१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

राजनैतिक परिवर्तनसंगै नेप्से सूचक करिब ४ महिना यताकै उच्च विन्दुमा, कारोबार पनि वढ्यो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा भएसंगै सेयरबजारमा सकरात्मक लक्षण देखिएको छ। आईतबार प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले सोमबार सपथ लिए पछि आज  दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर करिब ४ महिना यताकै उच्च विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। आजको कारोबार करिब ५ महिना यताकै उच्च रहेको छ।  

आज नेप्से परिसूचक ५९.८७ अंक बढेर १९८३.९५ विन्दुमा पुगेको छ। यो भदौ १४ गते यताकै उच्च विन्दु हो। भदौ १४ गते नेप्से परिसूचक १९९५.३४ विन्दुमा रहेको थियो। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १०.६० अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२८ अंक बढेको छ।

यस दिन २६१ स्टकको ६३ हजार ६७ पटकको कारोबारमा ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार रुपैयाँ बराबरको १ करोड २० लाख २९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आज कारोबार रकम गत साउन १८ गते यताकै उच्च हो। सो दिन नेप्सेमा ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो।

आजको  दिन ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिद्धार्थ इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स, अजोड इन्स्योरेन्स, श्रृजनशील लघुवित्त र कालिका पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस बाहेक तेह्रथुम पावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन २६१ स्टकमध्ये २० स्टकको मात्र मूल्य घटेको छ। यद्यपि, शेयरमूल्य गिरावटदर भने ३ प्रतिशतभन्दा कम रहेको छ।

आजको कारोबार रकमका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको आजको  दिन २० करोड ९४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, नेपाल टेलिकमको १४ करोडभन्दा बढीको  शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरी, नबिल बैंक र एनआईसी एशिया बैंकको १० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक ६.४३ प्रतिशत बढेको छ। त्यसैगरी, वित्त, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

प्रकाशित: १२ पुस २०७९ १०:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App