गंगा कर्माचार्य पौडेल
परिचय
रमेश शुभेच्छु (रमेशकुमार लुइटेल) नेपाली भाषा-साहित्यमा स्थापित नाम हो। पिता सूर्यनाथ लुइटेल र माता पुण्यमाता लुइटेलका ज्येष्ठ सुपुत्रका रूपमा उनी २०३६ साल वैशाख १ गते सुभाङ-९ पाँचथर, मेचीमा जन्मिएका थिए। सानै उमेर अर्थात् स्कुले जीवनदेखि नै साहित्यमा कलम चलाउँदै आएका उनले त्रिविबाट विद्यावारिधिसम्मको औपचारिक शिक्षा आर्जन गरेका छन्। प्राध्यापन, साहित्यिक पत्रकारिता, रेडियो कर्म, टेलीभिजनकर्म जस्ता विविध क्षेत्रमा कार्य क्षेत्र बनाउँदै अघि बढिरहेका उनका थुप्रै सिर्जनात्मक र समीक्षात्मक कृति प्रकाशित छन्।
शुभेच्छुका सिर्जनात्मक कृतिहरू यसप्रकार छन्: १) आँसु नदेऊ मलाई (गजलसंग्रह, २०५७),
२) हजुरबा (शोककाव्य, २०५८), ३) अनुत्तरित प्रश्न (गजलसंग्रह, २०६१), ४) उपहार (कवितासंग्रह, २०६६), ५) कुन्जु र पकु (बालकाव्य, २०६७), ६) घरदेश र परदेशका अनुभूति (गजलसंग्रह, २०६८), ७) तोते बोली ताते चाल (शिशु कविता २०७१), तोते-तोते भाका (शिशुकविता, २०७१), ८) चित्रैचित्र कथैकथा (शिशुकथा भाग-१-५), ९) छोराछोरी (बालकविता, २०७१), एक्लो यात्रा (कवितासंग्रह, २०७१), ११) मलामी (कवितासंग्रह, २०७२) आदि।
उनका सिर्जनातर्फ वासुदेव बाबै (व्यंग्यकाव्य, २०६३, फित्कौली मासिक), २) संकटमय स्वाभिमान (गजलगाथा, २०६२, मिर्मिरे मासिक), मोती (गजलगाथा, २०६३, प्यास गजल पत्रिका), ५) माधव बालकाव्य (२०६३, सगुन त्रैमासिक), ६) कविपत्नी विलौना (हास्यव्यंग्य काव्य, २०६४, फित्कौली मासिक) पनि प्रकाशित छन्।
यसैगरी उनका आधा दर्जन समीक्षात्मक कृति र एक दर्जन बढी सम्पादित कृति प्रकाशित छन्। त्यसैगरी उनले आधा दर्जन बढी पाठ्यपुस्तक पनि लेखेका छन्।
यसरी रमेश शुभेच्छुले नेपाली भाषा-साहित्यको श्रीवृद्धि र शिक्षामा पुर्याएको अतुलनीय योगदानको कदरस्वरूप युवावर्ष मोती पुरस्कार (२०७२) लगायत दर्जनौं साहित्यिक तथा शैक्षिक संंस्थाले पुरस्कृत/सम्मानित गरिसकेका छन्।
रमेश शुभेच्छुसँगको मेरो परिचय र अनुभूति:
वास्तवमा म ‘गंगाका केही छालहरू’ (२०३३) कविता कृति प्रकाशनपछि तीस वर्षसम्म घरपरिवार, छोराछोरीको स्याहार, जागिरमै भुलेर साहित्यिक फाँटबाट बेखबर हराइरहेकी थिएँ। २०६३ साल असारमा सगुन त्रैमासिक स्याङ्जाका सम्पादक प्रेम लुइटेल आएर मलाई भेटी साहित्यमा फेरि कलम चलाउन अनुरोध गरे। मैले ‘अब लेख्न सक्तिनँ’ भनेर ठाडो जवाफ दिंदा पनि मानेनन्। ‘हैन तपाईंले लेख्नैपर्छ’भनेर स्याङ्जा फर्किए।
उनी गएपछि अब मलाई लेख भन्ने मान्छे गयो भनेर ढुक्क भएकी थिएँ। उनले त आफ्ना मित्र रमेश शुभेच्छुसँग मेरो सबै पोल खोलिदिएछन्। त्यसको महिना दिन जतिपछि रमेश शुभेच्छु मलाई खोज्दै आइपुगे। परिचय भलाकुसारीपछि शब्दाङ्कुर मासिक पत्रिकाको ‘स्रष्टा दम्पती’ स्तम्भका लागि श्रीमान् र मेरो अन्तर्वार्ता लिए। तीन दशकपछि पत्रिकामा झुल्किन पाउने भएँ भनेर दङ्ग परिरहेकी थिएँ। त्यहीबेला उनले पनि मलाई फेरि साहित्यमा फर्कन आग्रह गरे। मैले ‘अब म लेख्न सक्दिनँ, सबै बिर्सिसकें’ भन्दा पत्याएनन्। ‘सक्नुहुन्छ, लेख्नुपर्छ लेख्नु’ भनेर आग्रह मात्र गरेनन् ‘आज के लेख्नुभयो? सुनाउनु त।’
