१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

जलवायु संकटबारे छलफल गर्न विश्वका नेता एउटै मञ्चमा

कोप–२६ सम्मेलनमा सहभागिताका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई अभिवादन गर्दै बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन । तस्बिर सौजन्यः बेलायत सरकार

विश्वका नेताहरूले जलवायुु परिवर्तनले ल्याएको गम्भीर चुनौतीसँग जुध्न सहकार्य र एकताको आवश्यकता औंल्याएका छन्।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २६औं सम्मेलन (कोप–२६) को दोस्रो दिन र सोमबार सुरु भएको दुई दिवसीय वल्र्ड लिडर समिटको पहिलो दिन आफ्ना भनाइ राख्दै उनीहरूले जलवायु परिवर्तनलाई सम्बोधन गर्न तत्काल काम हुन नसके आगामी पिँढीका लागि ढिलो हुने धारणा राखे।

एक आयोजक राष्ट्र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोप–२६ असफल भए नियन्त्रण गर्न नसकिने व्यापक जनआक्रोश सिर्जना हुने चेतावनी दिए। ‘हामीले वार्ता र विवादबाट माथि उठेर कोइला, कार, नगद र रूख (कोल, कार, क्यास एन्ड ट्रिज) को विषयमा प्रभावकारी काम गर्नुपर्ने बेला आएको छ,’ विश्वका झन्डै २ सय नेता सहभागी सम्मेलनमा उनले भने, ‘हामी अहिले गम्भीर बनेनौं भने हाम्रा आगामी पिँढीका लागि यसो गर्नु ढिलो हुनेछ।’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनिओ गुटेरेसले पेरिस सम्झौतापछिको ६ वर्ष सबैभन्दा तातो वर्ष भएको उल्लेख गर्दै खनिज इन्धनको व्यापक प्रयोगलाई तत्काल रोक लगाउनुपर्नेमा जोड दिए। ‘अपेक्षाअनुसार भए पनि (वेस्ट केसमा) शताब्दीको अन्त्यसम्म २ डिग्री बढ्नेछ, यो असफलता मृत्युदण्डसरह हुनेछ,’ उनले भने।

विश्वको तापक्रम वृद्धिलाई १.५ प्रतिशतमा सीमित राख्ने हाम्रो चाहनालाई जीवन्त राख्न सन् २०३० सम्म तापमान वृद्धिका लागि जिम्मेवार हरितगृह ग्यासको विश्वव्यापी कटौतीलाई ४५ प्रतिशतले घटाउन गम्भीर हिसाबले काम हुनुपर्ने उनको कथन थियो। ‘हामीसँग कठोर अवसर छ, कि त हामीले यसलाई रोक्नुपर्‍यो, त्यसो नगरे यसले हामीलाई रोक्नेछ,’ महासचिव गुटेरेसले भने, ‘हामीले हाम्रो चिहान खनिरहेका छौं।’

सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनको विषयमा विश्व समुदायसँगको हातेमालो गर्ने टेबुलमा अमेरिका पुनः फर्केको बताए। ‘हामी बढ्दै गरेको संकटको मुखमा छौं। मलाई विश्वास छ, यो अमेरिकालगायत सबैका लागि उपयुक्त अवसर पनि हो। हामी विश्व इतिहासको महत्वपूर्ण घडीमा छौँ,’ उनले भने, ‘सबैको सहकार्यले संकटको समाधान सम्भव छ।’ फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोन, जर्मनीकी चान्सलर एन्जेला मर्केललगायत विश्वका विभिन्न नेताले वल्र्ड लिडर समिटको पहिलो दिन सम्बोधन गरे।  

यसैगरी विभिन्न जलवायु अभियन्ताहरूले पनि सम्मेलनमा जलवायु परिवर्तन रोक्न विश्वका नेताहरूलाई आह्वान गरे।

विश्वका १ सय ९० देशका नेता सहभागी ग्लास्को सम्मेलनमा विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनलाई यो शताब्दीको मध्यसम्म खुद शून्य (नेट जिरो) मा झारेर तापमान वृद्धिलाई १.५ मा सीमित राख्ने, जलवायु परिवर्तनबाट जीवन र जीवनयापनमा पर्ने संकट सम्बोधन गर्ने समुदायलाई सशक्त र अनुकूलित पार्न सहयोग गर्ने विषयमा छलफल हुनेछ।

त्यस्तै जलवायु परिवर्तनका प्रभावबाट अत्यधिक प्रभावमा परेका विकासोन्मुख तथा अल्पविकसित राष्ट्रलाई विकसित राष्ट्रले हरेक वर्ष १ सय अर्ब अमेरिकी डलरबराबरको सहयोग पुर्‍याउन गरेको प्रतिबद्धतालाई कार्यान्वयन गर्ने तथा अन्य विविध विषयमा गहन छलफल हुने तथा त्यसका लागि आवश्यक पर्ने संयन्त्र तथा कार्ययोजना बनाउनेबारे छलफल हुनेछ।

विश्वको तापमान वृद्धिका लागि कारक हरितगृह ग्यासको कुल उत्सर्जनमा चीन, अमेरिका तथा भारत अग्रपंक्तिमा छन्। विश्वका १० देशले कुल उत्सर्जनको दुई तिहाइ हिस्सा लिएका छन्। अमेरिका र भारतका कार्यकारी प्रमुखको उपस्थिति रहे पनि यो सम्मलेनमा चीनका राष्ट्रपति उपस्थित छैनन्। चिनियाँ राष्ट्रपति सी जिन पिङले लिखित भाषणमार्फत आफ्नो भनाइ राख्ने तयारी गरिरहेको बताइएको छ।

प्रधानमन्त्री देउवाको सम्बोधन

प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलनलाई सोमबार अबेर सम्बोधन गरेका छन्। सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले आगामी दिनमा पर्वतीय क्षेत्रसँग जोडिएका मुद्दालाई बढी प्राथमिकता दिनुपर्ने बताए। 

बढ्दो तापमानले पर्वतीय शृंखलामा समस्या आएको र त्यसले असर पुर्‍याएको पनि देउवाको भनाइ थियो। यसका साथै जलवायु परिवर्तन र यसले पुर्‍याएका असरहरूको सम्बोधनका लागि नेपाल पूर्ण प्रतिबद्ध भएको उनले बताए।

सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले पर्वतीय राष्ट्रहरूको समस्याको पहिचान र सम्बोधन, जलवायु वित्तको प्रभावकारी कार्यान्वयन, पृथ्वीको तापमान वृद्धिलाई १.५ डिग्रीमा सीमित गर्न आवश्यक पर्ने प्रयास तथा जलवायु परिवर्तनका कारण हुने हानि नोक्सानीलाई सम्बोधन गर्नेलगायतका विषय उठाएका थिए। आइतबार सुरु भएको कोप–२६ सम्मेलन दुई साता चल्नेछ।

प्रकाशित: १६ कार्तिक २०७८ ००:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App