२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

कुम्ले लाटो र सुतार साइँलो

निबन्ध

पुण्य कार्की

बत्तीस वर्षदेखि कुम्ले लाटोलाई बजार घुमेको देखिरहेछु। यसलाई सुरुमा देख्ता म किशोर थिएँ। अहिले म नै पचासको सेरोफेरोमा हिंडिरहेको छु। कुम्ले लाटाको ढाड कुप्रो छ। सायद बाल्यकालमै पोलियोको सिकार भएर मेरुदण्डमा यामानको फुकुन्डो उठेको छ। यसको नालीबेली थाहा पाउनेले बताउँछन्, यो किराती कुलमा जन्मेको अपांग व्यक्ति हो। कुम्ले लाटो हमेसा नांगै रहन्छ। कुन जाडो, कुन गर्मी यसको शरीरमा आजसम्म मैले वस्त्र परिधान देखेको छैन। गुप्तांग छोप्न एक हातको लगौंटी सिवाय उसले कपडा लाएको थाहा छैन।

उसको पिठ्यूँमा हमेसा एउटा बोरा झुन्डिएको हुन्छ। त्यस बोरामा सरसामाग्री टन्नमन्न कोचीकोची बोकेको हुन्छ। दिनभरि नै सडक बजारका अनेक चिजविज टिपीटिपी हिंड्छ। बेलुकीपख प्रायः तरकारी बजारमा भेटिने कुम्ले लाटो व्यापारीले फ्याँकेका डाइना आलु, चाउरी परेका बैगन-भान्टा, आधी कुहेका तिते करेला, बिस्कुट र चाउचाउका खोलहरू प्लास्टिकका पानी बोतलहरूः थोत्रे पोलिथिनहरू धोक्रामा खाँदिरहेको हुन्छ। उसलाई त्यो धोक्रो यति प्यारो छ। बजारको कुनै सेठलाई आफ्नो पैसा राख्ने सन्दुक जति प्यारो छ। त्यसभन्दा पनि प्यारो छ-कुम्ले लाटाको निम्ति त्यो कवाडी बोक्ने धोक्रो।

कुम्ले लाटालाई एकछिन सास फेर्ने फुर्सद छैन। सधैंको शासना, सधैंको सास्ती। धोक्राभरि बजारमा फालिएका फोहोरको डंगुर बोकेर ठसठसी कन्दै हिंडिरहेको छ। माथ्लो पीपलबोटबाट तल त्रियुगाको किनारासम्म झर्छ।

थरुहट रंगशालाको सब्जी बजारदेखि पुल्चोक पुलसम्म सात खेप फन्को मार्छ। भारी एकछिन बिसाउनु छैन। खलखली पसीना काढी मरिकुच्चे भारी बोकेर हिंडिरहेको हुन्छ। उसको धोक्रो कसैले चलाइदियो भने यसरी गर्जिन्छ। सुत्केरी बघिनीका छाउरालाई कसैले आक्रमण गर्दा बघिनी त्यसमाथि जसरी झम्टिन्छे, ऊ त्यसरी नै झम्टिन्छ। निरन्तर बजार परिक्रमा गर्नु, सडकमा फालिएका विभिन्न चिजका खोल र प्लास्टिक बटुल्न नै यसको नित्य कर्म।

बजार घुमिरहँदा उसको ध्यान भुईतिर केन्द्रित हुन्छ। कहाँ के छरिएको छ। कहाँ के पोखिएको छ? त्यही हेर्न एकोहोरिएको हुन्छ। कुम्लेलाई पिठ्ँयूको धोक्रो एक अनमोल सम्पत्तिको भारी जस्तो छ। उसको निम्ति त्यही धोक्रोमा संसार छ। त्यसैमा सुखको समुद्र बगेको छ। त्यही धोक्रोमा अपार तृप्तिको खजाना छ।

उसलाई धोक्रोभन्दा प्रिय चिज अरू केही छैन। बरा, वर्षाैं अघिदेखि ऊ यहीं गाईघाट बजारमा फनफनी घुमिरहेको छ। बरु दाइँको गोरुले घुम्नुबाट विश्रान्ति पाउँछ तर कुम्ले लाटाले विश्रान्ति पाएको छैन। दाइँको गोरु पुग्नु कहीं छैन। तर पनि निरन्तर घुमिरहेको हुन्छ। कुम्ले पनि गाईघाट बजारलाई मियो बनाएर फनफनी घुमिरहेको छ। विचरा! कुम्लेको गन्तव्य कहाँ हो र कहाँ पुग्नु छ, केही थाहा छैन र पनि बोरामा कुँडाकर्कट थुपारेर अहर्निष हिंडिरहेको छ।

