१६ वैशाख २०८१ आइतबार
image/svg+xml
ब्लग

याेग दिवस: नेता ‘सिंहासन’, जनता ‘शीर्षासन’

आज आठौं अन्तर्राष्ट्रिय योग दिवस। १७७ देशहरूको समर्थन र सहभागितामा सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइँदै आएको छ। योगमा रहेका विभिन्न आसन मध्ये शीर्षासन र सिंहासन पनि हुन्। शीर्षासन अर्थात टाउको तल खुट्टामाथि। सिंहासन अर्थात सिंहको जस्तो मुख बनाएर लगाइने हुँकार।

योगलाई नेपाली जनताको वर्तमान अवस्थासँग तुलना गर्दा जनता नेताको सिंहासनको अगाडि जहिले पनि शीर्षासन गर्न बाध्य छन्। आइतबार मात्र सरकारको सिंहासने हुंकारले पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धी भोगेका सर्वसाधरणले  योगा दिवसको अघिल्लो दिननै शिर्षासन गर्न बाध्य भए।  

जनतालाई मूल्यवृद्धी मन परेको छैन। तर महंगो मूल्य तिरेर पेट्रोल हाल्न लाइन लागे। उनीहरुको पक्षमा बोलिदिने कोही छैनन्। सत्ता र सत्तापक्षलाई महंगीले कहिल्यै छुदैन। त्यसैले उनीहरु चुपचाप रहन्छन्। जनताका आवाजहरु सत्ताको कानमा पुग्नु अगावै हराउँछन्। सर्वसाधरणको समस्यासंग सत्ता  कहिल्यै संवेदनशिल बनेन।  

योगको अर्थ जोड पनि हो। नेताले आफ्नो सत्कर्म र व्यवहारले जनतासँग जोडिनु पर्थ्याे। तर त्यसो हुन सकेन। हरेक समय नेतृत्वले जनताको भावनाको ठिक विपरित कार्य गर्दै आएको छ। जनतालाई असारमा मल आवश्यक हुन्छ। नेता ल्याउन सक्दैनन्। जनतालाई रोजगार जरुरी हुन्छ। नेता खाडी मुलुकको बाटो देखाउँछन्। आफूलाई मन नपर्ने कर्मचारीलाई निलम्बन गर्न अग्रसर रहन्छन्। भ्रष्टाचारीको संरक्षक बन्छन्। सिंहासनमा बसिरदाँ आफूलाई राजा र अरुलाई रैती ठान्छन्।  

योग एक विशेष क्रिया हो, योग क्रियाले मानिसको चेतना र शरीरबीचको सम्बन्धलाई जोड्ने काम गर्दछ। मन र मस्तिष्कको संयोजनलाई नै योग भनिन्छ। नेता र जनताबीचको सम्बन्ध पनि त्यस्तै हुनुपर्थ्याे। नेतृत्वको विवेकले जनताको मन खुसी हुने कार्य गर्नुपर्थ्यो।  रोगीलाई उपचार, किसानलाई सिंचाई, विद्यार्थीलाई उचित शिक्षा, वेरोजगारलाई रोजगारीको अवसर सिर्जना गर्नुपर्थ्याे। तर धेरै भयो,  यसो हुन सकिरहेको छैन।  

सरकारको ‘सिंहासने’ हुंकारसँगै पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि भोगेका सर्वसाधरणले योगा दिवसको अघिल्लो दिननै शिर्षासन गर्न बाध्य भए।

सत्ता र शक्तिको उन्मादमा उनीहरुको ‘हठयोग’ झनै बढ्दो छ। जनताको ढाड सेकेर भएपनि राजश्व उठाउन तल्लीन छन्। लोकतन्त्र प्राप्तिपछि पनि थुप्रै साशक  फेरिए, तर सत्ताको उन्मादमा सिंहासनमा रहनेको व्यहवार फेरिएन। समग्रमा नेतृत्व जनतालाई  शिर्षासननै गराएर आफू सिंहासनमा बसिरहन उद्धत रह्यो।  

हिमवत्खण्ड  नेपाललाई प्राचीन कालदेखि योगको उद्गमस्थल मानिन्छ। स्वस्थ्य रहनका लागि यसलाई नियमित अभ्यासमा लान आजका दिन आग्रह गरिन्छ। नेताहरु जनतासँग जोडिइरहन चाहने हो भने परम्परागत आसनहरु फेरिनुपर्छ। हठ योग छाडेर सहज योगमा जोडिनु पर्छ। नत्र शीर्षासन गर्न बाध्य जनताहरुले नेताहरुको सिंहासन जरैदेखि उखेल्न बाध्य हुन्छन्।  

प्रकाशित: ७ असार २०७९ १०:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App