सुर्खेत- सुर्खेत लगानी वर्ष–२०७३ को अवसर पारेर जिल्लामा ६ अर्बको लगानी र १ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य सार्वजनिक भएको छ। स्थानीय सार्वजनिक–निजी–सहकारी परामर्श मञ्चको आयोजनामा हुन लागेको सुर्खेत लगानी वर्षमा १ हजार बिघाको औद्योगिक क्षेत्र शिलान्यासदेखि बहुचर्चित चौकुने सिमेन्ट उद्योग सञ्चालनसम्मका योजना छन्।
‘लगानी वर्ष–२०७३ को आधार : दिगो आर्थिक समृद्धिको पूर्वाधार’ नाराका साथ सुर्खेत उद्योग वाणिज्य संघले जिल्लाका विभिन्न निकायसँग सहकार्य गरी २०७३ लाई लगानी वर्षका रुपमा मनाउने योजना बनाएको हो,’ संघका अध्यक्षसमेत रहेका स्थानीय सार्वजनिक–निजी–सहकारी परामर्श मञ्चका सहसंयोजक प्रकाश अधिकारीले भने, ‘एक वर्षभित्र न्यूनतम ६ अर्ब लगानीका साथै १ लाख आन्तरिक तथा बाह्य पर्यटकलाई सुर्खेत भिœयाउने हाम्रो लक्ष्य छ।’
लगानी वर्षको सुरुआत असारको अन्तिम साताबाट हु“दैछ। साटाखानीमा हजार बिघाको औद्योगिक क्षेत्र उद्घाटन र पश्चिमको गुठुमा रहेको चौकुने सिमेन्ट उद्योग सञ्चालन गरेर लगानी वर्षको सुरुवात गरिने छ। ६ अर्बमध्ये ४ अर्ब मुक्तिश्री प्रालिले चौकुने सिमेन्ट उद्योगमा लगानी गर्नेछ। ‘बा“की दुई अर्बको लगानी शीत भण्डार, खानी तथा खनिज क्षेत्र, लखरपाटा सिमेन्ट आयोजना, वन क्षेत्र, जडीबुटी, पर्यटन, कृषि तथा पशुपालन उद्यम, उच्च मूल्यका वस्तु, शिक्षा, स्वास्थ्य, उर्जालगायतमा भिœयाइने छ,’ सहसंयोजक अधिकारीले भने, ‘यसका लागि सम्पूर्ण कार्य सुरु भइसकेको छ।’
लगानी वर्षलाई सफल बनाउन मुक्तिश्री प्रालिले आवश्यक उपकरणसहित सोमबारबाट काम सुरु गरेको छ। हजार बिघाको औद्योगिक क्षेत्रका लागि उद्योग मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव पेस भएको छ। मन्त्रिपरिषदबाट निर्णय हुनेबित्तिकै लगानी वर्ष सुरु गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए। लगानी वर्षको अवसरमा चौकुने सिमेन्ट उद्योग, औद्योगिक क्षेत्रको स्थापनाका साथै लखरपाटामा सिमेन्ट उद्योग स्थापनाका लागि उचित वातावरण बनाउने, जडीबुटी संकलन तथा व्यवसाय केन्द्र यसै वर्षदेखि सञ्चालन गर्ने, शीत भण्डार स्थापनाको काम सुरु गर्ने, खेर गएका कर्णालीको जडीबुटीको उच्चतम प्रयोगका लागि जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्य राखिएको उनको भनाइ छ।
‘उद्योग व्यवसायको स्थापना, जलविद्युत आयोजना निर्माण, सडक निर्माण, खानेपानी योजना्क, शिक्षालय निर्माण, विमानस्थल निर्माण सबै लगानी बढ्ने पक्ष हुन्,’ उनले भने, ‘जिल्लामा भएका लगानीलाई संस्थागत गर्ने, लगानी विस्तारका लागि व्यावसायीको क्षमता विकास गर्ने, लगानीमैत्री वातावरणको विकास गर्ने र थप स्वदेशी वा विदेशी लगानी आकर्षण गर्न लगानी वर्षको परिकल्पना अर्थपूर्ण देखिन्छ।’
सुर्खेत लगानी वर्षका लागि गठन भएको स्थानीय सार्वजनिक–निजी–सहकारी परामर्श मञ्चको संयोजक स्थानीय विकास अधिकारी छन्। सरोकारवाला सबै निकाय र संघ–संस्था सदस्य छन्। लगानी वर्ष–२०७३ भित्र जिल्लामा आर्थिक विकासका हिसावले सम्भावना रहेको उच्च मूल्य कृषि, पर्यटन, खानीखनिज,पशुपालन, वनजन्य क्षेत्रलगायत सम्भाव्य क्षेत्रको विस्तृत अध्ययन पूरा गर्ने, लगानीका सम्भावना सम्बन्धमा कम्तीमा ५ वटा (ग्यास प्लान्ट, जडीबुटी प्रशोधन केन्द्र स्थापना, शीत भण्डारण स्थापना, मासु प्रशोधन केन्द्र, चौकुने सिमेन्ट, प्याराग्लाइडिङ) परियोजना सञ्चालन गर्ने लक्ष्य राखिएको संयोजकसमेत रहेका स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले जानकारी दिए। उनले सुर्खेत लगानी वर्षलाई सफल बनाउन १ करोड ४३ लाख ६० हजार खर्च हुने अनुमान गरिएको बताए।
प्रकाशित: २१ असार २०७३ ०३:५६ मंगलबार