स्यानै उमेरमा मैले आमाको मुखबाट लेखनाथ, देवकोटा, सम, सिद्धिचरणहरूका कविता सुनेको थिएँ। त्यस्तो कविता लेख्ने मान्छे कस्ता होलान् भन्ने मेरो मनमा उत्कण्ठा थियो। तिनीहरूको दर्शन गर्ने उत्कट अभिलाषा थियो।
त्यसबेला धरान/विराटनगरमा प्रायः हिन्दी गीत गाउने चलन थियो। आमाकै प्रेरणाबाट मैले नौदस वर्षको उमेरमा गीत कथ्न थालेको थिएँ। मञ्चमा उभिएर आफ्नो गीत आफ्नै लयमा गाउन थालेको थिएँ। हिन्दी गीतको बोलवाला भएको समयमा एउटा फुच्चे केटोले नेपाली गीत कथेर गाउनु त्यसबेला धेरै ठूलो कुरा थियो। धेरै पुरस्कार पनि पाएको थिएँ।
साल सालमा प्रजातन्त्र रेडियो खुलेपछि रानुदेवी, नातिकाजी, हरिप्रसाद रिमाल, जनार्दन समहरूको गीत मैले सुनेँ। मलाई पनि रेडियोमा गीत गाउने रहर भयो। मलाई काठमान्डुतिर तान्ने अर्को कारण गीत पनि थियो। अन्नपानी छाडेर भोकहडतालमा उत्रेर भए पनि म काठमान्डु आइछाडेँ - २०१३ सालमा। काठमान्डु मेरा लागि स्वप्नलोक थियो।
पुगेको केही दिनमै गीतको कापी बोकेर चाबहिलस्थित नातिदाइको डेरामा पुगेँ। गीत सुनाएँ। साथमा, त्यसबेलाका चर्चित गीतकार माधव खनाल 'भावुक' को सिफारिसपत्र पनि थियो। नातिदाइले मेरो गीत सुनेर तारिफ गर्नुभयो र स्वरपरीक्षाका लागि रेडियोमा आउन भन्नुभयो। पछि कुनै दिन जाऊँला भनेर टारिरहेँ।
...
काठमान्डुमा मेरो खुसीको सीमा थिएन। रानीपोखरी, टुँडिखेल, धरहरा, सिंहदरबार सब मेरा लागि दर्शनीय थिए। असन, इन्द्रचोकमा मोहेार रुपैयाँको लक्कु बनाएर सटही गर्नेहरू बसेका हुन्थे। तराईमा भारतीय रुपैयाँको चलन चलन थियो। हामी कमिज-पेन्ट, कुर्ता-सुरुवाल लगाउँथ्यौं। काठमाडौं आएपछि नै मैले दौरासुरुवालको राष्ट्रिय पोसाक देखेँ। नेपाली रुपैयाँ, मोहर, सुकी देखेँ।
काठमाडौंमा मेरा एक जना काका अदालतमा काम गर्नुहुन्थ्यो। नक्साल, चारढुंगेमा डेरा थियो। साहित्यिक क्षेत्रमा चिनेको कोही थिएन। त्यसबेला काठमाडौंमा अघोर जाडो हुन्थ्यो। भर्खर तराईबाट आएको, मसित न्यानो लुगा पनि थिएन। एउटा स्वेटरको भर थियो। तैपनि सिउसिउ गर्दै हातमा कविताको कामी बोकेर साद्धैखोज्दै म कविहरूको घर पुग्थेँ।
बालकृष्ण सम, देवकोटा, लेखनाथ, सिद्धिचरण, भवानी भिक्षु सबलाई मैले कविता सुनाएँ। सिद्धिचरणज्यूले त १५ वर्षको ठिटोले त्यस्तो कविता लेखेको होला भनेर पत्याउनुभएन। त्यसबेला काठमान्डुमा फाट्टफुट्ट हैजा फैलेको थियो। मलाई त्यही हैजाबारे कविता लेखेर ल्याउन भन्नुभयो। तीन दिनपछि म कविता लिएर उपस्थित भएँ। कविता सुनेपछि मेरो काँधमा हात राखेर तपाईंले जुन बेला पनि सरासर मकहाँ आए हुन्छ भनेर भन्नुभयो। नभन्दै बालकृष्ण सम र सिद्धिचरणबाट मैले पछिसम्म आत्मीय माया पाइरहेँ।
