कथा : डम्फु र चौधरी
आपाले डम्फुबाट 'ताकधुङ ताकधुङ'को लय निकाल्नुभयो। त्यही धुनको शक्तिले हुनुपर्छ एउटा रंगीन चरा उड्दै आएर डम्फुमाथि टक्क अडियो र फुर्रफुर्र गरेर नाच्न थाल्यो। त्यो देखेर चौधरी नाच्न थाल्यो। जंगलका अरु चराचुरुंगी, जनावर नाचे। फूलहरू फक्रिए। रूखबिरुवा हल्लिन थाले, पातपतिंगर उड्न थाले। म पनि नाच्न थालेँ। नाच्दानाच्दै म एउटा थुम्कोछेउ पुगेँ। झन्डै झन्डै असन्तुलित भएर तल खस्न लागेकी थिएँ, चौधरीले च्याप्प समायो।