भोलिपल्ट फेरि ‘आज के लेख्नुभयो?’ सुनाउनु त भनेर दिनदिनै फोन गरेर नलेखी धरै दिएनन्। उनलाई सुनाउनकै लागि भए पनि कनीकुथी फेरि कविता लेख्न थालें मैले। पहिला गद्य कविता मात्रै लेख्थें। उनले मुनामदनको लय (झ्याउरे छन्द), गीति लयमा पनि कविता लेख्न सिकाए। साथै कविता लेखनका केही सैद्धान्तिक नियम पनि सिकाए। नागार्जुन साहित्य प्रतिष्ठानको आयोजनामा पन्ध्र दिने छन्द प्रशिक्षण तालिममा सहभागी गराए।
त्यसपछि कनीकुथी लेखेर भए पनि उनलाई दिनको एउटा कविता सुनाउथें मैले। त्यसरी लेख्दै जाँदा छत्तीस ओटा कविता जम्मा भए अनि प्रकाशित भयो-आँधीखोलाको सम्झना (कवितासंग्रह-२०६३)। बिस्तारै लेख्ने अभ्यास बढ्दै गएर अहिलेसम्म विभिन्न विधाका सत्ताइस ओटा कृति प्रकाशित भइसकेका र अझ सात ओटा पाण्डुलिपि छ।
यसको श्रेय म रमेश शुुभेच्छु लुइटेल (पाँचथर) र उनका मित्र प्रेम लुइटेल (स्याङ्जा)लाई दिन्छु। प्रेमले खोजी गरे। रमेशले बाहिर निकाले। उनीहरूको प्रेरणा र प्रयासबाटै म आज यहाँसम्म आइपुग्न सफल भएकी छु। जसरी भानुभक्त आचार्यलाई मोतीराम भट्टले चिनाए, त्यसैगरी यी दुई जनाले मलाई साहित्यमा स्थापित गराए। यदि प्रेम र रमेशले प्रयास नगरेका भए म अझै गुमनाम भइरहने थिएँ होला।
रमेश शुभेच्छु उमेरका हिसाबले मेरो छोराभन्दा नि कान्छा छन्। अध्ययन, ज्ञान, बुद्धिका हिसाबले मभन्दा कैयौं गुणा जेठा छन्। यिनीसँग अथाह ज्ञानको भण्डार छ। मेहनती, परिश्रमी पनि उत्तिकै छन्। लेख्न थालेपछि भोक, प्यास, निद्राले बिथोल्न सक्दैन यिनलाई। न त कोही बोल्दा डिस्टर्ब हुन्छ। अरूसित गफ गर्दै खुरुखुरु लेखिरहन सक्छन् यिनी।
कलिलै उमेरमा बुबाआमा घरपरिवारदेखि टाढा रहेर त्यसमा पनि सानासाना भाइबहिनीको समेत अभिभावकत्व ग्रहण गरी संघर्ष गर्दै अघि बढेको देखेकी छु मैले। मीठो बोलीवचन, सबैलाई मद्दत गर्ने बानीले गर्दा रमेश शुभेच्छु सबैका प्रिय छन्। आफूले नजानेको कुरा मैले जति बेलै सोधे पनि कत्ति झर्को नमानी सिकाउँछन्। यस अर्थमा उनी मेरा गुरु हुन्।
आफै खाउँ, आफै लाउँ, आफू मात्र अघि बढूँ भन्ने व्यक्तिवादी सोच भएका मान्छेहरूको जमातमा, आफ्ना लागि समय नपुगेर सधैं हतारहतार दौडिरहनुपर्ने अहिलेको समयमा अरूको उन्नति, समृद्धिमा चासो चिन्ता गर्ने रमेश शुभेच्छु जस्तो मान्छे कमै भेटिन्छन्। उनको विषयमा लेख्दै जाने हो भने एउटा ग्रन्थ नै तयार हुन्छ। पछि आत्मकथामा सबै कुरा लेख्नेछु। त्यसकारण यहाँ संक्षिप्तमा भन्नुपर्दा रमेश शुभेच्छुसँग मेरो रगतको नाता नभए पनि उनी मेरो साक्खै भाइ लाग्छन्। के कसो हालखबर सोधिरहन्छन्। मेरो उन्नति-प्रगतिमा खुसी हुन्छन्। चाडपर्वमा सम्झिन्छन्। मेरो बुबाआमाको छोरो नजन्मिएर के भयो र! रमेश शुभेच्छु जस्तो माया गर्ने भाइ पाएकी छु। यो मेरो अहोभाग्य हो भन्ने लाग्छ मलाई।
विषय प्रवेश
