७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

उपत्यकाको मुख्य सडकमै भूमिगत लाइन विस्तार चुनौतीपूर्ण

नेपाल विद्युत् प्राधिकरणले महत्वाकांक्षी लक्ष्यसहित अघि सारेको भूमिगत विद्युतीय प्रसारण लाइन काठमाडौं उपत्यकाको मुख्य सडकमा बिछ्याउनै चुनौती देखिएको छ। नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच आवश्यक समन्वय नहुँदा भूमिगत विद्युतीय लाइन विस्तारमा जटिलता थपिएको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ फागुन ५ गते भूमिगत प्रसारण लाइनको शुभारम्भ एक औपचारिक कार्यक्रममार्फत गरेका थिए। काठमाडौंको मुख्य सडक खण्डमा भने भूमिगत प्रसारण लाइनको काम अझैसम्म पनि सुरु हुन सकेको छैन।

प्राधिकरणले सन् २०१९ मार्चमा भारतीय केइआई इन्ड्रस्ट्रिज लिमिटेडसँग महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रबाट भूमिगत प्रसारण लाइन निर्माणको लागि ठेक्का सम्झौता गरेको थियो। ठेक्का सम्झौता अनुसार ठेकेदार कम्पनीले सन् २०२१ को अक्टोबरभित्र भूमिगत प्रसारण लाइन निर्माणको काम सक्नुपर्ने हुन्थ्यो। अहिलेसम्म पनि उपत्यकामा भूमिगत विद्युतीय लाइन विस्तारले गति लिन सकेको छैन।  

नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानले काठमाडौंको मुख्य सडक खण्डमा अझै पनि भूमिगत विद्युतीय प्रसारण लाइनको काम सुरु हुन नसकेको बताए। ‘काठमाडौंको मुख्य सडक खण्डमा अझै पनि भूमिगत प्रसारण लाइन निर्माण गर्ने अनुमति पाएका छैनौं,’ उनले भने ‘काठमाडौं महानगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने सडकमा भूमिगत प्रसारण लाइनको काम भइरहेको छ। सडक विभाग मातहत पर्ने सडकमा भने अनुमति नपाएकाले सोचेजस्तो काम हुन सकिरहेको छैन,’ उनले भने, ‘सडक विभागले अनुमति दिन केही आलटाल गर्दै आइरहेको छ।’  

सडक विभागका प्रवक्ता भिर्माजुन अधिकारीले प्राधिकरणले भूमिगत विद्युतीय लाइन विस्तार गर्न अनुमति लिएको सडक लामो समयसम्म लथालिंग पारेकाले पुराना सडक सम्पन्न गरेपछि मात्रै नयाँ सडकको अनुमति दिने गरेको बताए। ‘हामीले प्राधिकरणलाई अनुमति लिएका सडक सम्पन्न गरेपछि मात्रै नयाँको लागि अनुमति दिने गरेका छौं,’ उनले भने, ‘प्राधिकरणले एकैचोटी सबै ठाउँको सडक खनेर भूमिगत प्रसारणलाइन बिछ्याउने भन्ने गरेकाले पनि अहिलेको समस्या देखिएको हो,’ उनले भने, ‘हामीले पहिला खनेका सडकमा काम सकौं, त्यसपछि मात्रै नयाँ सडकमा भूमिगत विद्युतीय लाइन विस्तार गरौं भन्दै आइरहेका छौं।’

उपकार्यकारी निर्देशक प्रधानका अनुसार महाराजगञ्ज वितरण केन्द्रतर्फ ७० प्रतिशत र रत्नपार्क वितरण केन्द्रतर्फ ६० प्रतिशत मात्रै भूमिगत विद्युत् लाइनको विस्तारको काम भएको बताए। एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा सञ्चालित दुई वितरण केन्द्र अन्तर्गतको भूमिगत प्रसारण लाइन निर्माणका लागि सात अर्ब लागतमा निर्माण कार्य अघि बढाइएको हो।

महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरू बालुवाटार, बुढानिलकण्ठ, टोखा, गोंगबू, महाराजगञ्ज, आदि स्थानहरूमा करिब २५० किलोमिटर ११००० भोल्टेजको भूमिगत लाइन तथा करिब ४०० किलोमिटर ४०० भोल्टेजको भूमिगत लाइन निर्माणको साथै करिब २५० किलोमिटर अप्टिकल फाइबर भूमिगत बिछ्याइने लक्ष्य राखिएको थियो।  

यो ठेक्का २०७५ साल चैतमा भारतीय केइआई इन्डस्ट्रिजसँग महाराजगञ्ज वितरण केन्द्रमा भूमिगत विद्युत् प्रसारण लाइन विस्तारको लागि तीन अर्ब ८० करोड लागतमा ठेक्का सम्झौता गरिएको थियो। सो सम्झौता अनुसार २०७९ कात्तिक १४ गतेभित्र प्रसारण लाइन निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। यो खण्डमा मुस्किलले ७० प्रतिशत मात्रै भूमिगत विद्युत्को काम सकिएको छ। निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानले कलंकी महाराजगञ्ज सडक खण्ड विस्तारको काम नहुँदा मुख्य सडक खण्डमा भूमिगत विद्युत् लाइनको काम प्रभावित भएको बताए। ‘कंलकीदेखि महाराजगञ्जसम्मको चक्रपथ चिनियाँ कम्पनीले विस्तार गर्ने भनिएको छ तर अहिलेसम्म यो सडक खण्ड विस्तारको काम अघि नबढेकाले यो खण्डमा काम हुन सकेको छैन,’ उनले भने, ‘सडक र भूमिगत प्रसारण लाइन समन्वय गरेर निर्माण गर्न खोज्दा केही चुनौती थपिएको छ।’

निर्देशनालयका अनुसार महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत बुढानिलकष्ठ, बसुन्धारा, मन्डिकाटार लगायतका क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माणको काम भइरहेको छ। प्राधिकरणले सडकको पेटी र फुटपाथमा राखिएका विद्युत्का प्यानललाई पनि व्यवस्थित गर्ने भएको छ।  

निमित उपकार्यकारी निर्देशक प्रधानले साँघुरो फुटपाथ र सडकमा राखिएका विद्युत्का एक सय प्यानलले पैदलयात्रुलाई असर पारेकाले फेरि व्यवस्थित गर्ने काम भइरहेको बताए। प्राधिकरणले रत्नपार्क वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरू रत्नपार्क, न्युरोड, अनामनगर, ठमेल, त्रिपुरेश्वर, सिंहदरबार, लाजिम्पाट, एयरपोर्ट, चाबहिल जोरपाटी आदि स्थानहरूमा करिब २०० किलोमिटर ११००० भोल्टेज, करिब ४०० किलोमिटर ४०० भोल्टेजको भूमिगत विद्युतीय लाइन निर्माण र करिब २०० किलोमिटर अप्टिकल फाइबर जमिनमुनि बिछ्याइने लक्ष्य राखेको थियो।  

रत्नपार्क वितरण केन्द्र अन्तर्गत पर्ने टेकु, त्रिपुरेश्वर थापाथली, माइतीघर, नयाँबानेश्वर, तिनकुने–सिनामंगल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका क्षेत्रमा भने सडक विभागबाट अनुमति नपाएर अहिलेसम्म पनि भूमिगत विद्युतीय लाइन निर्माणको काम हुन सकेको छैन।  

यद्यपि यो खण्डको भित्री सडक खण्डमा भने काम भएको छ।। रत्नपार्क वितरण केन्द्रले गौशालादेखि चाबहिल चुचेपाटीसम्म मात्रै भूमिगत प्रसारण लाइन निर्माण कार्य सम्पन्न गरेको छ। 

प्रकाशित: ५ पुस २०७९ ०२:४१ मंगलबार

नेपाल विद्युत् प्राधिकरण भूमिगत विद्युतीय लाइन