मैले बत्तीस वर्षअघि देख्ता यो त्यस्तै बीसबाइसे लक्का जवान थियो। शरीरले अपाहिज भए पनि यसको अनुहारमा ऊबेला तरुण वयको आभा टल्किएको थियो। अहिले भने उसको शरीरमा बुढ्यौली ओर्लिसकेको छ। तुसारो खसेर कपाल सेताम्मे फुलेको छ। गाला पुष्ट छन् तर पनि निधारमा चाउरीका आधी दर्जन समानान्तर रेखाहरू खिचिएका छन्। बुढ्यौलीमा पनि उसको धन जम्मा गर्ने वासना एक रत्ति घटेको छैन। उसले धोक्रो र धोक्रा भित्रका कवाडी सामाग्रीलाई माया गरेको देख्ता ती सबै उसका निम्ति हिरामोती तुल्य छन्। कुनै अरबपतिका निम्ति रुपैयाँका बन्डल त्यति प्यारो हुँदैन होला त्यत्ति उसलाई चाउरी परेका भाण्टा, करेला र कुहेका आलु त्यति प्यारो छन्।

धोक्राभित्र किसिमकिसिमका पोका छन्। एउटामा डाइना आलुको पोका छन्। एउटा पुराना कागजको बिटो छ। पैसालाई जसरी मिलाएर बिटो कसिन्छ, त्यसरी नै पन्नापन्ना मिलाएर बिटो कसिएको छ। एउटामा एक थोक अर्कामा अर्काे थोक। सबै भिन्दाभिन्दै राखेको छ।

अनौठो भ्रममा बाँचेको छ कुम्ले। बिहानदेखि बेलुकासम्म जे जति चिज टिप्छ, जे जति चिज धोक्रामा सँगाल्छ, ती सबै उसको निम्ति धनदौलत हुन्। ती प्रत्येक चिज उसको निम्ति अमूल्य छन्। धोक्राको प्वालबाट कथम्कदाचित डाइना आलु र बिस्कुटका खोलहरू चुहे यसरी रुन्छ-शहरमा उसको चित्कार चारैतिर गुन्जिछ। उसको काममा कसैले बाधा हाल्यो भने उसलाई चिथोर्न र टोक्न अग्रसर बनेको दृश्य कतिपय बेला देखेको छु।

ऊ बोल्न सक्तैन। विलकुल लाटो छ। आवाजविहीन छ। तर, उसको गतिविधि हेर्दा ऊ मुखर रूपमा बोलिरहेको छ। उसको कवाडी खाँदिएको धोक्राले केही बोलिरहेको छ। उसको जीवनले नै अर्थका अनेक आवाज सुसेलिरहेको छ। उसको जीवन एक प्रतीक हो। उसको जीवन एक संकेत हो-कुन अज्ञात लोभमा वशिभूत भएर ऊ कुँडाकर्कटको भारी सकीनसकी घिसार्न बाध्य छ। लोभ पनि सार्थक कुरामा गरेको भए त ठिकै थियो। लालचा पनि बिहान र बेलुका हातमुख जोड्न मिल्ने सामग्रीप्रति राखेको भए ठिकै हुने थियो।

अवचेतनमा लोभको भकारी छ। अवचेतनमा अतृप्त वासनाका ज्वारभाटाहरू उम्लिरहेका छन्। वाचाल मानिस त विषय वासनाको शासनामा छन् तर यो अकिञ्चन अवाक् प्राणीलाई कसले यो सारा झन्झट लाइदिइराखेको छ? थाहा पाउन सकिंदैन। उसको चीत्त दशामा उद्विग्न वासनाको ज्वार किन चर्काेचर्काे बनिरहेको छ, बुझ्न सकिन्न। उसको मनो आकाशमा लालचको अर्थहीन लपेटा किन उग्र गतिमा उठिरहेछ? कुनै भेउ पाउन सकिन्न। आखिर होटलले फालेको बासी भातले ज्यान धान्छ।वर्षौंदेखि यो प्राणी किन मरिकुच्चे धोक्रो बोकेर बजार परिक्रमा गरिरहेछ, धोक्रो भर्नमै सारा समय खर्चिरहेको छ। निरर्थक भए पनि एउटा-एउटा लालसाको टेकामा उभिएर सायद मान्छे बाँच्छ क्यारे। मान्छेले गर्ने कर्महरू जति नै निस्सार हुन् तर त्यसले ऊभित्रको जीवनेच्छाको दियोमा तेल थपिराख्छ क्यारे। मान्छेका गतिविधिहरू जति नै विसंगत छन्, त्यही विसंगत व्यवहार पनि जिजिविषालाई टिकाइराख्ने, बँचाइराख्ने साधन बन्छ क्यारे। कुम्ले लाटाको जीवनले एक सार्थक शिक्षा दिइरहेका छ। एक सार्थक सन्देश छरिरहेको छ।