मैले स्रष्टा रमेश शुभेच्छुको कविता कृति मलामी आद्योपान्त पढेर सकें। यसको शीर्षक एउटा कविताबाट जुराइएको रहेछ। मलामीभित्र १) युगजितार सर्वस्वहारा, २) कामना, ३) माछा र कमिला, ४) बेला अबेला, ५) मान्छे महादेश, ६) धर्ती ढोग, ७) उकाली-ओराली, ८) ओखर, ९) भोगाइ, १०) देवकोटा, ११) आमा..., १२) परिवर्तन, १३) अदलबदल, १४) गधा, १५) चुनौती, १६) नेपथ्य, १७) धन्य, १८) खरानीको डोरी, १९) शक्ति, २०) मेरो पात्र, २१) धरहराका अन्तिम वाक्य, २२) नयाँ पात्रो, २३) अनुशासन, २४) पिल्पिल टुकी, २५) जिम्मेवारी, २६) रमिता, २७) तिमी, २८) हन्बेर्नु, २९) डिग्बोई, ३०) स्प्रिङ, ३१) म-हामी, ३२) आसाम, ३३) म र पानी, ३४) मौरी, ३५) काष्ठमण्डप, ३६) बाँसफल, ३७) घण्टाघर, ३८) जीवन सङ्गिनी, ३९) कालो दर्शन, ४०) मलामी सहित जम्मा चालिस ओटा छन्दोबद्ध कविता समावेश छन्। न धेरै लामा न धेरै छोटा ठिक्कका यी कविता पढ्न थालेपछि एकपछि अर्को पढ्न मन लाग्ने खालका छन्।
कविताको विषयवस्तु
मलामी कवितासंग्रहका कविता पढ्दै जाँदा हाम्रै समाजमा घटेका, दैनिक हामीले देखेभोगेका विषयवस्तुलाई बिम्ब बनाइ लेखिएकाले बुझ्न सजिलो लाग्यो। भाषा सरल, सरस र मिठासपूर्ण छ। साधारण विषयवस्तुबाट उठान गरिएका तर ओजपूर्ण,अर्थपूर्ण सन्देशमूलक छन् कविता।
कविताको भाव र सन्देश
१) युगजिता र सर्वस्वहारा: शार्दूलविक्रीडित छन्दमा लेखिएको यो कवितामा ठूलाले सानामाथि गर्ने अन्याय/अत्याचारको विरोध गरिएको छ। हातमा ठेला उठाएर, पसीना बगाएर बाँझो खेतमा अन्न फलाउने कृषकको सम्मान गरिएको छ। कृषकको त्यस्तो श्रममाथि मनोमानी हक जमाउने मालिकको अत्याचारको विरोध गरिएको छ। ठूलासँग सधैं सानाले डराएर बाँच्नुपर्ने नियतिविरुद्ध आवाज उठाएको यो कविता चेतनामूलक छ।
२) कामना: शिखरिणी छन्दमा लेखिएको यो कवितामा मान्छेले कहिल्ल्यै पनि अरूले छ्या... भन्ने काम गर्न नपरोस् र त्यस्तो अवस्था कसैको नहोस्। सधैं सबैले शिर ठाडो गरी हिंड्न पाउन् भनी कामना गरिएको छ।
३) माछा र कमिला: अनुष्टुप छन्दमा लेखिएको यो कविता सरल छ तर निकै गहिरो भाव बोकेको छ। समयको चक्रमा सधैं शक्तिशाली मात्र माथि उठ्दैनन्। कहिले निर्धा पनि माथि उठ्न सक्दछन् भनिएको छ। माछा र कविता बिम्बले मानिसका हेप्ने र हेपिने स्वभावसँग नडराएर कर्म गर्न र पालो पर्खन भनेका छन्। जस्तै:
माछाले कमिला निल्छन्
नदी बहाव पाउँदा
कमिला निल्दछन् माछा
त्यै बहाव नआउँदा।
४) बेला अबेला: मालिनि छन्दमा लेखिएको यो कविताले मेहनत र परिश्रमले नै मानिसलाई माथि उठाउँदछ। अल्छी गरेर बस्नेहरूको उन्नति हुँदैन भन्दै बेलामा काम गर्ने मानिस सफल हुने सन्देश दिएको छ। जस्तै:
प्रगति गति भनेकै हिंड्न सक्नेहरूको
हिमशिखर भनेकै चढ्न सक्नेहरूको
सुन र फूल भनेकै चिन्न सक्नेहरूको
सफल फल भनेकै बीज रोप्नेहरूको।
५) मान्छे र महादेश: अनुष्टुप छन्दमा लेखिएको यो कविताले एकतामा ठूलो बल हुन्छ भन्ने सन्देश दिएको छ। जुन देशका जनतामा एकता हुन्छ। काँधमा काँध मिलाई अगाडि बढेको छ भने त्यस देशको उन्नति हुन्छ। जस्तैः
