२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

अग्ली

लघुकथा

खगेन्द्र बस्याल

उमेर पुगेपछि आफन्त एवं शुभचिन्तकहरूले अनन्तलाई बिहेका लागि ढिलो नगर्न सल्लाह दिएका थिए। उनले यो काम त आफन्तको हो भनेर जवाफ फर्काएको पाइएको थियो।

सोधाइ थियो, ‘पहिले कस्तो कन्या चाहेका हौ,त्यो त बताऊ?’

उनको भनाइ थियो, ‘हाम्रो घरमा सबै होचा भएको महसुस भएको छ। यसैले अग्ली खोज्नुहोला। वर्ण,रूप र जातभातमा मैले वास्ता गर्ने छैन। त्यो गर्नु मानवताको दृष्टिले सुहाउँदैन।’

उनको कुराबाट भ्याउ पाए अनुसार कन्याहरू देखाउने काम भयो। अत्यन्तै सुन्दरी, ऊभन्दा पनि अग्ली,पढे-लेखेकीलाई पनि  एकान्त वार्तापछि मन नपराएकाले सबैले हरेस खाइरहेका थिए।

एकदिन उनैले आफै खोजेकीसँग विवाहको कुरा छिनिएको जानकारी बाहिर आयो। टिकाटालामा खिचिएको वर-वधूको फोटो हेरेपछि एकजनाले उनलाई एकान्तमा बोलाएर गुनासो गरे, ‘आखिर आफूभन्दा निकै होचीसँग बिहे गर्ने निर्णय गरेछौ। किन हामीलाई अग्ली खोज्नु भनेर अडान लिएको। हलक्क बढेकी पनि देखाएका थियौ। यसरी आफन्तलाई दुःख दिनु हुँदैनथ्यो।’

उनले मुस्कुराउँदै भने, ‘तपाईं झुक्किनुभयो। उनी पढाइ अनुसार विचारमा पनि मभन्दा धेरै अग्ली छिन्। हेर्दै जानू होला,अब हाम्रो घरले कसरी काँचुली फेर्ने छ। तपाईंहरूले मैले खोजे जस्तै विचारमा अग्ली देखाउन सक्नुभएन नि!’

प्रकाशित: २६ कार्तिक २०७९ ०८:१२ शनिबार

अक्षर