फेरि कुम्ले लाटो र हामी बिच त्यति मोटो भिन्नताको रेखा भेट्दिनँ म। उसको र हाम्रो मनोदशामा थोरै पृथकता छ, धेरै समानता छ। ऊ देखिने गरी जुटको बोरा काँधमा लट्काएर हिंड्छ। हामी अदृश्य बोरा बोकेर हिंडिरहेको छौं। ऊ बजारको कुडाँकर्कट धोक्रोमा घुसार्छ, हामी पनि अदृश्य रूपमै थरीथरीका कुँडाकर्कट टिपिरहेका छौं, आआफ्नो थैलीमा पोक्याइरहेका छौं। ऊ पनि अन्धो चालले धोक्रो भर्न लालायित छ, हामी पनि बेहोसी र अन्धो चालमै अनन्त अतृप्तिका थैला भर्न उत्सुक छौं। सपनी र विपनी जतिबेला पनि धोक्रो भर्ने खेलमा नै दौडिरहेका छौं। विपनामा सचेतनताका साथ धोक्रो भर्न पाइएन भने पनि सपनामा अचेतन मनले धोक्रो भन्ने खेल नै चालु राखेको हुन्छ। त्यसैले  ऊ र हामीमा त्यति ठूलो फरक छैन। एउटा पातलो रेखाले मात्र ऊ र हामीलाई भिन्न गराइरहेको छ। गहिरिएर हेर्‍यो भने हामीभित्र पनि कुम्ले लाटाको चित्तवृत्ति सजीव बनेर कुँडाकर्कट जोरजाम गरिराखेको छ।

चिकित्सा विज्ञानको भाषामा यो एक मनोरोग होला। मनोविज्ञानको भाषामा भ्रम होला, विभ्रम होला। अतृप्तिलाई परिपूरण गर्ने एक उपक्रम होला। धोक्रोभित्र डाइना आलुलाई थैलीमा मिलाएर मुख बाँधेको देख्ता मानौं मैले किमति स्वर्ण–सिक्का जोगाड लाइरहेछु भन्ने छ उसलाई। सोच्तो हो–थोत्रे कागजका पानाहरूलाई पैसा जस्तो बिटो कसेर राखेको देख्ता आफू पनि लखपति बनेको अनुभूति सँगाल्दो हो।

गाईघाट बजारमै बेवारिसे रल्ली हिंड्ने अर्काे पात्र हुन् सुतार साँइलो। सुतार साइँलो कुम्ले जस्तो लाटो छैन। कुम्ले जस्तो गठेरो पनि छैनन्। उसमा अपाङ्गता पनि छैन, बोलक्कड छ। जति पनि बोलिरहन सक्छ। जिब्रोमा छुराको धार छ। उसका कुरा सुन्दा ऊ औधी चतुरो छ। उनको बारेमा सुनेको छु, जीवनको उनौ तन्नेरी अवस्थामा ऊ पुलिसको जागिर खान्थ्यो। लेखापढीमा पनि विछट्टै सिपालु थियो। दीनदशा लागेर वा के कारणले हो उसको जागिर गयो र उसको दिमाग सड्क्यो। अनि बन्यो–सडक छाप घुम्क्कड आवरा। जागिर गएपछि स्वास्नीले छोडी। घरपरिवारबाट उसको सम्बन्ध विच्छेद भयो। ऊ पूर्ण रूपले सडकमा आश्रित बन्यो।

सुतार साँइलाले कुम्ले जस्तो पिठ्यूँमा धोक्रो त बोक्तैन। तर पनि यी दुवैका कर्ममा काफी समानता छन्। बोक्ने शैली भने केही फरक छ। तर, यिनका सोचमा काफी समानता छ। यिनीहरूका व्यवहारमा मिल्दाजुल्दा धेरै पक्ष छन्। सुतार साइँलो बाहुला सहितको ठूलो गन्जी भिर्छ। गोलगन्जी नलाएको बखत ह्वार्लाङ्ग परेको भेस्ट लाउँछ। सिकुटे ज्यानको सुतार साँइलो दुइटा ज्यान आँट्ने खालको सुइटर पनि लाउँछ। गोलगन्जी र सुइटरको तल्लेछेउ कम्मरमा पेटीमुनि दर्बिलो गरी डोरीले कस्छ। कहिलेकाहीं भुँडीमा पटुका पनि बाँध्छ। भुँडीमा दस पाथी जति अन्न जाने जग्गा बनाउँछ। सडकमा, बजारमा, चौकमा भेटिएका कागज प्लास्टिक, चाउचाउका खोल टिप्तै जान्छु। भुँडीमा हाल्दै जान्छ। हमेसा उसको भुँडी गर्भवती स्त्रीको जस्तो हुन्छ। नयाँ मानिसका लागि ऊ विस्मयको पात्र बन्छ।