जुरुक्कै देश बोकिन्छन्
काँध काँध मिले भने
सिंगै पहाड होचिन्छन्
मिली भित्र खन्यो भने।
६) धर्ती ढोग: उपजाति छन्दमा लेखिएको यो कवितामा धर्ती भनेकी हाम्रो नेपाल आमा हुन्। जन्म दिने आमा र जन्मिएको धर्ती स्वर्गभन्दा ठूलो हुन्छ। व्यास, बुद्ध जस्ता महान् व्यक्तित्वहरू जन्माउने हामी हाम्रो भूमिप्रति गर्व गर्दछौं भनिएको छ। जस्तै:
म व्यासज्यूकै तपभूमिमा छु
म व्यासज्यूकै नव सिर्जना हुँ
म बुद्धको प्राङ्गण द्वारमा छु
म बुद्धत्वकै आंशिक सारमा छु।
७) उकाली-ओराली: अनुष्टुप छन्दमा लेखिएको यो कविता मान्छेका सुख-दुःखसँग सम्बन्धित छ। यस कविता अनुसार सुखमा सबैले साथ दिन्छन्। दुःख परेको बेलामा उल्टै खेदो गर्ने गरेको देखिन्छ यो समाजमा। मानिसको दिन सधैं एकनासको हुँदैन। त्यसकारण अरूलाई अप्ठेरो परेको बेलामा सके सहयोग गर्नु नसके खुट्टा नतान्नु भन्ने सन्देश दिएको छ।
कोशीको जलझैं हिंड्दै
खाल्टा पुर्दै बगिरहें
ठाने गन्धे कुवा हेपे
भ्यागुता पालि नै रहें।
८) ओखर: अनुष्टुप छन्दमा लेखिएको यो कवितामा मानिसले रूप होइन गुणको कदर गर्नुपर्दछ। बाहिर खस्रो बोक्रो भएको ओखरमा गुण अरू फलको भन्दा बढी पौष्टिक तत्त्व पाइन्छ भन्ने आधारबाट बाहिरभन्दा भित्र राम्रो हुनुपर्ने कुरा व्यक्त गरिएको छ। जस्तै:
गमलामा म कोचिन्नँ
बगैंचामा म रम्दिनँ
म वन्य कालिमा सिंगै
हरियो धर्म छोड्दिनँ।
९) भोगाइ: शार्दूलविक्रीडित छन्दमा लेखिएको यो कविताले मानिसपिच्छे भोगाइ फरक हुन्छ भन्ने कुरा देखाएको छ। भोगाइले नै मानिसलाई परिपक्व बनाउँछ। शिक्षाभन्दा भोगाइ ठूलो हुन्छ भन्ने सन्देश दिएको छ कविताले।
१०) देवकोटा: यो कविता नेपाली भाषा-साहित्यमा समर्पित प्रतिभा देवकोटाबारे लेखिएको छ। नेपाली साहित्य जगत्मा देवता समान मानिने महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति समर्पित यो कविताले अग्रजको सम्मान गर्न सिकाएको छ। कविता अनुष्टुप छन्दमा लेखिएको छ।
११) आमा... छ: शार्दुलविक्रीडित छन्दमा लेखिएको यो कविता आमाको विषयमा छ। यस कवितामा आमा आकाशभन्दा फराकिली छन्। सागरभन्दा गहिरी छन्। हीरामोती, जवहारातभन्दा मूल्यवान् छन् भन्ने विचार राखिएको छ। आमालाई संंसारको कुनै पनि वस्तुसित तुलना गर्न सकिंदैन भनिएको छ। जस्तै:
आमा सूर्य भनूँ हुँदैन नभनूँ त्यो सूर्यमा ताप छ
आमा चन्द्र भनूँ हुँदैन नभनूँ त्यो चन्द्रमा दाग छ
आमा भूमि भनूँ हुँदैन नभनूँ यो भूमि नै भाज्य छ
हौ आकाश भनूँ हुँदैन नभनूँ आकाश दुर्गम्य छ।
हीरा हौ तर होइनौ किनभने त्यो मूल्यमा बिक्तछ
मोती हौ तर होइनौ किनभने पानीसँगै छिप्तछ
तारा हौ तर होइनौ किनभने तारा नि अस्ताउँछ
आमा सिर्जन मूल हौ सृजनमै यो विश्व आव्याप्त छ।
१२) परिवर्तन: अनुष्टुप छन्दमा लेखिएको यो कविताले अरू परिवर्तन भएको हेर्न चाहने हो भने पहिला आफैबाट सुरु गर्नुपर्दछ भन्ने सन्देश दिएको छ। परिवर्तनशील यो समाजमा मानिसले पहिलेदेखि चल्दै आएका नचाहिने कुरा त्यागेर सही र युगसुहाउँदा चालचलनलाई निरन्तरता दिंदै अगाडि बढ्नुपर्दछ भनिएको छ।
