४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बुटवल पावर कम्पनीले ७.५ प्रतिशत नगद लाभांश दिने

 बुटवल पावर कम्पनी लिमिटेडको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। पुष ३० गते कार्की व्यांक्वेट, बबरमहल, काठमाण्डौमा सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा सम्पन्न भएको हो।

उक्त सभाले शेयरधनीहरुलाई आव। २०७८/७९ को खुद मुनाफा तथा संचित नाफावाट चुक्त पूँजीको ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा ५ प्रतिशत बोनस शेयर जारी गर्ने लगायत संचालक समितिवाट पेश भएका सबै प्रस्तावहरु पारित गरेको छ। नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ वमोजिम नेपाल सरकारको स्वीकृति लिएर शेयरधनीहरुलाई नगद लाभांश यथाशक्य छिटो वितरण गरिने छ। बोनस शेयर जारी भएसंगै कम्पनीको चुक्ता पूँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६ सय रुपैयाँ कायम हुनेछ ।

कम्पनीले संचालन गर्दै आएका ९.४ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिमरुक जलविद्युत केन्द्रहरु नियमित रुपमा संचालन भैरहेका छन् । साथै सहायक तथा सम्वद्ध कम्पनीहरु मार्फत सन्चालित ४ मे. वा. को खुदी जलविद्युत केन्द्र र ६० मे. वा. को खिम्ती प्रथम जलविद्युत केन्द्रको संचालन सुचारु रुपमा हुँदै आएको छ। खिम्ती प्रथम जलविद्युत केन्द्रको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखी नेपाल विद्युत प्राधिकरणमा गएको छ।

लमजुड्ढ जिल्ला स्थित ३० मे.वा. को न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई २०७९ बैशाख २७ देखि संचालनमा आएको छ। नेपाल विद्युत प्राधिकरणवाट निर्माण हुनु पर्ने प्रशारण लाईन निर्माणमा ढिलाई भएका कारण आयोजनाले बैकल्पिक प्रशारण लाईन निर्माण गरी विद्युत आपूर्तिको व्यवस्था गरिएको छ। यद्यपी नेपाल विद्युत प्राधिकरणले वर्षायाममा सबै विद्युत नलिएका कारण सो आयोजनालाई मार्का पर्न गएको छ।

३७.६ मे.वा.को कावेली ए जलविद्युत आयोजनाको स्थानीय रुपमा वित्तिय लगानी जुटाएर निर्माण कार्य पुनः सुचारु गर्नका लागि तयारी भैरहेको छ।

तीन चिनियाँ लगानी कर्ताहरुसंगको संयुक्त लगानीमा मस्र्याङदी नदीमा निर्माणको चरणमा रहेका अयोजनाहरुमा १३५ मेगावाटको मनाङ मस्र्याङदी जलविद्युत आयोजना, १३९.२ मेगावाटको तल्लो मनाङ मस्र्याङदी जलविद्युत आयोजना र ३२७ मेगावाटको माथिल्लो मस्र्याङदी दोश्रो जलविद्युत आयोजना क्यासकेड अर्ध जलाशययुक्त अवधारणामा (कुल जम्मा ६०१ मेगावाट) अगाडि बढाउने क्रममा छन्। मनाङ मस्र्याङदी जलविद्युत आयोजनाको निर्माण कार्य चालु आ.व. भित्रै शुरु हुनेछ। त्यस्तै ७.९ मेगावाटको चिनोखोला जलविद्युत आयोजना पनि निर्माणको तयारीमा रहेको छ। १६० मे.वा. को मुगु कर्णाली जलविद्युत आयोजना र ७ मे.वा. को झिमरुक सौर्य आयोजनाहरु पनि सम्भाव्यता अध्ययनकै क्रममा रहेका छन।

प्रकाशित: २ माघ २०७९ ०७:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App