उसले भुँडीमा बनाएको थैलोमा प्लास्टिक र कागज मात्र राख्ने गर्छ। ती चिजलाई यति जतन गरेर राख्छ, कसैलाई छुन र चलाउनसम्म दिंदैन। के बोकेको सुतार दाइ भनेर सोध्दा सम्पत्ति पोेको हो सम्पत्तिको पोको भनेर जवाफ दिन्छ। साँच्चै भुँडीमा थुपारेको कवाडी कागजलाई रुपैयाँपैसा सरह माया गर्छ। कसैले उसको कम्मरको पटुका खुस्काएर वा सुइटरको छेउ तानेर कागजपत्र छरिदियो भने यसरी रिसाउँछ। साक्षात् दुर्वासा बनेर त्यसमाथि खनिन्छ र छरिएका कागज प्लास्टिक टिप्न यसरी हतारिन्छ, मानौं उसको कम्मरमा कसिएका हजारहजारका बिटा फुटपाथमा छरिएका छन्। कसैले टिपेर दमपच पार्ने हुन् कि ऊभित्र भयानक त्रास जाग्दछ। केहीबेरमा टिपेर फेरि भुँडीको थैलामा सुरक्षित गर्दछ।

कुम्लेले जस्तो सडेगलेका तरकारीहरू, आलु,भान्टा र करेलाचाहिं टिप्दैन। उसको प्राथमिकतामा कागज र प्लास्टिक मात्र पर्छन्। त्यसरी टिपेका कागज देखाएर के टिपेको दाइ भन्दा ‘देख्दैनस् रुपैयाँ टिपेको, तेरा आँखा फुटेका छन् भन्छन्। तँलाई चाहियो भने ऋण माग्न आइज। ब्याजमा लाउँछु। यस्तै अन्टसन्ट जवाफ पाइन्छ।

एउटा अरबपतिले हिरामोतीलाई जुन माया गर्छ त्यही माया कुम्ले र सुतार साँइलाले डाइना आलु अनि थोत्रा कागजका बिटालाई गर्छन्। उसले हिरामोतीलाई सेफ र कन्तुरमा लुकाएजस्तै उनीहरू आआफ्नो भुँडे थैलामा ती कवाडी चिज लुकाइबस्छन्। चित्तमा गाडिएको धनको वासना होला यो। वासना पूर्तिको माध्यम जस्तो भए पनि करोडपतिको लोभ र यिनका लोभको आयाममा अलिकति पनि तात्विक भिन्नता छैन। सायद भ्रममा पनि अपार किसिमको मानसिक सुख छ क्यारे। नत्र थोत्रा चिजबिज थुपार्नुमा यिनीहरूको तल्लीनता, तन्मयता कति गहिरो छ, सहजै अनुमान गर्न सकिंदैन। हुन त लोभ भन्ने कुरा धनीले गर्ने लोभ र गरिबले गर्ने लोभ एउटै हुन्छ। अरबपतिले करोडको लोभ गर्नु र एक भिखारीले दुई रुपैयाँको लोभ गर्नु त्यसको आयाम, आयतन, उचाइ र गहिराइ उही हुन्छ। अरबपति र भिखारीको वासनाको स्तरमा एक समतुल्यता हुन्छ।

सुतार साइँलो सन्की दिमागको भए पनि प्रायः काम गरेरै खान्छ। हप्ताको एकाध दिन काम गरेको पनि देखिन्छ। उसलाई मन लाग्यो भने जंगल गएर एक भारी खसीलाई घाँस काटेर ल्याउँछ। बजारका खसी पालुवाहरूलाई एकएक मुठो घाँस बेच्छ र त्यो पैसाले आफ्नो गुजारा चलाउँछ। अन्य सानातिना श्रमका काम गरेर पनि ऊ खानेमेलो जुटाउँछ।