१३) अदलबदल: मन्दाक्रान्ता छन्दमा लेखिएको यो कविताले मानिसलाई मेहनत र परिश्रमले माथि उठ्न मद्दत गर्ने कुरा सिकाएको छ। आफ्नो माटो पहिचान गर्न र त्यसको सम्मान गर्न सक्नुपर्ने कुरा पनि सिकाएको छ। यस कविताले परिवर्तनको र क्रान्ति एवं संघर्षको आह्वान गरेको छ:
फोर्दै जाऊ गिरि र पहरा झार साना गिटीमा
कुँद्दै जाऊ अलिअलि गरी शेष हुन् शालिग्राम
गाल्दै जाऊ खनिज गतिला धातु छानेर गाल
खोस्रीखोस्री जमिन तह यो विश्वको सिर्ज टार।
१४) गधा: शार्दूलविक्रीडित छन्दमा लेखिएको यो कवितामा भरपुर व्यंग्य चेतना पाइन्छ। यसमा पीडितले जति सह्यो त्यति पीडकले पीडा दिइरहन्छ भन्ने कुरा गधाका बिम्बबाट व्यक्त गरिएको छ। यो कविताले जनजागरण गराउनमा ठूलो मद्दत पुर्याउँदछ। यसले एकोहोरो काममा जोतिने निम्न वर्गीय र श्रमशील मानिसका जीवनका बहुमुखी पक्षलाई समेटेको छ।
१५) चुनौती: अनुष्टुप छन्दमा लेखिएको यो कविताले समाजका हरेक क्षेत्रमा चुनौती छ। हरेक मानिसको जीवन चुनौतीमय छ। तिनै चुनौतीहरूलाई पन्छाउँदै मानिस अघि बढ्नुपर्दछ। चुनौती पन्छाउने कला भएका मानिसको उन्नति प्रगति हुन्छ। चुनौती चिरेर नै मान्छे सफल हुन भन्ने सन्देश दिइएको छ।
चुनौतीसँग तर्सेर
म लुला पाउ टेक्तिनँ
नस्वीकारे चुनौती यी
पूर्ण जीवन देख्दिनँ।
१६) नेपथ्य: शार्दूलविक्रीडित छन्दमा लेखिएको यो कवितामा पर्दा अगाडि देखिने नाटक खेल्ने कलाकार अरूले नै लेखेको वा सिकाएको कुरामा आफ्नो कलाबाट दर्शकको मन जित्न सफल हुन्छन्। तिनलाई सफल बनाउन पर्दापछाडि अर्थात् नेपथ्यमा बसेर काम गर्नेहरूको ठूलो भूमिका रहेको हुन्छ तर उनीहरूलाई कसैले चिन्दैनन्। उनीहरूको पनि सही मूल्यांकन हुनुपर्दछ भन्ने आशयको कविता निकै अर्थपूर्ण छ। जस्तै:
को हेर्दैन र रंगमञ्च रमिता, नेपथ्य चिन्ने छ को
पर्दाबाहिर भित्रको रङ चिनी दाँजेर हेर्ने छ को
हेर्ने मञ्च भएसि दर्शकहरू भुल्दा रहेछन् भुले
ए नेपथ्य म हूँ, भनूँ कि नभनूँ सोच्तैछु दोधारले।
१७) धन्य: अनुष्टुप छन्दमा लेखिएको यो कविताले आफूले दुःख-कष्ट सहेर अरूका लागि हित हुने काम गर्ने प्राणी, वस्तु वा मानिस सबै धन्य हुन्छन्। त्यस्ताको नाम नै अमर हुन्छ भनी परोकारी बन्न सिकाउँदै छ। जस्तै:
फूलका रसमा मौरी
मह देख्दछ धन्य छ
उखुभित्र चिनी देख्ने
सोझो किसान धन्य छ।
१८) खरानीको डोरी: उपजाति छन्दमा लेखिएको खरानीको डोरी कविता प्रतीकात्मक, अमूर्त भावको छ। यो कविता पढेर पाठकले आआफ्नै तरीकाले विश्लेषण गर्न सक्नेछन्। यस कवितामा व्यङ्ग्यको प्रयोग भएको छ। जस्तै:
म सर्पको त्रास बनेर डस्छु
निर्जीवमै जीव भएर बस्छु
आगो खपेको छ शरीर मेरो
आगै लुकेको म सशक्त डोरो।
१९) शक्ति: शक्ति कविता बलसँग सम्बन्धित छ। मुढेबल भएका मान्छेहरू बलिया होइनन्। जीउमा धेर बल नभए पनि बुद्धि-विवेक भएका मान्छेहरू नै शक्तिशाली हुन्छन्। जस्तो कि तरबार धारिलो र बलियो भए पनि त्योभन्दा सानो कलम शक्तिशाली हुन्छ भन्ने भावको कविता शिक्षाप्रद छ।
