३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

समर्थन मूल्य कार्यान्वयन नगरे आन्दोलन गर्ने किसानको चेतावनी

धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयनको माग गर्दै बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सहभागीहरू। तस्बिरः चुमन बस्नेत

विराटनगरका नेपाली कांग्रेस र नेकपा एमाले निकट किसानका संगठनहरूले दुई दिन भित्र धान खरिद नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्।  

बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी किसान संघ,संगठनहरूले आन्दोलनको चेतावनी दिएका हुन्। सरकारले कात्तिक १६ गते नै धानको समर्थन मूल्य तोके पनि किसानले न्यूनतम समर्थन मूल्य नपाएको उनीहरूको गुनासो छ। सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडे समेतले  किसानबाट सरकारले तोकेको मूल्यमा धान खरिद नगरेको भन्दै दुई दिन भित्र धान खरिद प्रक्रिया अघि नबढाए कार्यालयमा ताला लगाउने अखिल नेपाल किसान महासंघ मोरङका अध्यक्ष देवेन्द्र पौडेलले चेतावनी दिए । धानको समर्थन मूल्य थोरै तोक्ने र तोकेको मूल्य कार्यान्वयनमा पनि सरकारी निकायले बेवास्ता गरिरहेको पौडेलको आरोप छ।  

उनले किसानलाई राहत हुने गरी सरकारले न्यूनतम समर्थन मूल्य कार्यान्वयनमा लैजान आफूहरूले पटक–पटक माग गरेपनि सुनुवाइ नभएको गुनासो गरे। कांग्रेस निकट नेपाल किसान महासंघ मोरङका अध्यक्ष केदार थापाले समयमा मल पनि उपलब्ध नहुने अवस्थामा किसानले दुखले उब्जाएको धान सरकारले नै समर्थन मूल्य तोकेर नकिनेको गुनासो गरे। 

उनले उत्पादित धान सरकारले खरिद नगरेपछि व्यापारीको काँटामा पुग्न लागिसकेको भन्दै सरकार मूकदर्शक बनेर बसेको बताए। उनले तत्काल किसानबाट धान खरिदको प्रक्रिया अघि बढाउन माग गरे। ‘ किसानबाट व्यापारीकोमा पुगेपछि मात्रै धान खरिद गर्ने सरकार मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको मनसाय देखिएको छ’उनले भने ‘सरकारले तोकेको न्यूनतम समर्थन मूल्य किसानले पाउनु पर्ने हो तर व्यापारीलाई लाभ दिने प्रयास भइरहेको छ।’  

यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी विराटनगरका प्रमुख महेन्द्र सिटौलाले धान खरिदका लागि प्रक्रिया अघि बढिसकेको दाबी गर्नुभयो। धान खरिद प्रक्रिया सुरू भइसकेको र बुधबार नै  जिल्ला प्राथमिक खरिद समितिको बैठक बसेर धान खरिद प्रक्रिया सुरू गर्ने जानकारी दिए। २०७९ कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षका लागि मोटा धानको प्रति क्विन्टल २ हजार ९६७ रुपैयाँ र मध्यम धानको ३ हजार १२८ रुपैयाँ समर्थन मूल्य तोकेको थियो। 

सरकारले किसानहरूको आन्दोलनकै दबाबमा समर्थन मूल्य तोके पनि मंसिर तेस्रो सातासम्म धान खरिदको प्रक्रिया अघि नबढाएपछि किसानका संघ, संगठनहरूले  विरोध जनाएका हुन्। खाद्य  व्यवस्था तथा व्यापार कम्पनी विराटनगरले चालु आर्थिक वर्ष पहिलो चारणमा  १० हजार क्विन्टल धान खरिद गर्न लागेको जनाएको छ।  

प्रकाशित: २८ मंसिर २०७९ १४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App