कस्तो हतार, काठमान्डु आएको भोलिपल्टै बालकृष्ण समको ढोका ढकढकाउन पुगेको थिएँ।
सिद्धिचरणज्यूकहाँ कतिपल्ट कविता लेखिरहेको समयमा पनि पुगेको छु। उहाँको एकाग्रता विलक्षण थियो। ट्वार्र-ट्वार्र तमाखु तान्दै कविता लेख्नुहुन्थ्यो। मसित बीचबीचमा कुरा गर्नुहुन्थ्यो। फेरि मनमनै कथेर कागजमा उतार्नुहुन्थ्यो। यसरी मान्छे बसिरहेको, कुरा गरिरहेको अवस्थामा पनि आफ्नो धुनमा कविता लेख्न सक्ने मान्छे मैले अर्को देखेको छैन।
कविता सुनेर कोठामा सबैले प्रशंसा गरेपनि मैले काठमान्डुको साहित्यिक मण्डलीमा प्रवेश पाउन धेरै संघर्ष गर्नुपरेको थियो। तर पनि थाहा पाएसम्म म गोष्ठीहरूमा पुग्थेँ। त्यसबेलाको समयलाई नेपाली कविताको स्वर्णिम काल भन्न सकिन्छ। एउटै गोष्ठीमा तीन पिढीका सशक्त प्रतिनिधि कविहरूको कविता सुन्न पाइन्थ्यो। लेखनाथ, देवकोटा, सम, सिद्धिचरण, माधव घिमिरे, केदारमान व्यथितजस्ता अग्रज कविका साथै विजय मल्ल, श्यामदास वैष्णव, लिलाध्वज थापा, धर्मराज थापा, निरविक्रम प्यासीहरूको कविता सुन्न पाइन्थ्यो।
त्यही गोष्ठीमा भूपि शेरचन, भीमदर्शन रोका, पोषण पाण्डे, मोहनहिमांशु थापा, कृष्णभक्त, वासु शशीहरू पनि कविता पाठ गरिरहेका हुन्थे। गोपालप्रसाद रिमालको अवस्था ठिक थिएन। उहाँलाई रत्नपार्क, नयाँसडक पिपलबोट, दरबार स्कुलतिर आफैंसित बात मार्दै हिँडिरहेको अवस्थामा अक्सर म देखिरहन्थेँ।
त्यसबेला सिंगो काठमान्डु कवितामय थियो। त्यसबेलाका गोष्ठीहरू आफैंमा असाधारण थिए। धरान, विराटनगरमा पनि गोष्ठी त हुन्थे तर काठमाडौंका त्यसबेलाका गोष्ठीसित तुलना हुन सक्दैन।
शैली आआफ्नो
- सिद्धिचरण ट्वार्र-ट्वार्र तमाखु तान्दै कविता लेख्थे
- सम कुनै पात्रले अभिनयसहित संवाद पढेझैं कविता सुनाउँथे। कुरा गर्दा पनि नाटकको संवाद पढेझैं गर्थे
- लेखनाथ श्लोक पाठ गरेझैं छन्दबद्ध कविता सुनाउँथे
- देवकोटा आँखा चिम्लेर मगनमस्त हुँदै आफ्नै पारामा धाराप्रवाह कविता सुनाउँथे
- लिलाध्वज थापा पनि समझैं हलका मेकअप गरेर निस्कन्थे र झन्डै समकै पारामा कविता सुनाउँथे
- झ्याउरे छन्दमा मुक्तकजस्ता कविता लेख्ने निरविक्रम प्यासी जिउ मर्काई-मर्काई कविता पाठ गर्थे
- भूपिले कविता सुनाउँदा कसैले चुइँक्क बोल्न हुँदैनथ्यो। बीचमा थपडी बजाउन पनि निषेध
जसको नामले आज पनि काव्यजगत गौरवशाली भएको मानिन्छ ती सबै महारथीको कविता तिनकै मुखबाट सुन्न पाउनु सामान्य कुरा होइन। तराईमा जन्मेहुर्केको मजस्तो व्यक्तिले त्यो सौभाग्य पाएँ। मलाई लाग्छ, उच्च अध्ययनका लागि त्यसबेला काठमान्डु आउने मेरो निर्णय सही थियो। बनारसमा यो सब कहाँ पाउनु?