जस्तै:
उखुमा गुड पैल्याई
प्यूँनु सर्वत शक्ति हो
हात्तीमा अंकुसे हाली
काम लाउनु शक्ति हो।
२०) मेरो पात्र: शार्दूलविक्रीडित छन्दमा लेखिएको यो कविताले खराब नियतको मानिसलाई माथि उठाउन वा असल बनाउन कठिन हुन्छ। उसलाई जति गुन लगाए पनि जति सपार्ने प्रयत्न गरे पनि ऊभित्रको कल्मष भाव कतै न कतै लुकेर रहेको हुन्छ भन्ने कुरा अर्थ्याउन खोजिएको छ। जस्तै:
कालामा रङ पोत्न कोसिस गरें सेतो कहाँ बन्दथ्यो
भागोस् गन्ध भनी सुगन्ध नि छरें झन् धेर दुर्गन्ध भो
मेरो पात्र किरा परी सडिगयो, सारै निकम्मा भयो
फर्सीझैं कुहिंदै गएछ कि कसो निष्कर्षमा व्यर्थ भो।
२१) धरहराको अन्तिम वाक्य: अनुष्टुप छन्दमा लेखिएको यो कविताले पुरानो बूढो रुख ढल्नु र नयाँ बिरुवा रोपेर फेरि रुख बन्नु प्राकृतिक नियम हो भन्ने कुरालाई प्रकारान्तरले प्रस्तुत गरेको छ। यसले देशभक्ति र युवा जागरणको सन्देश दिएको छ। जस्तै:
मझैं थोत्रा मकाएका
जीर्ण संरचनाहरू
भत्कँदा किन विस्मात
बन्नु हुन्न धरा मरु
युवाका हात जागे के
ठडिन्नन् र धरोहर
युवा माली खटे वाग
बन्दैनन् के मनोहर?
२२) नयाँ पात्रो: शार्दूलविक्रीडित छन्दमा लेखिएको यो कविताले समय गतिशील भए पनि हामी र हाम्रो मुलुक समय अनुसार गतिशील बन्न नसकेको पक्ष उजागर गरेको छ। जस्तै:
कालो यामविरुद्ध घाम गतिला हेर्ने थियो चाहना
लाखौं लाख पवित्र भाव बटुली साट्ने थियो कामना
पात्रो मात्र बदल्छु यो मिति चुनी फेरी नयाँ अक्षर
थोरै हुन्छु बूढो पुछेर पसिना के हाँस्न पो सक्छु र?
२३) अनुशासन: अनुष्टुप छन्दमा लेखिएको यो कवितामा मानिसले आफूलाई अनुशासीत,संयमित राख्न सकेन भने उसको अवन्नति हुन्छ भन्ने विचार व्यक्त गरेको छ।
२४) पिलपिल टुकी: शार्दूलविक्रीडित छन्दमा लेखिएको यो कविताले मानिसले मानिस भई जन्मिएपछि उसले आफ्नो जीवनमा सके घाम, जून, तारा बन्नु नसके टुकी भएर भए पनि अँधेरोलाई चिरेर प्रकाश छर्न सक्नुपर्दछ भन्ने सन्देश दिएको छ।
२५) जिम्मेवारी: अनुष्टुप छन्दमा लेखिएको यो कविताले जो मान्छे अरूको उपकार गर्दछ। पद अनुसारको जिम्मेवारी वहन गर्दछ उही सफल र सम्पूज्य बन्छ भन्ने विचार अभिव्यक्त गरेको छ।
२६) रमिता: शार्दूलविक्रीडित छन्दमा लेखिएको यो व्यंग्य कविताले अरूको दुःख हेरेर काखी बजाउनेका लागि झापड लाउन सफल छ। जस्तै:
घुम्टोभित्र छ बेहुली निहुरँदी हो हैन त्यै बेहुली
हेर्दा लाग्दछ बेहुलो पनि उसै वा सक्कली नक्कली
हो या हैन बुझेर चिन्छ कसले बाजा बजे भैगयो
मात्रै भोज भतेर मस्त दुनियाँ जोडी उभे भैगयो।
२७) तिमी: अनुष्टुप छन्दमा लेखिएको यो कविताले अरूले तपाई भनोस् कि नभनोस् आफै मपाई भनी हिंड्नेका लागि गतिलो व्यंग्य प्रहार गरिएको छ। जस्तैः
तिमी चढ्ने तिमी तान्ने
ढोग्ने ढोगाउने तिमी
तिमी नेता र व्यापारी
फौवन्जारा स्वयम् तिमी।
तिमी शासक, विद्रोही
कर्ता कारण हौ तिमी
अग्ला हिमाल बोल्दैनन्
बोल्ने अग्ला स्वयम् तिमी।
