९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

चिया किसान फेरि आन्दोलित

झापा– प्रत्येक वर्ष चर्किने चियाको हरियो पत्तीको मूल्य विवाद यसपटक पनि सुरु भएको छ । उद्योगीले मूल्यमा मनपरी गरेको भन्दै वर्षौंदेखि गुनासो गर्दै र पटक–पटक आन्दोलित बन्दै आएका झापाका चिया किसान फेरि आन्दोलनमा जुटेका छन् ।

किसान, उद्योगी र नेपाल चिया तथा कफी विकास बोर्डबीच सहमति भएर भारतीय  बजार मूल्य अनुसार भाऊ निर्धारण भइञ्जेल जिल्लाको चिया विवाद साम्य थियो । अहिले फेरि बल्झेको छ । साना किसान झापाली चिया व्यवसायी संघले हरियो चियापत्तीको उचित मूल्य तोक्न माग गर्दै  पुनः आन्दोलन सुरु गरेपछि समस्या थपिएको छ । किसानको आन्दोलनलाई अन्य पक्षले देखेको नदेख्यै गरिरहेका छन् । साना चिया किसानले चिया तथा कफी विकास बोर्डले उद्योगीसँग मिलेर किसानलाई अन्यायमा पारेको भन्दै बोर्डको विर्तामोडस्थित कार्यालयमा सातायता धर्ना दिइरहेका छन् ।

साना किसानले विगत १५ वर्षदेखि उद्योगीले किसानमाथि शोषण गरिरहेको आरोप लगाउँदै मूल्यमा भइरहेको शोषण अन्त्य गर्न माग अघि सारेको बताएका छन् ।  साना किसानका अध्यक्ष पुर्ण कार्कीले किसानको माग सम्बोधन नभएसम्म धर्ना कायम राख्ने र  थप आन्दोलन गर्ने बताए । उनले उद्योगी र चिया तथा कफी विकास बोर्डसँग पटक–पटक गरिएका सम्झौता कार्यान्वयन नगरिएकाले आन्दोलनको विकल्प नभएको बताए ।

भारतीय बजारको हरियो पत्तीको मूल्यलाई आधार मानी नेपाली चियाको मूल्य तय गर्न माग गर्दै वर्षाैदेखि किसान आन्दोलित बन्दै आएका छन् । ०७१ जेठ २९ गते गरिएको सोही मुताबिकको सहमति हालसम्म पनि उद्योगीले कार्यान्वयन नगरेको अध्यक्ष कार्कीको आरोप छ । सोही वर्ष चिया तथा कफी बिकास बोर्डले तय गरेको मूल्य समेत उद्योगीले नदिएको आरोप कार्कीले लगाए ।

पछिल्लो समयमा बोर्ड नै उद्योगीको पक्षमा लागेर हरियो पत्तीको मूल्य तोक्न थालेको गुनासो किसानको छ । उनीहरुले ०७२ असोजदेखि हालसम्म हरियो पत्तीको मूल्य अस्वीकार गर्दै पेश्की मात्र लिएको बताए । उनले हरियो चियापत्तीको मूल्य विवाद समायोजन गर्न उच्चस्तरीय ‘न्यायिक जाँच आयोग’ बनाउनुपर्ने धारणा राखे । नेपाल सरकारको ५० प्रतिशत अनुदान कार्यक्रम अन्तर्गत संघमा आवद्ध सहकारी संस्थालाई अनुदान दिन र बाँकी रकम तत्काल उपलब्ध गराउन माग पनि गरिएको छ ।

किसानले हरियो पत्तीको मूल्य भारतको सरकारी मूल्यलाई आधार बनाएर समायोजन गर्नुपर्ने माग राखेपछि उद्योगी वार्तामै बस्न छोडेको संघका सहसचिव सुदिप श्रेष्ठले बताए । उनले सरकारी स्तरबाट मात्र समस्याको उचित समाधान निस्कने बताए । अध्यक्ष कार्कीका अनुसार  भारतीय बजारमा भएको मूल्यलाई आधार मान्न उद्योगी तयार नभएर यो विवाद वर्षाैदेखि जारी छ । उनीहरुले भारतीय सरकारी चिया विभागको मूल्यलाई आधार मानेर नेपालको हरियो पत्तीको भाऊ तय गर्नुपर्ने धारणा अघि सारे । यसरी मूल्य समायोजन नभएसम्म यो समस्याको समाधान नहुने उनले बताए ।

झापामा प्रत्येक वर्ष साना किसानले ३ करोड किलोसम्म हरियो पत्ती उत्पादन गर्दै आएका छन् । झापामा मात्र ३ हजार परिवार चिया खेती गर्छन् भने ३५ सय बिगाहा जमिनमा चिया खेती हुँदै आएको छ । २३ गते ज्ञापनपत्र बुझाएर सुरु गरिएको धर्नामा संघका पदाधिकारी लगायत किसान समेत छन् ।

 

प्रकाशित: १ भाद्र २०७३ ०२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App