अहिले झलझली सम्भि्करहेछु - सेतो लामो कपाल, दाह्री, उच्च ललाट भएको लेखनाथजीको ऋषितुल्य व्यक्तित्व। अग्लो ज्यान, ठूलो निधार, तेजिला आँखासहितको देवकोटाजीको देदीप्यमान व्यक्तित्व। पिँडुलासम्म आउने दौराजस्तो बाक्लो कपडाको पहिरनसहित मेकअप गरेको बालकृष्ण समको व्यक्तित्व अरूका तुलनामा बिलकुल भिन्न देखिन्थ्यो। उहाँ कहिले श्रीमतीसहित दुईजना मिलेर हाँक्ने साइकलमा देखिनुहुन्थ्यो त कहिले रिक्सामा। उहाँको सम्पूर्ण परिवार मेकअप गरेर निस्केका कुनै नाटकका पात्रझैं प्रतित हुन्थे। समज्यू नाटकको संवाद पढेझैं गरेर कुरा गर्नुहुन्थ्यो।
सबको कविता सुनाउने शैली फरक थियो। लेखनाथ श्लोक पाठ गरेझैं आफ्नो छन्दबद्ध कविता सुनाउनुहुन्थ्यो। देवकोटा आँखा चिम्लेर मगनमस्त हुँदै आफ्नै पारामा धाराप्रवाह कविता सुनाउनुहुन्थ्यो। सिद्धिचरणज्यूलाई प्रायजसो कविता कण्ठ हुन्थ्यो। बीचमा अड्किएमात्र दोहोर्याएर सम्झनुपर्थ्यो। तर उहाँको कविता सुन्नमा भन्दा पढ्नमा मजा आउँथ्यो। बालकष्ण सम स्वयंमा एउटा नाटक हुनुहुन्थ्यो। कुनै पात्रले अभिनयसहित संवाद पढेझैं कविता सुनाउनुहुन्थ्यो। उहाँको प्रसिद्ध 'नवरस' कविता मैले धेरैपल्ट सुनेको छु।
नयाँ पुस्तामा लिलाध्वज थापाको रंगढंग अरूभन्दा भिन्दै थियो। उहाँ पनि हलका मेकअप गरेर निस्कनुहुन्थ्यो र झन्डै समकै पारामा कविता सुनाउनुहुन्थ्यो। पछिल्लो समय किन हो, उहाँ समको खोइरो खन्न थाल्नुभयो। हरेक कविता समलाई व्यंग्य गरेर लेखेजस्तो लाग्थ्यो। उहाँको चर्चित 'आँ' कविता त्यसबेला धेरैले मन पराएका थिए।
मिठो स्वरमा गाएर कविता सुनाउने धर्मराज थापा पनि त्यसबेला निकै लोकप्रिय हुनुहुन्थ्यो। झ्याउरे छन्दमा मुक्तकजस्ता कविता लेख्ने निरविक्रम प्यासी बडो ओजस्वी स्वरमा जिउ मर्काई-मर्काई कविता पाठ गर्नुहुन्थ्यो। कविता सुनाउँदाको उहाँको फुर्ति हेर्नलायक हुन्थ्यो। त्यसबेलाका गोष्ठीहरूमा आकर्षणका केन्द्र थिए - भूपि शेरचन। उनलाई प्रायः सबैभन्दा पछि राखिन्थ्यो। लयात्मक ढंगले लेखिएका उनका सरल, बोधगम्य कविता सबले मन पराउँथे। भूपिले कविता सुनाउँदा कसैले चुइँक्क बोल्न हुँदैनथ्यो। बीचमा थपडी बजाउन पनि निषेध।
त्यसबेला स्रोता, पाठक र कविहरूबीच स्वकीयता र निकटताको सम्बन्ध थियो। ती गोष्ठीहरूको प्रभाव ममा यति पर्यो कि गीत लेख्ने-गाउने रहरलाई थाँति राखेर म कवितातर्फ केन्द्रित भएँ। गोपालप्रसाद रिमालले सुरु गरेको सरल सशक्त कविता लेखनको धारालाई पछ्याएर विजय मल्ल, भूपि शेरचन, पोषण पाण्डे, मोहनहिमांशु थापा, भीदर्शन रोकाहरूले कविता लेखे। मैले पनि त्यही धारामा पद्यकवितामा पाइने लयात्मकता, लालित्य, अनुप्रास आदि तत्वलाई समावेश गरेर आफ्नो गद्यकविताको सरल शैली निर्माण गरेँ।
त्यसबेला टिएस एलियटजस्ता पाश्चात्य कविहरूको प्रभाव नेपाली कविमा नपरेको होइन। मोहन कोइराला, द्वारिका श्रेष्ठ, मदन रेग्मीहरूले दुरुह शैलीलाई अपनाएर कविता लेखे। दार्जिलिङबाट सुरु भएको आयामेली लेखनको प्रभाव पनि थियो। बुटपालिस, अम्लेख आदि अभियान पनि चले। तर मैले आफ्नो सरल लेखनको शैली छोडिनँ। आम मान्छेबीच, आम मान्छेको भाषामा आम मान्छेका अनुभूति र भोगाइलाई अभिव्यक्त गर्ने प्रवृत्ति नै मेरो शैलीगत विशेषता बन्न पुग्यो। यसमा त्यसबेला गोष्ठीहरूको प्रभाव विशेष रूपमा रहेको म अनुभव गर्छु।
आमाको प्रेरणाबाट धरान-विराटनगरमा गीत एवं गायनबाट सुरु भएको मेरो साहित्यिक यात्राले काठमान्डुमा विकसित, परिमार्जित र पल्लवित हुने अवसर पायो। म ती गोष्ठीहरूप्रति अनुगृहित छु। काठमान्डुप्रति कृतज्ञ छु। हो, काठमान्डुले मबाट मेरो गीत खोसेको थियो। तर नारायण गोपालले बीस वर्षपछि फेरि गीत लेख्न लगाए। अनि, काठमान्डुले मलाई मेरो गीत फिर्ता दियो। कविताको त्यो स्वर्णिम कालमा काठमान्डु नआएर बनारस लागेको भए म धेरै कुराबाट बन्चित रहने थिएँ। र, सायद जहाँ म अहिले छु, त्यहाँ पुग्न सक्ने थिइनँ।
प्रकाशित: ९ श्रावण २०६७ ०२:२० आइतबार