२८) हन्बेर्नु: हन्बेर्नु भान्सामा प्रयोग हुने टालोलाई विषयवस्तु बनाइएको गहन कविता हो। यस कविताले आफूलाई चाहिंदा माया गरे जस्तो गर्ने, नचाहिंदा चिन्दै नचिने जस्तो गर्ने मानिसको स्वार्थी स्वभावप्रति व्यंग्य गरी लेखिएको छ। शार्दूलविक्रीडित छन्दमा लेखिएको यो कविता निकै राम्रो छ। यस कविताले मुख्यतः मानिसका स्वार्थी प्रवृत्तिको विरोध गर्दछ। जस्तै:
जैले तात्दछ ताउलो तब तिमी खोज्छौ कहाँ ‘गो भनी
सेलाएपछि फाल्दछौ भुइँकुना बेकार झुम्रो गनी
तिम्रा हात बचाउने पहलमा आफैं डढें सल्किएँ
टोपी, घाँगर, कोटयोग्य कपडा हन्बेर्नुमा मिल्किएँ।
२९) डिग्बोई: डिग्बोई भारतको डिग्बोई भन्ने ठाउँलाई विषयवस्तु बनाइएको कविता हो। यस कवितामा गोर्खालीको इतिहास र गौरवगाथालाई जोगाउन सफल डिग्बोईको वर्णन सुन्दर छ। कविता शार्दूलविक्रीडित छन्दमा लेखिएको छ।
३०) स्प्रिङ: शार्दूलविक्रीडित छन्दमा लेखिएको यो कविताले मान्छे सोझो छ भन्दैमा अनावश्यक जिम्मेवारी थोपार्न हुँदैन भन्ने सन्देश दिएकोछ। जस्तै:
मैले दाबिनुमा मेरै सीमा हुन्छ म दब्दछु
सीमामाथि दबाएमा उठ्न सक्छु म उठ्तछु।
३१) म-हामी: शार्दूलविक्रीडित छन्दमा लेखिएको यो कविताले म अर्थात् एक्लैले पूरा गर्न नसकेको काम हामी अर्थात् धेरै जना भएपछि सजिलै गर्न सकिन्छ भन्ने कुरा बताएको छ। कविताले एकता नै ठूलो शक्ति हो भन्ने सन्देश प्रवाह गरेको छ। जस्तै:
तातो सूर्य धिमा धिमा किन नहोस् सम्पूर्ण तारा मिले
सिङ्गै ह्वेल बुत्याउँछन् रूगरूगे साना भुरा मेलले
जो जल्ले म भने उनै पछि परे हामी हुनेले जिते
धार्नी मण्डुकको भएन कहिलै मौरी हुनेले जिते।
३२) आसाम: शार्दूलविक्रीडित छन्दमा लेखिएको यो कविताले आसामवासी नेपाली समाजका विविध पक्षलाई उजागर गरेको छ। कविले त्यहाँ पुगेको बेला पाएको न्यानो माया, आथित्य सत्कारले पुलकित हुँदाको अनुभूति प्रस्तुत गरिएको छ।
३३) म पानी: अनुष्टुप छन्दमा लेखिएको यो कविताले मान्छे भएर जन्मिएपछि पानी जस्तो गुनिलो हुनुपर्दछ भन्ने सन्देश दिइएको छ। पानीका गुणलाई मानिससँग तुलना गरिएको कवितांश यस्तो छ:
देखौला उर्लंदो रूप
खहरे भै सुसाउँदा
मेरो समाधिको रूप
ताल समुद्रभित्र छ।
बाफ बादलमा शुद्ध
शान्त स्निग्ध हुँदाहुँदै
मेघमा गर्जना गर्दै
चट्याङ पार्न सक्तछु।
३४) मौरी: मालिनी छन्दमा लेखिएको यो कविताले समस्या, चुनौती, दुख, कष्टबाट भागेर होइन त्यसको सामना गरेर अघि बढ्नुपर्दछ भन्ने शिक्षा दिएको छ।
३५) काष्ठमण्डप: अनुष्टुप छन्दमा लेखिएको यो कविताले नेपालको सांस्कृतिक धरोहरको महत्त्व उजागर गरेको छ।
३६) बाँस फल: यो कविताले नेपाली समाजमा बाँसमा फल लागेको देखियो भने अशुभ हुन्छ भन्ने अन्धविश्वासको विरोध गरेको छ। अरू सबै वृक्ष फुल्न फल्न हुने सोझो बाँस फुल्न नहुने? जो सोझो उसैको मुखमा घोचो भन्ने उखान चरितार्थ भएको कविता निकै अर्थपूर्ण छ। जस्तै:
खोक्रो बन्दिनँ बाँसुरी र मुरली छेडिन्नँ काटिन्नँ भो
मेरो अन्तर बोल्छ साज नबनूँ, बन्द्यूँ चुरो सालको
जो हुर्क्यो अभिमानसाथ उच भै त्यै झुक्नुपर्ने किन
त्यै पानी मल गोडमेलबिनु नै अग्लेर दब्ने किन?
