२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

लैङ्गिक अल्पसङ्ख्यकहरूको कथा बोल्ने कलरिङ बुक लोकार्पण

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको कथा अभिव्यक्त गर्ने कलरिङ बुक (चित्र किताब) ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ लोकार्पण गरिएको छ। चिकित्सकहरू परिधि शर्मा र अर्पणा पाठककृत पुस्तक आइतबार काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानस्थित सिद्धिचरण हलमा सार्वजनिक गरियो।  

समारोहमा प्रमुख अतिथि पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, अतिथि तथा विशेष अतिथिहरू नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकाल, वाग्मती प्रदेशका कला, संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका युवा नेता सुरजचन्द्र लामिछाने, नीलहीरा समाज (ब्लु डायमन्ड सोसाइटी) की निर्देशक पिङ्की गुरुङ, मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसी, पुस्तकका सल्लाहकारहरू माल्भिका सुब्बा र लेक्स लिम्बुले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे।  

कार्यक्रममा पुस्तकका सर्जकमध्ये एक एवम् दन्त चिकित्सक डा. परिधि शर्माले यस पुस्तकको अवधारणा प्रस्तुत गर्दै आफूलाई सानैदेखि चित्र कोर्ने रहर भए पनि चिकित्सक बन्ने क्रममा चित्रकलासँग साथ छुटेको उनले बताइन्। कोरोना महामारीका कारण जारी लकडाउनको समयमा आफूभित्र रहेको चित्रकार फेरि प्रस्फुटित भएको उनको भनाइ छ।  

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले पुरातन समाजलाई नै परिवर्तन गर्ने पुस्तक लोकार्पण समारोहमा सहभागी हुन पाउँदा आनन्दित भएको बताए। नेपालको मौलिक मिथिला र मण्डला शैलीमा बनाइएका कारण यस पुस्तकको सांस्कृतिक महत्वसमेत उच्च रहेको उनको भनाइ छ। मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसीले कलाका माध्यमबाट अभिव्यक्त यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको कथाले हिंसा र यस समुदायबारे समाजमा व्याप्त रूढिवाद कम गर्न सहयोग पुग्न सक्ने धारणा राखिन्। यस पुस्तकले आम मानिसलाई मानव शरीरसँगै जन्मने आत्मा र भावनालाई चिनाउने प्रयास गर्न सक्ने पिङ्की गुरुङले बताइन्। उनले भनिन्, ‘चित्रले मानिसलाई महसुस गराउँछ। पढेको कुरा त दिमागमा बस्ने हो। चित्रमा देखेको कुरा मानिसको मनमा बस्छ। त्यसलाई मानिसले अनुसरण गर्छन्,’ उनले भनिन्।  

पुस्तक लोकार्पण कार्यक्रममा बोल्ने सबै वक्ताले चित्रले समाजले फरक महसुस गर्ने मान्छेको वास्तविक आत्माको परिदृश्य प्रस्तुत गरेको विचार व्यक्त गरे। पुस्तक फाइन प्रिन्टले बजारमा ल्याएको हो। 

प्रकाशित: १९ कार्तिक २०७९ ०२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App