सुत्दा होस्, उठ्ता होस्, काम गर्दा होस् वा अन्य बेलामा होस्, उसले आफ्नो पेटमा भने यामानको ढोले कुम्लो बोेकेकै हुन्छ। भुँडी बोकेकी महिलाको भन्दा ठूलो भुँडी बनाएर बजारबजार रल्लिरहेको हुन्छ। एकचोटि उसका भाइबन्धु इष्टमित्रहरूले उसलाई फकाएर घेरा हालेर घर लगेछन्। उसको लथालिङ्ग केस र दारी काटिदिएर नुहाइधुवाइ गरी भुँडीका प्लास्टिक कागजहरू जलाएर शिष्ट, शालीन, सभ्य बनाउन खोजेछन्। तर, त्यसको भोलिपल्टै परिवारिक बन्धनबाट मुक्त भएर पुनः बजार झर्‍यो र तुरुन्तै त्यही धन जम्मा गर्ने काममा लागिहाल्यो। फेरि ढोले भुँडी हल्लाएर हिंड्न थाल्यो। त्यसपछि आफन्तहरू पनि उसको स्वभावदेखि हारे।

जीवनका अनेक असंगत घटना, उतारचढाव र अतृप्तिको रन्ठगोलले यस्ता मानिस मनोरोगी भएका हुन्छन्। यस्तो मनोरोगीले राज्य संयन्त्रबाट उपचार कहिले पाउँलान्! मलाई लाग्छ, कुम्ले लाटो र सुतार साँइलो त यस समाजका प्रतिनिधि पात्र मात्र हुन्। यस्ता मनोरोगी हजारौंको होइन लाखौंको संख्यामा देशभरि सडकमा रल्लिएका छन्। मानसिक विक्षिप्तता बोकेका यस्ता मानिस गाउँगाउँमा भेट्न सकिन्छ। टोलटोलमा भेट्न सकिन्छ। सन्तुलन गुमाएका अनेक आत्मा सडकमा पुगेका छन्। यिनीहरूमा आएको असन्तुलन र विक्षिप्तताको समयमै उपचार हुने हो भने उनीहरुको सुन्दर जीवन यति डरलाग्दो रूपमा क्षतिग्रस्त हुने थिएन।

यिनीहरूलाई यथोचित उपचारको खाँचो छ। यिनीहरूको मानसिक समस्यामा वैज्ञानिक निदानको खाँचो छ। त्यो निदानका लागि, त्यो उपचारका लागि परिवारजन चुकिरहेछन्, समाज चुकिरहेछ र सिंगो राज्य-संयन्त्र चुकिरहेछ।

एउटा सद्दे सारसौंदो मानिस मानसिक रूपमा समस्याग्रस्त हुनुमा वैज्ञानिक कारणहरू हुन्छन्। त्यसलाई वैज्ञानिक निदानकै खाँचो छ। निदान मात्र भएर हुँदैन वैज्ञानिक उपचारको खाँचो छ। त्यसपछि उनीहरूलाई उचित संरक्षणको आवश्यकता पर्दछ। विच्छेद भएको परिवार र समाजसित पुनः स्थापनाको खाँचो छ।

उनीहरूको असली समस्यालाई हामी नजरअन्दाज गर्दछौं। उनीहरूका सन्की र विसंगत बोली र व्यवहारलाई हाँसोमा उडाउँछौ। उनीहरूलाई खिसीटिउरी र हाँसीमजाकको पात्र बनाउँछौं। त्यस्तालाई दिलग्गी गर्दा रस आउँछ हामी कतिपयलाई। उनीहरू कति ठूलो पीडामा छन्? उनीहरूले कति ठूलो सास्ती व्यहोरिरहेका छन्? उनीहरूले जीवनमा कति ठूलाठूला घातप्रतिघात र संघात खेपेका छन्? त्यसलाई परख गर्ने संवेदना छैन हामीमा। यो अवस्थामा किन आए? यो अवस्थामा मान्छे कसरी पुग्यो? हामीसित घटनाको सन्दर्भ हेर्ने चक्षु छैनन्। अर्काको पीडामा हाँस्ने, अर्काको दर्दमा मुस्कुराउने, अर्काको विक्षिप्ततामा रमाउने परपीडक स्वभाव छ कतिपयमा। उनीहरूको वह-वेदनालाई करुणाले स्पर्श गर्ने चेतन-तन्तु ओइलिएको  छ। आउने कति समय र कति युग कतिकति कुम्ले लाटा र सुतार साइँलाहरू जन्मिरहने छन् यो समाजमा, केही थाहा छैन?

प्रकाशित: १६ कार्तिक २०७९ ०६:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App