चौकामा सजिएँ खुसी लगनमा, घारो तगारो भएँ
जल्दो लाससँगै म ठोसिन पुगेँ घोचो घृणाको बनेँ
जो माटो नगुमोस् भनेर पहरा गर्दैछ धर्तीप्रति
त्यै हेला किन हुन्छ बुझ्दिनँ स्वयम् यो बाँसको दुर्गति?
३७) घण्टाघर: अनुष्टुप छन्दमा लेखिएको छ यो कविताले पहिलाभन्दा अहिले समय धेरै बदलिएको भए पनि देशको अवस्था जस्ताको तस्तै रहेको तथ्यलाई घण्टाघरको माध्यमबाट व्यक्त गरेको छ। घण्टाघरलाई साक्षी राखेर देशको अवस्थालाई ऐतिहासिक सन्दर्भबाट उजागर गरिएको छ।
३८) जीवनसँगिनी: जीवनसँगिनी नारीको सम्मानमा लेखिएको कविता हो। यस कविताले गृहस्थी रथ चलायमान बनाउन पति-पत्नीको समान भूमिका हुन्छ भन्ने कुरा समेटेको छ। माटोको भर ढुंगा, ढुंगाको भर माटो भने झैं जीवनसँगिनीको साथ-सहयोगले मात्र पुरुषको घर स्वर्ग जस्तो बन्न सक्दछ भन्ने कुरा यस कविताका माध्यमबाट अभिव्यक्त गरिएको छ। अनुष्टुप छन्दमा लेखिएको यो कविताले नारीप्रति सम्मान व्यक्त गरिएको छ। जस्तै:
स्वास्नी होइन साथी हुन्
सिंगै जीवनकी यिनी
भान्छा मालिकिनी हैनन्
मेरी जीवन सँगिनी।
न ता धाई सुसारे हुन्
सेविका न त धोबिनी
सयौं सँगीहरूमध्ये
यिनी जीवन सँगिनी।
३९) कालो दर्शन: शार्दूलविक्रीडित छन्दमा लेखिएको यो कविताले कुभाव राख्नेहरूप्रति व्यंग्य प्रहार गरेको छ। यसले काला चरित्र, कालो व्यवहार र काला दृष्टि आदिको विरोध गरेको छ। कालोको पक्षमा बोलेर प्रकारान्तरले कालो कर्म, व्यवहार र दृष्टिकोणको विरोध गरिएको छ। जस्तै:
कालो गाजल लाउँथे सब जना सौन्दर्य चम्काउँथे
कालै हाट लगाउँथे र दुनियाँ व्यापार गम्काउँथे
कालै वस्त्र लगाउँथे सब जना अस्तित्व जोगाउँथे
कालो अश्व चढी घुमेर पृथिवी कालै कला गाउँथे।
काला यौवनमा सिँगार सजिई सारा युवा बन्दथे
काला काँध उठाउँथे र धरती आकाशमा घुम्दथे
कालो नीति बनाउँथे युग बुझी कालै निया गर्दथे
काला शासकका सुशासन भजी आराधना चल्दथे।
४०) मलामी: पूरै पुस्तकको शीर्षकीकरण गरिएको मलामी कविताल बाँचुन्जेली मानिसले जतिसुकै नयाँ वस्त्र धारण गरे पनि, हीरामोतीले ढाकिए पनि मरेर गएपछि त्यो सबै व्यर्थ रहेको शाश्वत तथ्यलाई उजागर गरेको छ। अनुष्टुप छन्दमा लेखिएको यो कविताले मानिसलाई उसको जीवनको यथार्थ मलामी गनेर पहिल्याउन सकिने विचार राखेको छ। जस्तै:
कोक्रोभित्र सुसारेले
हेरुन् चमर हम्किऊन्
पास्नी, विवाहमा आफ्ना
बाटो जाम गरी हिंडून्
खुसीका क्षणका साथी
लर्को हजार लाखन
के चिन्नु खै कसैलाई
मलामी नगनीकन।
प्रकाशित: २५ कार्तिक २०७९ ०२:३२ शुक्रबार