१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

खराब मौसम-मानवीय त्रुटि प्रमुख कारण

काठमाडौं- खराब मौसम हुँदाहुँदै चालकदलले बादलभित्र प्रवेश गर्ने निर्णय गर्नु नै पाँच महिनाअघि पोखराबाट जोमसोम उडेको जहाज दुर्घटना हुनुको प्रमुख कारण रहेको निष्कर्ष दुर्घटना जाँच आयोगले निकालेको छ। निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी तारा एयरले दुर्घटना हुनु चार महिनाअघि मात्र खरिद गरी ल्याएको १९ सिट क्षमतायुक्त 'ब्रान्ड न्यु' 'टि्वनअटर' जहाज कास्कीको पोखरा विमानस्थलबाट २०७२ फागुन १२ गते बिहान ७ः५० बजे जोमसोमका लागि उडेको १० मिनेटमै (८ बजे) सम्पर्कबिहीन भएको थियो। त्यसको झन्डै साढे पाँच घन्टापछि म्याग्दीको दाना–२ स्थित सोली घोप्टेभीरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।

क्यानडाको भाइकिङ कम्पनीले उत्पादन गरेको 'डिएचसी६–४००' सिरिज तथा कलसाइन '९एन–एएचएच' भएको उक्त जहाजमा सवार सबै २३ जनाको मृत्यु भएको थियो। जहाजलाई क्याप्टेन रोशन मानन्धर र को–पाइलट डिकेस नेमकुलले उडाएका थिए भने एयरहोस्टेस रमा राउत थिइन्। जहाजमा दुई नाबालकसहित १८ नेपाली, एक चिनियाँ र एक कुवेती यात्रु थिए।

'बिग्रँदो मौसमको अवस्थामा मानव–यन्त्र सहकार्यको मूल्यांकन गर्दा मानवीय त्रुटिका कारण तारा एयरको उक्त जहाज दुर्घटनामा परेको आयोगको ठहर छ,' दुर्घटना जाँच आयोगका सदस्य सचिव तथा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यलेले आइतबार दुर्घटना प्रतिवेदन सार्वजनिक गर्दै भने, 'चालकदलले त्यसबेला बारम्बार बादलभित्र प्रवेश गर्ने निर्णय गरेका थिए र त्यो नै गलत हुन पुग्यो।'

'पोखराबाट जोमसोम उडेको जहाजका चालकदलले बिगँ्रदो मौसम हुँदाहुँदै पनि जहाजलाई बादलभित्र प्रवेश गराई पूर्वनिर्धारित उडान मार्गबाट बायाँतर्फ विचलन भएको अवस्थामा तातोपानी भन्ने विन्दु पार गरी साँघुरो खोँच हुँदै जोमसोमतर्फै  अगाडि बढाउने गरी ल्यान्ड स्लाइड विन्दु पुगेको भ्रम परेको स्थितिमा जमिनको उपस्थिति जनाउने यन्त्रमा देखिएको चित्र र सचेत गराउने आवाजको संवेदनशीलता नबुझी लेते बिन्दुतर्फ उचाइमा चढाउँदै बायाँ मोड्दा जहाजको मुख्य संरचनाको तल्लो सतह चट्टानी पहाडमा घर्षण हुन गई दुर्घटनाग्रस्त भएको थियो,' प्रतिवेदनको निष्कर्ष छ।

प्रतिवेदनका अनुसार मौसमी अवस्थाबारे जानकारी नहुनु, प्रतिकुल मौसम, उडानको गम्भीर चरणका बेला चालकदलको दक्षतासम्बन्धी त्रुटि, उपलब्ध सबै स्रोतको उपयोग गर्न नसक्नु र 'भिएफआर' (हेरेर गरिने उडान) पछ्याउन चालकदलको अनिच्छा दुर्घटनाका प्रमुख पाँचा सहायक कारण हुन्।

तारको उक्त जहाजमा 'ग्राउन्ड पोजिसनिङ सिस्टम' (जिपिएस) र 'टेरेन अवेरनेस वार्निङ सिस्टम' (टस) उपकरण जडित थियो। यी दुई उपकरणको सहयाताबाट ककपिटभित्र बसेका पाइलटले अगाडि कति उचाइको पहाड छ, तलतिर कति गहिराइमा खोल्सा वा खोलानाला छ, अगाडितिर बादल, कुहिरो वा हुस्सु छ/छैनदेखि सम्पूर्ण जानकारी पाउन सक्छन्।

दुर्घटनालगत्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा 'दुर्घटना जाँच आयोग' गठन गरेको थियो। आयोगका सदस्यमा नेपाली सेनाका महासेनानी इन्जिनियर दीपक बास्तोला, नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन श्रवण रिजाल र सिमि्रक एयरका वरिष्ठ इन्जिनियर रामप्रसाद कोइराला तथा सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव आचार्य थिए।

दुर्घटनाका कारण पत्ता लगाउनुका साथै भविष्यमा यस्तो दुर्घटना हुन नदिने सुझावसहित तथ्य पत्ता लगाइ प्रतिवेदन पेस गर्न आयोगलाई ९० दिन अवधि दिइए पनि आयोगले थप दुई महिना समय लिएको थियो।

तारा एयरलाई सुझाव

दुर्घटना जाँच आयोगको प्रतिवेदनमा जहाज सञ्चालक तारा एयरलाई ६ बुँदे सुझाव दिइएको छ। काठमाडौंबाहिरका प्रमुख विमानस्थलमा जहाजका लागि प्रभावकारी सञ्चालन नियन्त्रण कायम गर्नुपर्ने, जहाजमा नयाँ उपकरण जडित भए चालकदललाई आवश्यक तालिम दिनुपर्ने, भिएफआर उडानका प्रावधान पालना गर्नुपर्ने, वर्षा, उडिरहेको बादल, कुहिरो भएका अवस्थामा उडान प्रयास नगर्न, गन्तव्य विमानस्थलमात्र नभई अन्य विकट विमानस्थलका उडानमा प्रभावकारी उडान सुरक्षा संयन्त्र निर्माण गर्न तथा जहाज आयात गर्दा सम्पूर्ण प्राविधिक यन्त्र जडान भए/नभएको यकिन गर्न प्रतिवेदनले तारालाई सुझाएको छ।

उड्डयन प्राधिकरणलाई सुझाव

जाँच आयोगले उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पनि सात बुँदे सुझाव दिएको छ। प्राधिकरणले उड्डयन सुरक्षा क्षमता वृद्धि गर्नुपर्ने, नेभिगेसन र कम्युनिकेसन सम्बन्धी प्रक्रियालाई सहजीकरण र थप विकास गर्नुपर्ने, गन्तव्य विमानस्थल पुग्ने बाटोको मौसमबारे जानकारी पाउने संयन्त्र तयार गर्नुपर्ने, सबै विमानस्थलमा सुरक्षा व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने, जहाज आयात गर्दा आवश्यक सबै उपकरण रहे/नरहेको अनुगमन गर्नुपर्ने, एयर ट्राफिक कन्ट्रोलर (एटिसी) ले टावरबाट देखेको मौसम र गन्तव्य विमानस्थलको मौसमको चार्ट समान हुनुपर्ने तथा तालिम र कागजात सुपरीवेक्षणमा सुधार गर्नुपर्ने सुझाव दिएको छ।

प्रकाशित: १७ श्रावण २०७३ ०६:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App