२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

पौने पाँच अर्बको हस्तकला निर्यात

अच्युत रेग्मी/रासस

काठमाडौं- आर्थिक वर्ष ०७२/७३ चार अर्ब ७६ करोड २४ लाख ६० हजार रुपैयाँ बराबरको हस्तकला सामान विदेश निर्यात भएको छ। नेपाल हस्तकला महासंघका अनुसार निर्यात भएको सामानमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिका गएको छ। कुल निर्यातको ३० प्रतिशत हिस्सा अमेरिका गएको महासंघले जनाएको छ।

महासंघका अनुसार एक अर्ब ३६ करोड ६१ लाख ४० हजार रुपैयाँको सामान अमेरिका निर्यात भएको छ। सबैभन्दा थोरै २५ हजार रुपैयाँ बराबरको मोनाको निर्यात भएको छ। महासंघका महानिर्देशक गोविन्दप्रसाद पोखरेलले अमेरिकामा नेपाली हस्तकलाको धेरै माग भएको कारण अत्यधिक व्यापार भएको बताए।

'सबैभन्दा धेरै अमेरिकामा माग रहेको छ,' उनले भने। महासंघबाट हाल अमेरिका, युरोप, बेलायत, जर्मनी, फ्रान्स, फिलिपिन्स, क्यानडा, कुवेत, जापान, चीन, भारतलगायत ६० भन्दा बढी देशमा हस्तकलाका सामान निर्यात हुँदै आएको छ। नेपालमा उत्पादित हस्तकलामध्ये सबैभन्दा धेरै ललितपुरमा हुने गरेको छ।

नेपालबाट हाल अल्लो वस्तु, बासजन्य वस्तु, पोतेका सामान, हाड सिङका सामान, सेरामिक सामान, सुर्तीजन्य सामान, स्फटिकजन्य सामान, ढाका, फेल्ट, सिसा, धुप, छाला, धातुजन्य, कपडाजन्य, चित्रकला, कागज र कागजजन्य, रेशाजन्य, चाँदी गरगहना, प्रस्तकला, काष्ठकला र उलनजन्य सामान विदेशमा निर्यात हुँदै आएको छ।

आव ०७२/७३ विदेश निर्यात भएको हस्तकलामध्ये धातुजन्य हस्तकला धेरै रहेको छ। जसमा १ अर्ब २२ करोड ३२ लाख ८७ हजार रुपैयाँको निर्यात भएको हो। गत आवमा १ अर्ब ९ करोड १९ लाख ४८ हजार ८ सय ४३ रुपैयाँको निर्यात भएको थियो।

मुलुकमा हस्तकलाका जिल्लागत १४ र वस्तुगत १० संघ छन्। जिल्लागत संघ बागलुङ, भक्तपुर, दाङ, धनुषा, झापा, पाल्पा, कास्की, ललितपुर, लमजुङ, मकवानपुर, म्याग्दी, रामेछाप, सङ्खुवासभा र भक्तपुरमा छन्। वस्तुगत संघमा धातु, जुत्ता, सेरामिक्स, पस्मिना, कागज लगायत उद्योग आबद्ध छन्।

महासंघका अध्यक्ष धर्मराज शाक्यले प्राकृतिक रेशा, सिसाका सामान, बोधिचित्तका माला, रुद्राक्षलगायतका हस्तकला विदेशमा अत्यधिक माग हुने गरेको बताए। परस्परागत हस्तकलाभन्दा नयाँ हस्तकलाका सामान विदेशमा बढी माग हुने गरेको छ।

परम्परागत हस्तकलाका सामानमा काष्ठकला, प्रस्तरकला, धातुकला लगायत छन् भने नयाँमा प्राकृतिक रेशा, सिसाका सामान, बोधिचित्तका माला रहेका छन्। हस्तकला सामान निर्यातमा आव ०७१/७२ को तुलनामा आव ०७२/७३ मा दुई करोडले कमी आएको छ। आव ०७१/७२ चार अर्ब ७८ करोड ५४ लाख ७६ हजारको निर्यात भएको थियो।

महासंघ अध्यक्ष शाक्यले भूकम्प र नाकाबन्दीका कारण गत आवको तुलनामा पछिल्लो आवमा निर्यात घटेको बताए। महासंघमा १५ सय व्यवसायी आबद्ध भए पनि हाल २ सयदेखि ४ सयले मात्र हस्तकलाका सामान नियमित रूपमा निर्यात गर्दै आइरहेका महासंघले जनाएको छ।

प्रकाशित: १८ श्रावण २०७३ ०४:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App