए।

‘यो एक्स्पोमा हामी पनि साझेदारका रूपमा रहेका छौं। त्यही भएर अनेक प्रकारका लघु तथा घरेलु, कृषि उद्यमको प्रवद्र्धनका लागि हामीले एक्स्पोमा विशेष स्थान पाएका छौं’  उनले भने,‘हरेक उद्यमीलाई ठूला उद्योगीसरह आफ्ना उत्पादनको प्रदर्शनी र बिक्री वितरण गर्ने अवसर मिलेको छ। यो हाम्रो लागि निकै ठूलो उपलब्धि ठानेका छौं।’

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले एक्स्पोको सहयोगी संस्थाका रूपमा रहेर आफ्नो क्षेत्रको व्यापार-व्यवसायको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गरेको छ। महासंघकै कारण जुटबाट बनेका र अरू धेरै हस्तकलाका सामग्रीलाई ठूला व्यवसायीले जस्तै प्रदर्शन गरेर उपभोक्ता समक्ष पुर्‍याउन लागेको महासंघकी महिला उपसमितिकी अध्यक्ष सुनिता छाराहाङले बताइन्।

आफ्नै लघु उद्योगबाट उत्पादित भएको क्लिनिङ साबुन, फिनेल लगायतका सामग्री एक्स्पोमा राख्न पाएको उद्यमी रेखा चौधरीले सुनाइन्।

त्यसैगरी अगरबत्ती, मसला लगायत वस्तुको उत्पादन गर्दै क्रमशः उत्पादन वृद्धि गर्दै लगे पनि बजार निर्माणमा सीप र ज्ञान नभएका कारण पछि परेको अनुभव भइरहेको बेलामा एक्स्पोमा स्टल पाएर आफ्नो उत्पादन प्रदर्शन र बिक्री वितरण गर्ने अवसर हुन लागेकोमा महिला उद्यमी सोमी चौलागाईंले बताइन्।

सिएनआई कोसी एक्स्पो २०७९ मा चार सय बढी स्टल रहने एक्स्पोकी सहसंयोजक गिरिजा सारडाले बताइन्।

उनले महिलालाई स्टल राख्न विशेष रूपमा प्रोत्साहन गरिएको पनि बताइन्। विराटनगर-२ शङ्कपुरमा एक्स्पोको तयारी तीव्र पारिएको छ। एक्स्पोमा स्टल बुक गरेका उद्यमी र उद्योगी व्यवसायीका लागि आइतबारसम्म सुविधा सम्पन्न डोम हस्तान्तरण गरिने जनाइएको छ। रासस

प्रकाशित: १५ माघ २०७९ ०४:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App